सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सेलिब्रिटी हुनुपर्यो, आकास छुनुपर्यो

Nepal Telecom ad

यसो गर्नुपर्यो, उसो गर्नुपर्यो, जसो गरी भए पनि सेलिब्रिटी हुनुपर्यो । साह्रै लद्दु भइयो, असाध्यै पिछडा भइयो, कुवाको भ्यागुतो भइयो । साह्रै पाखे र परम्परावादी भैयो । अब अलि जाग्नुपर्यो । साहित्यमा लाग्नुपर्यो । लेख्न थाल्नुपर्यो । अब आगो बाल्नुपर्यो । कथा, गीत, कविता, समालोचना, गजल, हाइकू, तान्का जताततै तन्किनुपर्यो । उपन्यास नलेखी साहित्यकार हुने सम्भावना रहेन । संस्मरण नलेखी लेखक हुने चान्सै भएन । त्यसैले ती दुवैथरिमा हत्ते हाल्नु पर्यो, ज्यानै फाल्नु पर्यो ।
केही कविता त लेखेको पनि हो, तर ती साह्रै सोझा भए, लाटा भए । मान्छेले पढ्छन्, पढिसक्ता बुझ्छन् । कुनै रहस्य नभएका, पाठक–श्रोताले टाउकै दुखाउनु नपर्ने खालका नाङ्गा । त्यसैले अब खातका खात वस्त्र बेरेका कविता ओकल्नु पर्यो । विम्व र प्रतिकका खतरनाक गुजुल्टाहरूले कवितालाई गुटमुट्याउनु पर्यो । घामलाई अञ्जुलीमा लिएर समुन्द्रलाई स्वाट्टै पिउनु पर्यो । एक मुठ्ठी आगोको लप्कामा पीडाले कठ्याङ्ग्रिएको मुटुलाई सेकाउनु पर्यो । आजीवन नकोरेको जोगीको कपाल जस्तो कवितामा बेस्सरी लट्टा पार्नुपर्यो । जस्तै–

१) जिन्दगीको पत्रपत्र
जिजिविषाको कालो चहक
चहर्याएर आउँछ यत्रतत्र ।

२) मरेको लास
लासले खसालेछ आँसु
होस न हवास ।

३) प्रशान्त महासागरमा हाम फालेर

आत्महत्या गर्यो सगरमाथाले
सगरमाथासँगै डुब्यो तिमीलाई पाउने मेरो सपना ।

देख्नु भो कविता ? लेख्न नजानेर नलेखेको हो र ? जिन्दगीका पत्रपत्रहरूमा वेपत्ता भइरहून् न पाठकहरू अब । उच्चाहटको अर्थ र त्यसको चर्चराहटको कल्पनाले चिटचिट पसिना निकालिरहून न श्रोताहरू । कविले कसरी लासलाई पनि मार्दोरहेछ र कसरी खसालेछ लासले आँसु, वाल्ल परिरहून न नवसमालोचकहरू । कविकी पे्रमिका सगरमाथा चढ्न गएकै बेला सगरमाथा कसरी हिँडेर प्रशान्त महासागरसम्म पुगेछ र हाम फालेर मरेछ, रहस्यको गाँठो फुकाउन नसकेर दर्शकहरू हेर्याहेर्यै होउन् न कविको ओजस्वी अनुहारतिर । यी धुवाँदार कवितालाई आफ्ना गुठीको समालोचकले कवितामा नयाँ आयाम भनेर घोषणा गरोस् । आफू मुसुमुसु हाँसिरहुँ । के थाहा, यही कविताले एउटा नयाँ वादलाई जन्म दिने हो कि ! एउटा एउटा वादलाई दह्रोसँग छाँद हालेपछि इतिहासमा अमर भइन्छ भन्ने बुझिसकिएकै कुरा भयो । एउटा नयाँ वादको खेस्रा बनाउन थाल्नुपर्यो अब ।
भन्छन् लेखेर मात्रै हुँदैन, दुनियाँले देख्नु पनि पर्छ । दुनियाँलाई देखाउने काइदा पनि देखिसकियो । गुट जुटाउनु पर्यो । गुठी बनाउनु पर्यो । केही समालोचकलाई आफ्नो मण्डलीमा गोलबन्द गर्नु पर्यो, मुठीमा राख्नु पर्यो । भूमिका लेख्न आफ्नै गुठीका मान्छेलाई लगाउनु पर्यो । संसारको सबैभन्दा राम्रो किताव यही हो भनेर प्रमाणित गर्ने भूमिकाले एक चौथाई किताव भर्नु पर्यो । अरु चौथाई भागमा पुस्तकको प्रशंसा गरेका ज्ञात अज्ञात पाठकहरूका टिप्पणीले सजावट गर्नु पर्यो ।

