सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ नेपालको नयाँ खवर !

Nepal Telecom ad

नयाँनेपालका नयाँ हजुरबा नयाँ हजुरआमा, नयाँ दाजुभाइ तथा नयाँ दिदीबहिनीहरू हो !
आजकालका आचार विचार सदाचार अन्याय अत्याचार शिष्टाचार दुष्टाचार पापाचारदेखि भ्रष्टाचारसम्मका सही समाचार भित्रको समाचार तपाइँहामी नै बनेका छौँ, सुन्नुहोस्, हेर्नुहोस् र पढ्नुहोस् । बाध्यता, विवसता र यथार्थताका कथा उपकथाका व्यथा हाम्रो समाचार हो । सरकार लाचारक भएको समाचार नै हो गाईजात्रा । यहाँ गोरु जुधोस्, राँगो जुधोस्, भेडो जुधोस् भनिन्छ गाईजात्रा ।

दम्पतिको दम्भीलाई दाइजो नल्याइदिएको, कम ल्याइदिएकोमा शरीरका खत र पारिखत लिखतलाई हल्का पाराले गाईजात्रा हो भनी हल्का समाचार बनेको छ । सम्पति कुम्ल्याएको लोग्नेले सुम्ल्याएको सुमसुम्याएको, थुमथुम्याएको सघनबाट सधनमा पुगेको सधनबाट पनि नसुल्झिएर सदनमा पुगी दनदन दन्किएको एकाथरी सन्किएको अर्काथरी फन्किएको सानो घाउमा धेरै झिङा भन्किएको जस्ता पृथक् पृथक् विषयका सबै समाचार सुन्नुहोस् तर पुरानो गाईजात्रे समाचार मात्र नठान्नोस् ।

पारिवारिक झगडाले अखडामा बखडा जमाउँदा तगडा बहस चलेको, अड्डाअदालतका लत र हालतमा खत पारिखत भएको, बखतमा तखत नमिलेर पारिखत भएको, न्यायाधीशलेनै न्यायालयलाई असत्यको बखडा गर्ने अखडा भनेको, अज्ञात स्थानमा अवैध आय गर्नेको, क¥यापझ्याप पार्नेले नै गनेको कसैलाई नभनेको सबै समाचार हुन् सुन्नुहोस् तर नबोल्नोस् । यो पतिप्रधान परिवेशको गाईजात्रे समाचार मात्र होइन ।

दुःख पाएकालाई चोर, बूढो भएकालाई बोक्सी भनेको त्यस्ता आदरयोग्य नागरिकलाई उल्टै जुत्ताको माला लगाएको, गाउँ निकाला गरेको, सम्पति हरेको अपमान गरेको समाचार बासी बनेको छैन पटल खोलेर पढ्नुहोस् । एउटा विद्यालयमा जम्मा एउटामात्र शिक्षक रहेको तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा गाभेर पढाएको यो पुरानै कालदेखिको घटना र नयाँ समाचार हो नयाँ नेपाली बनेर पढ्नोस् । राजनीतिक गाईजात्राको सन्दर्भमा ।

खोला बढेर बिद्यार्थी विद्यालय जान नसकेको, झोलुङ्गे पुल चुँडेको, हिमाली भेगका विद्यार्थी तीन महिनामा यार्सागुम्बा टिपेर नफर्केको, शिक्षक राजनीतिमा लागेको नेताले सुरक्षा दिएको, जिल्लाजिल्लामा हाजिर लिएको, श्रवणीय समाचार हो पढ्नोस् यो कुन वर्गको गाईजात्रे समाचार हो । स्वास्नीले खाना नपकाएको, श्रीमान्को कार्यकक्षमा अर्की महिलाले नियुक्ति पाएको, घरायसी ठाकठुक ठेगान लगाउन नसकेर चक्काजाम गरेको, बिना लाइसेनका खलासीले खुलेआम गाडी चलाउन नपाएको विरोधमा सडकमा गाडी तेस्र्याएको, डिलरका साहुले आफैँलाई घरखर्चमा चाहिन्छ भनेर पेट्रोल डिजल मट्टीतेल नबेचेको, ग्राहकले धन दिँदा पनि इन्धन नदिएको घटना र रटना सबै समाचार भित्रको समाचार हुन् पढ्नोस् । यस्ता सुसमाचार सबै सामान्य भैसके ।
विभिन्न विद्यालयले विभिन्न दररेटमा महँगो विद्या पढाएर अभिभावकका ढाड सेकेको, सरकारले देखेको तर नछेकेको, लुटपाट पिटपाट कुटकाटका फाट्फुट घटनाले निरन्तरता पाएको, दिनदहाडै चोरीचकारीका घटनालाई सरकारले सामान्य सोचेको, कसैका खल्ती खोसेको गाई मारेर गधा पोसेको, सबै समाचार संयोग त गाईजात्राकै हुन् । यस्ता समाचार छिपाएर, छोपेर, छापेर, छानेर, छासमिस पारेर साध्य छैन । आजकाल यस्ता आचार बिनाका लाचार समाचार सुनेर साध्य नभएर छपक्कै भएर छापिएका छन् पढ्नु होस् तर सहनुको विकल्प छैन भन्ने पनि बुझ्नुहोस् । राजनीतिक परिदृश्य हेर्नोस् यो साउनमा समाचार समालिसाध्य छैन । आजकाल यस्ता समाचारको के लेखो ? जति पत्रपत्रिका छानिएका छन् छानिएका छन् ती सबैका हेडलाइन हेर्नुहोस् । अझ हिंसा हत्या हरण अपहरण अपहत्या आत्महत्या आत्मीय हत्याका समाचारले आचार नाघेर लाचार पारिसक्यो तै पनि समाचार सेलाएका र केलाएका छैनन् पढ्नोस्, गाईजात्रामा भने पनि ।

हेर्नोस् त यी सर्वसाधारणका जीवनको जिम्मा लिएर औषधि व्यापार गर्नेले यसरी सडेगलेका औषधि बेचेर धनको पोको पार्ने र मान्छे मार्ने नगरेका भए समाचारले प्राथमिकता पाउँदैन थे ? कसैले कार्वाही नगर्दा र धनी हुन पाउँदा नक्कली माल बेच्ने सक्कली व्यापारी किन पछि पर्थे ? सरकारै गाईजात्रे भएपछि समाचार अर्को के बनोस् !

