सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोट–बजारको कारोबार

Nepal Telecom ad

“लौ आउनोस, लौ आउनोस् ! एकदमै सस्तोमा, तपाईलाई चाहिने साह्रै सस्तोमा पाइने ! जस्ले किन्छ, उसैले चिन्छ, लौ आयो हजुर आजै किन्नोस् आफ्नो भाग्य अज्माउनुस् ।”
“हैन के आयो भन्या तपाइँले ? अनि के बेच्न लाग्या, चिठ्ठाको टिकट हो कि रिठ्ठाको गेडा ?”
“त्यस्तो चिठ्ठाको टिकट या रिठ्ठाको गेडाले पनि कहीँ आजभोलि भाग्य चम्काउँछ र ? अह“ चम्काउ‘दैन हजुर ! यो त लठुवा र लठेब्राको पनि भाग्य चम्काउँने, उस्तै परे चिल्लो गाडीमै झण्डा हम्काउने, जता फर्कियो उतै दाम झम्काउने काममा सहयोग पुरयाउने विशेष बस्तु हो । किनेपछि फरकै पर्दैन । लौ आयो हजुर, मौका आउँछ, फर्कंदैन, समयले कसैलाई पर्खदैन ।”
किलो पाउमा कि मानापाथीमा जोखिने वस्तु हो यो, दर भाउ चाहिँ के कति छ नि ?”
“जोख्दा जोखिने र पोख्दा पोखिने चिज हैन हजुर, यो । अनि दरभाउको कुरा सोध्नु भयो, यो त आजभोलि तपाइँले किन्ने गर्नुभएको गोलभेँडा र भ्यान्टाभन्दा सस्तो छ । दाल चामलभन्दा सस्तो छ । नुन भुटुनभन्दा सस्तो छ । खुर्सानी बेसार भन्नोस् या जिरामरिच, छोरालाई खुवाउने दूध पाउडर या छोरीलाई सुहाउने क्रिम पाउडर, वोर्डिङ स्कुलको फिस भन्नोस् या फिलिममा हेर्न पाइने किस, यी यावत कुराभन्दा सस्तो छ । लौ लिनुहोस् हजुर, जिन्सीको जिन्सीमै पनि कारोबार खुल्ला छ ।”
भोटप्रसाद र नोटलालको उपरोक्त संवाद सुनेर तपाईंले कुरा बुझिसकेकै हुनुपर्छ । कुरो एकदमै स्पष्ट छैन र ? भोटप्रसाद आफ्नो भोट बेच्न ग्राहक खोजिरहेको छ र नोटलाल उसको भोट किन्न आतुर बन्दै गइरहेको छ । आउनोस् हामी एकै छिन नवनेपालका यी भोटप्रसाद र नोटलालहरूको खरीद विक्री, नाफा नोक्सान, यिनीहरूको तह र वर्गबारे छोटो छलफल गरौँ ।
मौसम क्रय–विक्रयमय बन्दै जाँदो छ । नोटलालहरू वहुत खुसी भएका छन् । साह्रै सस्तोमा भोटप्रसादहरूको भोट खरीद गरेर नोटलालहरू अकूत नाफा कमाउने ध्याउन्नमा जुटेका छन् । जमाना प्रतिशतको प्रभावमा प्रभावित छ । अनि नाफाको प्रतिशत पनि नोटलालहरूको वर्गअनुसार फरक फरक हुने नै भयो । क वर्गका नोटलालको प्रतिशत उच्च हुने गर्छ । अर्थात क वर्गको नोटलाल नै साँचो र सक्कली नोटलाल हो । यस्तै प्रवृति भोटप्रसादमा पनि हुन्छ । भोटप्रसाद पनि वर्गमा बाँडिएको छ । क वर्गको भोटप्रसादसँग एक भोट मात्र हुन्न । केही न केही भोटहरूको समुदाय क वर्गको भोटप्रसादसँगै हुन्छ । यस्तो भोटप्रसादले भोट खरीद विक्री गर्दा टाउका गनेर नगद वा जिन्सीमा मूल्य निर्धारण गर्ने गर्दछ । अनि क वर्गको नोटलाल क वर्गकै भोटप्रसादको क्रयविक्रयलाई महत्व दिन्छ, उसको नाफाको व्यापार यतैतिर मौलाइरहेको छ । ख वर्गको नोटलाल मध्यम स्तरीय मानिन्छ । यस वर्गका नोटलालहरूस“ग नोट त प्रशस्तै हुन्छ तर नोटको तुलनामा भोट व्यापार क वर्गका जस्तो मालामाल अलि हुन्न । क वर्गको नोटलाल भोटप्रसादलाई आवश्यक परे भोटकै बिटाले हिर्काई दिन्छ । ख वर्गको नोटलाल नगदको तुलनामा जिन्सीलाई वढ्ता महत्व दिन्छ । ख वर्गको भोटप्रसाद पनि नोटको बिटाले हिर्काएको अलि रुचाउँदैन । ऊ मूल्यवान जिन्सीलाई प्राथमिकता दिन्छ । जिन्सीबाट दोब्वर नाफा निफन्न अधिक स्वाद मान्ने ख वर्गको भोटप्रसाद र ख वर्गको नोटलाल पुरीमा स्वारी मिलें झैं ठ्याम्म मिलेका हुन्छन् ।