किताव लेखेर मात्रै अब कुनै माईके लाल लेखक बन्दैन । तात्ताता वहसहरू चलाउनु पर्यो । मिडियाहरूमा बेस्कन प्रचार गर्नु पर्यो । एफएमहरूका दगुरादगुर गर्नु पर्यो । पत्रकारहरूलाई खाजा खुवाउनु पर्यो । पुस्तकमा अडेस लागेको आफ्नो तस्वीर सहित होडिङ बोर्डहरूले सहर सजाउनु पर्यो । पहिलो संस्करण छ सय छापेर छ हजार प्रति भनेर लेख्नु पर्यो । पहिलो छ सय प्रति बिक्री भएर दोश्रो छपाई गर्न पाइयो भने चौथो संस्करण भनेर ठोक्नुपर्यो । समीक्षा गर्न ज्वाईंलाई लगाउनुपर्यो, भाञ्जालाई फेसबुकमा प्रचार गर्न लगाउनु पर्यो । भाञ्जाले ढिलो गरे भने आफैंले कुनै छद्म नामको प्रोफाइल बनाएर एक महान् लेखकको अमर कृति भनेर विज्ञापन छपाउनु पर्यो । धरहराको टुप्पातिर कतै लगेर मोडेल युवतीहरूको हातबाट पुस्तक विमोचन गराउनु पर्यो । सम्मान गर्ने संस्थाहरूसँग निरन्तर सम्पर्क गर्र्नु पर्यो । अथवा आफैंले संस्था खडा गर्नु पर्यो । श्रीमतीलाई अध्यक्ष बनाउनु पर्यो, सालीलाई कोषाध्यक्ष बनाउनु पर्यो । ज्वाइँ महासचिव भै हाल्छन् । ससुरालाई संस्थामा रकम जम्मा गर्न लगाएर जेठी सासूको संयोजकत्वमा मूल्याङ्कन समिति बनाएर आफ्नै कृतिलाई राष्ट्रिय पुरस्कार दिलाउनु प¥यो । हुँदै नभएको फलानो इन्टरनेशनल नेपाली सोसाइटी भनेर अन्तरराष्ट्रिय पुरस्कारै पड्काएको समाचार छपाए पनि कसैका पिताले कुनै प्रश्न गर्ने होइनन् । जसो भए पनि गर्नु पर्यो । डरलाग्दो लेखक बनेर नाम चलाउनु पर्यो । सेलिब्रिटी हुनु पर्यो ।

