सार्वभौम संसदमा सांसदहरू गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गरिरहेका छन् । माननीय मन्त्रीज्यूहरू प्रश्नोत्तर कार्यक्रम अन्तरगत गम्भीर मुद्रामा गम्भीरगम्भीर प्रश्नहरूको गम्भीर जवाफ सम्प्रेषण गरिरहेका छन् । यो राष्ट्रको गम्भीर स्थितिप्रति व्याकुल हुँदै सचेत एवं बौद्धिक व्यक्तिहरू गम्भीर भइ गोष्ठि–संगोष्ठीमा आफ्ना गम्भीरखाले मौलिक चिन्ता जाहेर गरिरहेका छन् । यस्तो गम्भीर परिस्थितिप्रति एकदमै बेखबर बनी यो लेखन्दास लठुवा भने कुन त्यस्तो फुस्रो गफ जोत्न थाल्यो भन्नु होला । कुरो जतिसुकै गम्भीर भए पनि गम्भीरताका नाममा सबका सब अहिले तातो न भुत्लाको गफ नारिरहेका छन् । संसद बकम्फुसे गफ गर्ने एउटा वैधानिक थलो हो भनेर तपाईं प्वाक्क बोल्नुस् त बस्, एकदिन संसदको वहस र छलफलको मूल विषय त्यही हुने छ । तपाईंको सातपुस्तेदेखि पेटको सातपत्रेसम्म पल्टाउने काम तुरुन्तै गरिने छ । विषयको एउटा तन्तु र एउटा त्यान्द्रो समातेर कोही समर्थनमा आफ्नो तर्क तान्ने छ, विषयको अर्को त्यान्द्रो तानेर काही विरोधमा आफ्नो बाँसुरी फुक्ने छ । हेर्दाहेर्दै कोही स्वीकारमा ओर्लने छन् कोही वहिस्कारमा उत्रने छन् । स्वीकार र वहिस्कारको बीच राम्रो तालमेल मिलेन भने सदन राम्रोसँग चलाउन सभामूखज्यूलाई हम्मेहम्मे पर्ने छ । सदनलाइ पुन व्यवस्थित ढंगले चलाउन अवरुद्ध सदनलाई स्थगीत गरी सभामुखज्यूको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइने छ । उक्त बैठकले सर्वदलीय राष्ट्रिय सहमति कायम गरी त्यसको निर्णय–व्यहोरा सरकारी सञ्चारमाध्यममा प्रेषित गरिन्छ । कथंकदाचित इन्ठिङमिन्ठिङ मिलेन भने वा कसैलाई राम्रैसँग चित्त बुझेन भने सांसदको मानहानी या संसदको विशेषाधिकार हननसम्बन्धी तपाईलाई मुद्धा लाग्न बेर छैन । गफको लहरो यसरी तन्किदै अघि बढ्छ ।

गफ हिजो चल्थ्यो, आज चलिरहेको छ, यो रोकिनेवाला छैन भोलि पनि चलिरहने छ । प्रजातन्त्र पुनरस्थापनापछि अभूतपूर्व रूपमा विकास भएको वस्तु भनेकै गफ हो । यो गोप्य कुरो म तपाईंहरूलाई मात्र खुसुक्क भन्दै छु, बाहिर नजाओस् नि । तपाईंबाट फुस्किएर एक कान दोकान मैदान हुँदै प्रजातन्त्रका खाँटी ठेकेदारहरूको कानसम्म पुग्यो भने अथवा मेरो यो अभिव्यक्तिको आसय–दुरासयबारे ठेकेदारहरूले स्पष्ट चाल पाए भने मेरो जिब्रो झिकेर पातमा राख्न कुनै आइतबार कुर्नु पर्दैन । तपाई आफैं यसो गमेर संझनोस् त कुन चाहिँ कुरो गफ होइन ? संसदको वाकयुद्ध सिर्पm गफमा आधारित छ । थोडै तपाईं हामी जस्ता मुलंखरे जनताका दैनिक जीवन–दशाको सुधार गर्ने तर्फ चिन्तन र चेतना जागेको छ र भन्या ? एकसे एक गफाडी जम्मा भएका छन् अनि गँजडी शैलीमा गफ फिसलेका छन्, बेलाबेला हाँसोको फोहरा फुट्छ, एकआपसमा व्यङ्ग्यवाण वर्षाइन्छ, सवाल–जवाफ हासपरिहासमै आदान प्रदान हुन्छ । गफको पोयो बटारिन्छ, एउटाले एउटा त्यान्द्रो तान्छ, अर्कोले अर्को त्यान्दो्र तन्काउ“छ, कसैले चुडाउन बल गर्छ, कसैले गाँस्न बल गर्छ, हाँसो, ठट्टा मस्करीकै बीच गफयुद्धले गति लिंदै आएको छ । अनि हामी ढुक्क हुन्छौं– ओहो हाम्रो मुलुक साँच्चैको प्रगति पथमा अघि बढिरहेको छ ।