ग र घ वर्गका नोटलालहरू निम्नस्तरीय व्यापारी हुन् यद्यपि फुटपाथे व्यापारीभन्दा यिनीहरूको हैसियत उच्च हुन्छ । यस वर्गका नोटलालहरू टिकटका हकदार भए पनि लरतरो किसिमले टिकट पाउँदैनन् । टिकट पाए पनि जित्न सक्दैनन्, जिती हाले पनि मन्त्री बन्ने मौकै भेट्दैनन्, कथम्कदाचित मन्त्री बन्ने मौका पाए पनि कमिसन र नाफा बाँड्न विवश हुनु उनीहरूको विशेषता हो । यति हुँदाहुँदै पनि यस वर्गका नोटलालहरू समीकरणको फेरवदलमा निर्णायक भूमिका निर्वाह गर्न सक्षम सावित हुँदै आएका छन् । उनीहरूको नाफाको व्यापार यसैमा निहित छ । यस वर्गका नोटलालहरू नोट खर्च गर्न भनौं नगदको कारोबार गर्न पटक्कै रुचि राख्दैनन् । जे छ जिन्सी नै छ, जिन्सी पनि ठोसभन्दा तरललाई बढ्ता सरल मान्छन् । उनीहरूको यस्तो रुचिलाई राम्ररी बुझ्ने भोटप्रसादहरू पनि ग र घ वर्गकै भोटप्रसादहरू मात्र हुन् । यस वर्गका भोट प्रसादहरूबाट भोट फुत्काउन महँगा र मूल्यवान वस्तुहरूको आपूर्ति गर्नु पर्दैन । तरल पनि महँगो र वैदेशिक वास्ना आउने खालको आवश्यक पर्दैन । स्वदेशीमेड जर्किनवाला ठर्रा, खोयाविर्के भए काम तमाम हुन्छ । त्यो पनि धेरै चाहिने हो र ? एक कप बराबर एक भोट । ग र घ वर्गका भोटप्रसादहरू यसरी एकै डबका, एकै कप र एकै खिल्ली चुरोटमा पनि आफ्नो भोट सहर्ष प्रदान गरिदिन्छन् । उनीहरूले किनेको यस्तो भोटलाई सरक्क उठाएर बिचौलिया नोटलालले थोकमै पनि विक्री गर्ने गरेका छन् । क र ख वर्गका भोट प्रसादहरू भोट बजारका नामूद फौबन्जार हुन् । फौबन्जारहरूको सटरपटर खुब चलेको छ । डाक बडाबढले मूल्य चुलिएको चुलियै छ । करोड करोडको कारोबार गम्केको छ, हिजो अस्तिका रोडपतिहरू आज करोडपति त्यसै भएका हुन् र ? भोट बजारमा भाउ चम्केको छ ।
खुल्ला बजार अर्थनीतिको फाइदा उठाउँदै छिमेकतिरका बैदेशिक भोट–व्यापारीहरू समेत हाम्रो बजारमा राम्रै नगद बोकेर छिरेका छन् । बिचौलियासँग मज्जासँग मोलमोलाई गर्छन् । खरिद गर्नेले खरिद गर्छन्, बिक्री गर्नेले बिक्री गर्छन् । प्रत्यक्षमा मात्र होइन अनुपातिक रूपले समानुपातिकमै पनि उल्लेख्य कारोबार भएको कुरा बजार हल्ला मात्रै हुँदै होइन । तर नाफाखोरका नाइके नोटलाल चौरस्तामा उभिएर चर्को चर्को स्वर चिच्याए रहेछ यसरी–
“लौ आयो हजुर ! सागको मुठाभन्दा सस्तो, फर्सीको कैंडाभन्दा सस्तो, हेर्दै किनूँ किनू जस्तो, जस्लाई जति चाहिन्छ, चाहिए जति पाइन्छ, थोकमा भने थोकमा, खुद्रामा भने खुद्रा ! लौ लिनुहोस् हजुर ! माल चिन्नु होस् र मौकैमा किन्नुहोस् । लठुवा र लेठब्राको पनि भाग्य चम्काउने, उस्तै परे चिल्लो गाडीमै झण्डा हम्काउने, जता फर्कियो उतै दाम झम्काउने, नाम गम्काउने, लौ आयो हजुर ! झट्टै लिनुहोस्, किनेरै बाजी जित्नुहोस् !” एउटा फौबन्जारको विज्ञापित स्वर अटुट रूपमा लहरिदै थियो । ठीक त्यही बेला रेडियोमा भने चर्चित गीत बजिरहेको थियो तर गीतका शव्दहरू भने उल्टोपाल्टो भएर मेरा कानमा यसरी छिरे–
म खोट बेचिदिन्छु
म चोट बेचिदिन्छु
को किन्छ मेरौ मौलिक अधिकार
म भोट बेचिदिन्छु ….. ।
कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad