म खाऊँ मै लाऊँ, सुख सयल वा मौज म गरूँ
म बाँचूँ मै नाचूँ, अरू सब मरून् दुर्बलहरू

आहा ! कस्तो मनको कुरा छर्लङ्ग हुने गरी कत्ति राम्रो कविता लेख्या होलान् हगि, लेखनाथ बाले ! यो पछाडिका काम न काजका सुन्न भन्न मनै नलाग्ने हरफ चैँ बित्थामा मसीको सत्यानाश गर्न लेख्नु पर्रया होला नि, दाह्री कपाल सबै सेताम्य भ’का बूढालाई ! आ, लेखून्, लेखेर के नै पो हुन्छ र ! ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भने झैँ जसले जे सुकै भने, लेखे पनि खाने र ख्वाउने काम ननस्टप चालू राखे त भै हाल्यो नि ! आजसम्म कसैले कसैलाई खान र ख्वाउनबाट रोक्न सक्या छैन क्यार ! त्यसैले सारा काम छोडेर खानुपर्छ है खानुपर्छ । जहाँ जहिले जे भेटे पनि उदरस्थ गरिहाल्नुपर्छ ।

भगवान्ले सबथोक खानकै लागि बना’का त हुन् नि ! त्यसैले खान नहुने त कुनै कुरै छैन नेपालाँ ! खान र पचाउन चैँ वरिष्ठदेखि कनिष्ठसम्मका नेता र हाकिम सा’पहरूलाई गुरु बनाएपछि त अजिर्ण होला भन्ने टन्टा नि हुँदैन फन्दामा परिएला भन्ने लन्ठा नि हुँदैन । अनि त वाँहरूकै सिको गर्दै प्लेन फ्वाँक्कै, संस्थान स्वाट्टै, नदी सुरुप्पै पार्नुपर्छ । बाटोघाटो, ठेक्कापट्टा बुत्याउनुपर्छ । कमिसन क्वाप्पै पारी मेलम्चीले घुटुक्कै घुट्क्याउनुपर्छ । योजना, परियोजना पानसुपारी ठानी बुक्याउनुपर्छ । नाना शीर्षकमा बजेट निकासा गरी निल्नुपर्छ । बरू कसले धेरै खाएछ र खान सक्छ भनेर बेलाबेलाँ यसो प्रतियोगिता गर्न पाए कत्ति मजा हुन्थ्यो हगि ! अनि पो खादा झन् स्वाद आउथ्यो र अरूलाई उछिन्ने गरी अझ बढी खान मन लाग्थ्यो । के गर्नु त्यो अख्तियारसख्तियारले पनि आपूmलाई मुड चल्या बेलाँ मात्रै यसो दुई चारजनाले खाएको विवरण दिन्छ । त्यो बेला भने आफू कोभन्दा अगाडि वा पछाडि रै’छु भनेर बल्ल था हुन्छ नत्र के था पाउनु र !

अँ साँच्ची, खान चैँ आफू मात्रै खानुपर्छ है ! झुक्केर पनि अरूलाई त सुँध्न पनि दिनु हुन्न नि बाबै ! अरूले देखे भने आँखा लाग्छ क्या ! अनि फसाद परिहाल्छ नि ! त्यसैले आफू खाने, मोटाउने र टन्न ला’र जोरजम्मा गर्ने गर्नुपर्छ । के गर्नु, सधैँ डाडुपुन्यौँ आफ्नोे हाताँ र टाउको कराहीमा हुँदैन । भएको मौकामा सकेसम्म धेरै सोहोरिहाल्नुपर्छ । आफ्नो आसपास भएका चम्चा, काँटा, थाल, कचौरामा पनि झिङ्काको बोसो भाग लगाए झैँ यसो अलेलि चुँडचाँड पारी हाल्देर भागसान्ती ला’एपछि त कसले के भन्छ र ! हाम्रो संस्कृतिअनुसार खानु अगि र पछि वरिपरिका कीरा फट्याङ्ग्रालाई पनि यसो दिए जस्तो गर्ने चलन छ नि त ! तर एउटा गाँठी कुरो चैँ कहिल्यै भुलेर पनि नभुल्नुस् है । त्यो के भने अर्काको भागलाई बाँढ्नु छ भने चैँ नाङ्लो जत्रो छाती पारेर मन फुकाएर बाँडचँुड गर्न कुनै हालतमा पनि पछि पर्नुहुन्न । त्यसो गर्न जान्नु भ’को छैन र कुनै आइडिया पनि छैन भने पनि पीर नमान्नुस् ।

तपैँलाई पीर मुक्त गर्न र सिकाउनै भनेर हाम्रा अति उदार केही मन्त्रीजीहरूले दिन दुना, रात चौगुनाका हिसाबले बढो मिहिनेतका साथ नानाथरीका कागजी योजना परियोजनाका लागि भनेर राष्ट्रिय ढुकुटीबाट झिकी असारका मकैका खोसेला भन्दा पनि सस्तो सम्झी असिमित कागजका खोस्टा बाँडेको हेरे पुग्छ । यस्तो उदारताका लागि सबैका तर्फबाट धन्यवाद दानवीर मन्त्री महोदयहरू ! आखिर यसैका लागि नै त तपैँलाई सत्ताको शक्तिसाली कुर्सीमा विराजमान् गरा’को हो नि, हैन त ? देशको ढुकुटी रित्तेला भनेर तपैँहरूले फिक्री नगरी निस्फिक्री भै आप्mनै ठानी मज्जाले आपूm खादै आफ्ना आसेपासेलाई बाँडे हुन्छ । देश रित्तेर, खोक्रेर के हुन्छ र ? तपैँ र तपैँहरूका आफ्ना पोसिए त पुगिहाल्यो नि ! सबैको चिन्ता गरेर नि कहीँ साध्य चल्छ र भन्या ! फेरि ढुकुटी भर्नका लागि दाता सामू झोली फैलाए भै हाल्छ नि ! नभए मज्जाले ट्याक्स बढाए पनि त हुन्छ । गरिब नेपाली जनता ऋणको भारले थिच्चे थिच्चिऊन्, किच्चे किच्चिऊन् । तपैँलाई के फरक पर्छ र ?

यसरी दानवीर कर्णलाई पनि माथ गर्ने मन्त्रीज्यू, तपैँहरूको यस्तो उदारताले भरिपूर्ण सूकार्य देखेर मेरो पनि बल्ल बुद्धिको घैँटामा झलमल्ल मैनबत्ती बल्यो । त्यसैले अब म पनि कता धेरै खान पाइन्छ भनेर खोजिमेली गर्न शिरका मणि बाको कविता गाउँदै–गाउँदै लागेँ है !
म खाऊँ मै लाऊँ, सुख सयल वा मौज म गरूँ
म बाँचूँ मै नाचूँ, अरू सब मरून् दुर्बलहरू
न नाना ना नाना न नननन नाना ननन ना
..........
फित्कौली (२०६७)