गफ सदनमा मात्र होइन, मन्त्रालय मन्त्रालयमा चलिरहेको छ । विकास गफमा छ, प्रगति र अग्रगति गफमा छ, गफैगफमा यो देश संसारकै दोस्रो/तेस्रो गरीब देशमा उक्लिइसक्यो । गरिबीको प्रतिष्पर्धामा हामी क्रमशः अग्गा हुँदैछौं । मन्त्रीज्यूलाई अरु कुनै काम गर्ने फुर्सद हुँदैन, मन्त्रालयमा जाउँ प्रतिनिधि मण्डलको ताँती पालो कुरेर बसेको छ । त्यो ता“ती कुनै कामका लागि होइन, काठमाडौं आएका बेला मन्त्रीज्यूसँग भेटेर यसो गफगाफ गर्ने मेलो मात्रै हो । जिल्ला बेजिल्लाका समस्याको कुरो त एउटा निहुँ न हो, यो पनि चाहियो, ऊ पनि चाहियो, यसो गर्नु प¥यो भन्ने एउटा रहनी । चिल्लो गाडीमा ढल्किंदै १२ बजेतिर मन्त्रालय छिरिबक्सनु भएको मन्त्रीज्यूको समय गफगाफका निम्ति पालो कुरेर बसेका जिल्ला वा निर्वाचन क्षेत्रका प्रतिनिधि मण्डल, व्यापारी, साहुमहाजन, बुद्धिजिबी, पत्रकार, नसनाताका साला साली र ज्वाईं चेलाहरूस“गको सामान्य भलाकुसारी र गफगाफमै तीन चार घण्टा दिनहुँ भुसुक्कै बितेर जान्छ । हजुर उहा“को काम भनेकै गफ गर्नु हो । गफमै विकास छ, गफैमा निर्माण नवनिर्माणको रथ चलिरहेको छ, विकासको गफमै समय बितिरहेको छ ।

एकै प्रकारको गफले जो कसैलाई पनि निरस पार्दछ । गफ भनेको भेराइटी भेराइटीको हुनु पर्दछ । गफको भेराइटी बदल्नका निम्ति मन्त्रालयममा कार्यरत दुईजना पिएहरू पसिना काढेर जुटेका देखिन्छन् । हरेक दिन राजधानीमा हुने दुईचारवटा गफ–गोष्ठिमा प्रमुख अतिथि, अतिथिको आशन सुरक्षित गरी, समय मिलाइएको हुन्छ । गोष्ठि नामका ती गफ–अखडाहरूमा प्रमुख अतिथि भएर पानसमा बत्ती बाल्नु तथा छोपिएको तुल उघारेर गफ–गोष्ठि आरम्भ भएको जनाउ दिनुको छुट्टै मजा छ, छुट्टै स्वाद छ । त्यस्ता गोष्ठिहरूमा झन् बिछट्टैका गफाडीहरूको उपस्थिति उल्लेखनीय रहने गर्दछ भनेर भनिरहनु पर्ने कुरै होइन । कसैलाई दुईसय रूपैयाको दोसल्ला ओढाउने निहुँमा होस् या कुनै ताइ न तुईको खैराँत विषय शीर्षकका नाममा होस् एकदर्जन गफाडीहरू सिंगौरी खेल्दै आआफ्ना गफका मोहरी खोल्छन् । भाषण भनेकै खाँटी गफ हो । कुनैले चाहि“ कार्यपत्रको नाउँमा अनपारको कुरापत्र भट्याउँछ, अर्कोले त्यो कुरापत्रमा के कति कुरा छन् भन्दै आफ्नो एकलौटी गफ छाद्छ, झन् अर्कोले त्यसैलाई आधार बनाएर अर्को उपगफ उकेल्छ । तिनै गफ उपगफको मूल मेहेरो अन्तर्गत माननीय मन्त्रीज्यूको विकासे गफको मूल फुट्छ– अरुले तीस वर्षमा नगरेको विकास लौ हेर, हामीले तीनै वर्षमा गरिसक्यौं । गफैगफमा आकास पाताल सर्लक्कै जोडिन्छ, प्रमुख अतिथिको प्रमुख गफ शानदारसँग जम्छ ।