कृषिप्रधान मुलुक आज कुर्सीप्रधान त्यसै भएको छैन । कृषिमा भन्दा कुर्सीमा बल गरेर त हो नि बिना छलफल छलबाट फल मिलेको ! कुर्सीमा बुर्कुसी मार्नेहरूले कृषिका कुरा गर्न छाडिसके । धानखेती गर्नेले सम्विधान लेख्ने भए । धानका मालिक धानमन्त्रीबाट प्रधानमन्त्री हुने भए । यो समाचार कुन जात्रे हो आफैँ लख काट्नोस् ।

हेर्नोस् न समाचार पनि कतिकति ! पिउने पानी औषधि, खाद्यपदार्थ, तेल मट्टीतेल पेट्रोल आदिमा आधी त बरु सरकारले ठाउँ छोडोस् मिसावटलेनै ठाउँ नछोड्ने भए । सरकारमा काला गए गोरा आए तर जनताले के पो पाए ? निर्धा र निमुखा जनता नबोले पछि कमिसन र मिसनमा मुख गाडेको सरकारलाई बिचरा ननिचर दोष त तिनै निमुखा जनतालाई छ भनेर समाचार छापे हुने भएको छ । रक्सी उही बोतल नयाँ बनेको सरकार भने आज साँच्चै गाईजात्रे समाचारको आचारमा परेको पाइन्छ ।

सरकारी विद्यालयमा पढाइ भएन त के गर्ने शिक्षकहरूले खेती पनि कसरी छोडुन् । विद्यार्थीहरूले आमा बालाई किन काम नसघाउन् । सरकारलाई कसले भनोस् चार महिना भैसक्यो मुलुकभर पाठ्यपुस्तक पुगेको छैन । शिक्षकले बाँच्नका लागि अलिअलि राजनीति पनि त गर्नै पर्ने भो । बोर्डिङका शिक्षकका त्यत्रो तलव हुन्छ र त पढाइ त्यही हो । यस्तै त हुन् नि समाचार भनेको पनि । उताका कुरा यता यताका कुरा उता बस् बन्यो सही समाचार । हालसालको सालनाल सरकारको समाचारलाई गाईजात्रे समाचारले के भ्याउँथ्यो ! जनतालाई नुन छैन । जथाभाबी गर्ने जत्थालाई कानुन छैन । सरोकारवालामा फुट छ । जसलेजहाँ जे गर्न पनि छुट छ । सही बोल्नेको टाउको फुट्छ । अनि बनेन समाचार ?

मुलुकको भ्रष्टाचार त समाचार नभएर आचार विचार पो बन्न थालेको छ । पेसा र पदका पिपासुहरू जति सबै भ्रष्ट र छरपष्ट भएपछि सही समाचार छापिन छोडेको छ । सधैँ खाइरहने घुस र सधैँ गरिरहने भ्रष्टाचारलाई समाचार भनेर छापिन छोडेको छ । बरु गरिवले पेट भरेर माड खायो, गँजडीले गाँजा र जँड्याहाले जाँड खायो भने देखिने र लेखिने गरेको छ समाचार । जिल्लाजिल्लाका नागरिक वर्खेखोला तर्न नसकेर वाल्ल परेको समस्याको के समाचार ? कुर्सीमा बुर्कुसी मारेर हानाहान र थापाथाप गर्नेका घटनाले दुर्घटना निम्तिन लागेको चाहिँ समाचार बनेको छ । आफैँलाई चिमोटेर हेर्नोस् यो सही गाईजात्रै समाचार हो । मेनपावरका पाउरदारहरूले पाएसम्म पचाएर पराईका छोराछोरीहरूलाई हुइँक्याएर हत्तुहैरान पारेर हैकम जमाको छ । सरकारले देखाएर समातेको छ । लुकाएर छोडेको छ भने त्यो चाहिँ सुनाउनका लागि मात्र समाचार बनेको छ ।

धन्य धैर्यधारण गर्ने धराबासी हो धन र धानले परिवार धान्न नसके पनि गाँस काटेर भने पनि हुल हुज्जत र हल्ला गर्नेहरूलाई भात भत्ता खुवाएर मत्ता पार्नुभएकोमा मुरीमुरी धन्यवाद ।
ट्याङलाफाँट, कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउनुको पनि हद हुन्छ

हराउनुको पनि हद हुन्छ

घिमिरे ‘मैदेली’
चमेरे ‘च’ को चङ्गुलले चेताउला !

चमेरे ‘च’ को चङ्गुलले...

घिमिरे ‘मैदेली’
गठबन्धनका गाँठागुँठी

गठबन्धनका गाँठागुँठी

घिमिरे ‘मैदेली’
जगत जमाउन जप्नोस् जनता

जगत जमाउन जप्नोस् जनता

घिमिरे ‘मैदेली’
भ्यागुताको धार्नी !

भ्यागुताको धार्नी !

घिमिरे ‘मैदेली’
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’