नेपालीमा लेख्न अंग्रेजी भाषाको छिपछिपे भए पनि ज्ञान राख्नु पर्यो । कम्तिमा अंग्रेजीका पचास–सय शव्द कण्ठ पार्नु पर्यो । ठाउँठाउँमा तिनलाई घुसार्नु पर्यो । रचनामा कफि, क्याफे, रेड लेवल, जिन, कक्टेल, बार, चुस्की, षोडषी आदिका प्रशंगहरू बारम्बार उठाएर आधुनिक र रोमान्टिक लेखक बन्नु पर्यो । यौनका विषयमा मौन नबस्नु पर्यो । जे जसो गर्दा हुने हो, त्यसै गर्नु पर्यो । समय अनुसार चल्नु पर्यो । अग्रगामी हुनु पयो । साह्रै सेन्टी भइयो । साह्रै मूर्ख र पछुवा भइयो । अब अघि बढ्नु पर्यो ।
रचनाका शीर्षक चयनमा पनि विशेष ध्यान दिनु पर्यो । शीर्षक अलि आधुनिकता झल्किने हुनु पर्यो । जस्तै, ‘डायस्पोरिक नेपाली लिटरेचर : हिजो र आज’, ‘साहित्यमा टेक्नोलोजीको इम्प्रेशन’, ‘नोबेल प्राइज र नेपाली साहित्यको लेभल’, यस्तै यस्तै । रचना मात्र होइन, कितावका नाम पनि समयसापेक्ष राखेर सबैको ध्यान तान्नुपर्यो । ‘एराउण्ड बागमती’, ‘ब्यूटिफूल पोखरा’, ‘बिपासा बार’ ‘गौरिया ब्लुज’, ‘भाले टाइम्स’, ‘प्री प्राइमरी लभ’ आदि आगामी पुस्तकहरूका सूचि हुनु पर्यो । सूची त बन्यो, तर लेख्न बाँकी नै रह्यो । लेख्न बाँकी भएर केही गर्दैन, लेखाउने प्रकाशकहरूले लाखौं रुपैयाँ अग्रीम रोयल्टी दिने समय आयो । फलानो प्रकाशकले फलानो पुस्तकका लागि लेखकलाई रोयल्टी स्वरुप पन्ध्र लाख अग्रिम दिएको भनेर सनसनी मच्चाइदिनु पर्यो । कुनै काल्पनिकै भए पनि फलानो पुरस्कार जितेको लेखकको फलानो किताव निस्कँदैछ भनेर आजैदेखि हल्ला मच्चाउनु पर्यो । मै हुँ भन्ने लेखकहरूलाई मुच्र्छा पार्दिनु पर्यो ।
वर्षौदेखि अरुले गरेको प्रगति, कमाएको नाम र सोहोरेको दाम देखेर ईष्र्याले भतभती हुँदै के विषयमा कसरी लेख्ने होला भनेर म गोबर कनेको कनेकै थिएँ । नाथे विषयहरू छ्याप्छ्याप्ती आफैंलाई पछ्याइ रहेका रहेछन् । रत्नपार्क वरिपरि साँझपख भेटिने नगरबधुहरूसँग अन्तर्वार्ता लिएर किताव निकाल्न सकिने रहेछ । पँधेरे प्रेमको बारेमा लेख्न थाल्ने हो भने ठेलीका ठेली कथा संग्रह हुने रहेछन् । आमा, दिदी, बहिनी, छोरी, बुहारी वा सासूआमाहरूले पढेर के भन्लान् भन्ने लागेर आजसम्म नलेखी बसेका लाज लाग्ने विषयमा पनि नलजाइकन भकाभक लेख्नुपर्ने रहेछ । यस्तो ज्ञान बेलामा आइदिया भए उहिल्यै हिट भइ सकिने रहेछ, पर्नु पछि परिएछ । यो बेला सरररर मोटर चढि सकिने रहेछ । थुक्क मेरो बुद्धि ! भनेर आज आफैंले आफैंलाई सराप्नु पर्यो । यस्तो दिन देख्नु पर्यो ।
जिन्दगीमा मैले पनि खुइले कुकुरले नपाउने दुःख र हण्डरहरू खेपेको छु । भोकै नाङ्गै कति दिन गुजारेको छु । बिरामी भएर कति पटक, दुर्घटनामा परेर कतिपटक मृत्युको मुखमा पुग्दै फर्कँदै गरेको छु । त्यसमा केही प्रतिशत थपथाप गरेर मान्छेहरूलाई डाको छाडेर रुवाउने कथा निकाल्नु पर्यो । छापा मार्ने लडाईंमा नभए पनि माछा मार्ने काम गर्दा खोलाले बगाएर तीन हप्ता पछि फर्केर घर आएको कहालीलाग्दो संस्मरण फुराएर बाँकी संस्मरण लेखकहरूलाई सुताउनु पर्यो ।
चालिस वर्षभन्दा कम उमेरमै तीन भन्दा बढी पटक बिहे गरेका मान्छेहरूको संस्मरणको सङ्गालो ‘थर्ड वार’ निकाल्नु पर्यो । केही पात्तिएका चर्चित बूढाहरूलाई आफ्नो अन्तिम प्रेम सम्वन्धका बारेमा लेख्न लगाएर ‘लास्ट लभ अफ ओल्ड गाइज्’ निकाल्नु पर्यो । प्रेम नाथे काल्पनिकै भए पनि सनसनीपूर्ण लेख है बूढा हो भन्नु पर्यो । ‘अटम लभ’ वा ‘स्प्रीङ् विलभ्ड’ लेखेर पुस्तकको बजार तताएर धुवाँ उडाइदिनु पर्यो । बिक्री नभए पनि केही छैन, आफन्त र साथीभाइहरूलाई बाँडेर सिध्याइदिनु पर्यो । बेस्ट सेलरको सूचिमा चढाइदिनु पर्यो । शंका नगर्नुस् है, अंग्रेजी भाषामा कालो अक्षर भैंसी बराबर भए पनि पुस्तक आधासरो अंग्रेजी मिसाएरै ल्याउनु पर्यो । सबैले त्यसलाई नेपाली भाषामा निस्केको कितावमै गनिदिनु पर्यो । मदन पुरस्कार गुठीले पनि आनाकानी नगरिकन दर्ता गरिदिनु पर्यो ।