गफ गर्नकै निम्ति भनेर हिजोआज उच्चस्तरीय समिति तथा कार्यदलहरू बन्ने गरेका छन् । वार्ता भनेको गफ नै त हो । गफ गर्न सार्वजनिक आव्हान गरिन्छ, गफका निम्ति निमन्त्रणा गरिन्छ । अनि गफ गर्ने वातावरण र गफ गर्ने विषय गफैगफमा हराउ“छ, हाति आयो हाति आयो फुस्सा । गफ गर्नका निम्ति पनि पहिले गफै नगरी हुन्न । गफ गर्दिन भन्न पनि गफैबाट गर्नु पर्छ । यो मुलुक अहिले गफाडीको कब्जामा छ । यो देशको सार्वभौमसत्ता, राष्ट्रवाद र राष्ट्रियता, जनवाद र जनजिविका, शिक्षा र संस्कृति सिर्फ गफमा अडेको छ । राष्ट्रिय सरोकारका अत्यन्त गम्भीर सवालहरू गफाडीका ग“जडी गफमा रूपान्तर भइरहेका छन् । कस्ले बढी गफ गर्ने, कसले गफैको भरमा जनतालाई उल्लु प्रमाणित गर्ने भनेर एक से एक गफाडीहरू सिर्फ गफमा नारिएका छन् हलोमा गोरु नारिए झैं । भट्टीमा लोक्कल ठर्रा–गफ, चिया–गफ, कफि–गफको रवाफिलो राप उठिरहेको छ । रेस्टुरा“तिर महँगा महँगा बिदेशी लेवलहरूसँग गजब गजबको गजल–गफ गर्माइरहेको छ । सदनदेखि सडकसम्म, मन्त्रालयदेखि शौचालयसम्म तपाईं जहाँ जानोस् गफाडीको हूल फेला पार्नुहुने छ, तपाईं जहाँ पुग्नोस् गफ चुटाइको चक्करमा फस्नु हुने छ । अब त प्रगति उन्नति र विकासको गफ होइन गफकै विकासका निम्ति गफ गर्नु पर्ने भइसक्यो ।

गफको एउटा गतिलो पोयो फुकाइ यो गफ पुराण लेख्नमा कम्बर कसेर लागिरहेकै बेला बिहानीको चिया गफमा गफिने मनोकांक्षा लिई मेरा एकजना गफाडी मित्र लुसुक्क मेरो बैठक कोठामा छिरे । मेरो लेखन गफ लल्याकलुलुक भएर दोब्रियो । म भने दोब्रिएको लेखन गफलाई एकातिर थन्क्याई गफाडी मित्रको गफगाफमा सामेल भएँ । किचेन क्याबिनेटबाट दुई कप तात्तातो फिका चिया आइ पुग्यो । बस् मेरो मित्र थाल्यो गफको अर्को पोयो फुकाउन । उसको गफले नसमातेको कुनै विषय हुँदैन । राष्ट्रदेखि अन्तराष्ट्रसम्मका, जनवाददेखि धनवादसम्मका, नालापानीदेखि कालापानीसम्मका, टनकपुरदेखि जनकपुर सम्मका, श्रीमतीको कचकचदेखि सानो छोराको चकचकसम्मका यावत गफवाणीमा म नतानिइ सुखै थिएन । घरी उस्ले पेल्ने, घरी मैले ठेल्ने । यही पेलमपेल र ठेलमठेलमा गफाडीको गफधन्दा चलिरहेको छ । गफ मथेर नौनी चाहिँ कहिल्यै निस्कनेवाला छैन भन्ने कुरा कुन गफाडीलाई थाहा नभएको हो र ?
कलङ्की, काठमाडौं
०५६ साउन