ठूलो सालो ठूलै पत्रिकामा काम गर्छ । उसलाई भनेर पत्रिकामा अन्तरवार्ता छपाउनु पर्यो । उसले सेलिब्रिटीहरूलाई सोध्ने प्रश्नहरू मलाई कण्ठै छन् । राम्रो तयारी गरेर जानुपर्यो । उसले तपाईं कस्ता पुस्तक मन पराउनुहुन्छ भनेर सोध्नेछ । मलाई मन पर्ने पुस्तकहरूमा म सम्झी सम्झी भन्नेछु– ‘द राउण्ड हाउस’, ‘ब्रिङ् अप द बडिज्’, ‘द प्यासेज अफ पावर’ आदि । उसले नेपाली पुस्तक नि भनेर सोध्यो भने म भन्नेछु, नेपालीमा खासै त्यस्ता पठनीय पुस्तक छैनन् । बच्चा हुँदा देवकोटाका एस्सेहरू ठिकै लाग्थे ।
हिजो आज के पढ्दै हुनुहुन्छ भनेर उसले सोध्नेछ । म रवीन्द्र समीरको ‘अणु र पहाड’, शकुन्तला जोशीको ‘आदिम सिमाना’ वा भुपिनको ‘चौबिस रिल’ भनेर किन भन्थेँ ! डायरी हेरेर फटाफट भन्नेछु– ‘द कोल्डेस्ट नाइट’, ‘डिफेन्डिङ जेकोब’, ‘टच एण्ड गो’, ‘प्राइभेट बर्लिन’ आदि । तपाईंको घरमा कति पुस्तक छन् भनेर पनि उसले सोध्नेछ । म होलान् त्यस्तै पन्ध्र बीस हजार भनिदिनेछु । महिनामा पुस्तक खरिद गर्न कति खर्च गर्नुहुन्छ भनेर सोध्यो भने किन्नै पर्दैन सबै उपहारबाटै जम्मा भएका हुन् भन्दिन्छु । तपाईंलाई मन पर्ने साहित्यकार को को हुन् भनेर सोध्ने प्रश्नको पनि मसँग मुखाग्र जवाफ हुनेछ– ज्याक निकल्सन, अलेक्जेन्डर ग्राहमबेल, हेनरी फोल्डा आदि । पत्रकार सालोले भन्न सक्छ– अलेक्जेण्डर ग्राहमवेल त वैज्ञानिक होइनन् र ? अफ दि रेकर्डमा म उसलाई ‘नकरा साला’ भन्नेछु ।
नयाँ पुस्तालाई के पढ्ने सल्लाह दिनुहुन्छ भनेर पनि उसले सोध्नेछ । म कर्णाली व्लुज, सकस, लू, सुम्निमा, सेतो धर्ती, झोला, सुकरातका पाइला, जुनकिरीको संगीत, शिरिषको फूल, डापी, बिसे नगर्चीको वयान, जय भुँडी इत्यादि पुस्तकहरूको नाम मरिगए लिने छैन । भनिदिनेछु– ‘समवान टू लभ’, ‘वाकिङ् डिजास्टर’, ‘अ विक इन विन्टर’ आदि । ती कस्ता पुस्तक हुन् भनेर उसले सोध्यो भने पढेपछि थाहा हुन्छ भन्नेछु ।
साँच्चै भनेको, वागमतीको गन्ध सुँघेर मात्रै नबस्नु प¥यो अब । खुइले अड्डाको थोत्रो कुर्सीमा उँघेर मात्रै नफँस्नु पर्यो अब । तातो न छारोका व्यङ्ग्य झटाराहरू लेखेर यो एक बारको जुनी नसक्नु पर्यो । मूल धारमा प्रवेश गर्नु पर्यो । यो नर चोलालाई सार्थक पार्नु पर्यो । नानाभाँतीका पुस्तकहरूको चाङ् लगाएर हरि अधिकारीलाई झोँक चलाउनु पर्यो, गोविन्द राज भट्टराईलाई फकाउनुपर्यो, लक्ष्मण गौतमसँग मित लगाउनुपर्यो । कुमार कोइरालालाई दाइ बनाउनु पर्यो, राम प्रसाद ज्ञवालीलाई गुठीमा छिराउनु पर्यो । अरु कसकसलाई के के गर्नुपर्छ त्यो गर्नुपर्यो । कमलमणिजीकोमा पनि कितावका ठेलीहरू ठेल्नुपर्यो, जिवा लामिछानेसँग पनि चिनजान गर्नुपर्यो । जसरी पनि लेखक बन्नुपर्यो । चर्चामा आउनुपर्यो । पुस्तक प्रदर्शनीहरूमा बसेर पाठकहरूको नमस्कार खानुपर्यो, पाठकहरूलाई लाममा लगाएर किताव बेच्नुपर्यो । बेचेका कितावमा ‘सप्रेम उपहार’ लेखेर सही गर्नुपर्यो ।
भ्यागुतो अब पोखरीबाट निस्कनुपर्यो । यसो बाहिर फेर हेर्नुपर्यो । आङ् तान्नुपर्यो । खुट्टा तन्काउनुपर्यो । अब अघि बढ्नुपर्यो । हेर्दा हेर्दै बुरुक् बुरुक् उफ्रिन थाल्नुपर्यो । छलाङ् हान्नु पर्यो । कसैको आँखाको छारो भएर होस् वा कसैको आँखाको तारो भएर होस्, जसरी पनि चर्चामा आउनुपर्यो । सेलिब्रिटी भएर सर्वत्र छाउनु पर्यो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे