जति पाए पनि कहिल्यै पाए जस्तो नहुने
जति खाए पनि कहिल्यै अघाए जस्तो नहुने
जति ओखती गरे पनि कहिल्यै सञ्चो नहुने
जति लाए पनि सधैं नाङ्गै रहने
छाम्दा जताततै छोइने
अस्तित्व खोज्दा कतै नहोइने
उदेकलाग्दा विशेषता बोकेर यो धर्तीमा घिस्रिरहेको
पृथिवीको म भार
अगस्तीको म अवतार ।

मेरै रक्षाका लागि यो विश्वमा डरलाग्दा युद्धहरू भए
मेरै मुक्तिका लागि संसारमा रहरलाग्दा क्रान्तिहरू भए
मेरो जात जोगाउन
मेरो धर्मको रक्षा गर्न
मेरो सम्प्रदायको हितमा
कति विष्फोट, कति आगजनी र कति काटमारहरू भए
मेरै खातिर
कत्ति गाउँहरू, कत्ति शहरहरू र कत्ति देशहरू डढे
मेरै लागि हजारौं हजार योद्धाहरू सूलीमा चढे ।

मलाई आतङ्कवादबाट बचाउन
महान् अमेरिकाहरूले अनेकौं राष्ट्रहरूमा बम हान्नुपरयो
मलाई शक्ति राष्ट्रको दादागिरीबाट जोगाउन
बिचरा बिन लादेनहरूले
त्यति राम्रा राम्रा ट्वीनटावरहरू लडाउनुपरयो
मलाई आपत पर्नासाथ संसारको कुनै पनि कुनामा
बख्तरबन्द गाडीहरू गोलाबारुद बोकेर हाजिर भएकै छन्
मलाई बचाउन, स्याहार गर्न
राष्ट्र सङ्घका शान्ति सेनाहरू
मेरो आँगन आँगनमा आएकै छन्
घनघोर प्रेम र श्रद्धा छाएको छ मेरो वरिपरि
अपार सुरक्षा र सहयोग आएको छ मलाई घरिघरि ।

धनी राष्ट्रहरू मेरै नाममा अनुदान दिएका दिएकै छन्
गरीव राष्ट्रहरू मलाई नै बचाउन दान लिएका लिएकै छन्
संसारभरि लाखौं लाख सङ्घ–संस्थाहरू
मेरो जीवनस्तर उठाउन मरिमेटेर खटेका छन्
कैयौं एनजिओ आइएनजिओहरू
ब्रिफकेश भरिभरि नगद र कार्यक्रमका साथ
मलाई खुवाउन, पियाउन, चुठाउन
सुताउन, निदाउन र उठाउन जुटेका छन् ।

मेरै अधिकार रक्षाका लागि संविधान र कानुनहरू बनेका छन्
मेरै लागि सांसद, मन्त्री र बडे बडे नेताहरू जन्मेका छन्
पुलिस छ, सेना छ, छापामार गुरिल्लाहरू छन्
मेरै लागि सबै अहोरात्र जागेका छन्
मेरो दुःख निवारणमा सबै लागेका छन्
करोडौ मास्टरहरू, लाखौं कर्मचारीहरू
सयौं वर्षदेखि मेरै काम गरेर पेन्सन पकाइरहेका छन्
कत्रा कत्रा राजा, महाराजा र बादशाहहरू
मलाई मुसारी, मुसारी बाँचिरहन फकाइरहेका छन् ।

यता बम, रकेट, अस्त्र र शस्त्रहरू
उता बाइबल, कुरान, पुराण र शास्त्रहरू
यता खमेरुज्, हिटलर, सद्धाम र इदी अमिनहरू
उता जेसस्, अल्लाह, बुद्ध र साइबाबाहरू
सबै सधै मेरो पूजा गर्न खटेकै हुन्
सबै मेरै कल्याणका लागि डटेकै हुन्
सबै महामानवहरू मेरै उन्नतिको एउटै लक्षमा छन्
समस्त भगवान् र देवी देवताहरू मेरै मुक्तिको पक्षमा छन् ।

म सहिदहरूका सपनामा छु, नेताहरूका विपनामा छु
राजपत्रमा छु, घोषणपत्रमा छु
जुलुसमा, नारामा, संविधानका धारामा छु
राष्ट्रिय योजनाको पहिलो प्राथमिकतामा छु
कविका कवितामा, लेखकका उपन्यासमा छु
म सर्वत्र छु, सर्वव्यापी छु ।

तै पनि म एक्लो छु, असहाय छु
तै पनि म जहिल्यै असुरक्षित छु भयभित छु,
तै पनि म सधैं नाङ्गै छु, भोकै छु,
तै पनि म सधैं अशान्त छु, क्लान्त छु,
तै पनि म जहिल्यै पिलन्धरे रोगीको रोगी छु
तै पनि म सदाबहार मगन्ते जोगीको जोगी छु
सधैं सधैंको म सुकुम्वासी, शरणार्थी र पीडित छु
म हरिकङ्काल, बेघर, आतङ्कित सधैंको प्रताडित छु ।

मलाई कार्ल माक्र्सको पूँजी पढाउँदा पनि भएन
मलाई गान्धीको त्याग तपस्याले पनि छोएन
मेरो दुखः हटाउन बल गर्दागर्दै पुष्पलाल मरे
मेरो उद्धारमा लाग्दालाग्दै वीपी कालको मुखमा परे
मेरै नाम जप्ताजप्तै मनमोहन मुच्र्छा परे
मेरै चिन्तामा डुब्दाडुब्दै माधव नेपालका तालुका रौं झरे
मेरा दुखहरू झन् झन् मौलाए
खप्न नसकेर होला कृष्णप्रसाद झन्नै बौलाए
गिरिजाबाबुको पनि सास यसै जाला जस्तो छ
प्रचण्डपथले पनि सिल्टिम्मुरै खाला जस्तो छ ।

थुक्क म !
महात्मा परमात्मा सबै खनिएर खन्याउँदा पनि
कहिल्यै– कहिल्यै– कहिल्यै नभरिने
बालुवै बालुवाको खाडल पो रहेछु
संसारैभरिका सबै ओखती खुवाउ“दा पनि
कहिल्यै–कहिल्यै–कहिल्यै बिसेक नहुने
रोगै रोगको पिण्ड पो रहेछु
जत्ति मल हाले पनि हरियो नहुने
म त ठुटामा उम्रिएको च्याउ रहेछु्
जति जल चढाए पनि बढ्दै नबढ्ने
म त ढुङ्गामा टाँस्सिएको झ्याउ रहेछु
शल्यकृया गरेर जति काटे पनि, जति ताछे पनि
युगयुगान्तर घाँटीमा गाँड र कापमा हाइड्रोसिल बोकेर हि“ड्ने
कस्तो घाँडो मधौरु रहेछु म !

म कल्पन्छु,
म नभएको, भए यो संसार कत्ति सुखी हुन्थ्यो होला
जति हुन्थे यो पृथ्वीमा कति खुशी हुन्थे होला †

म मरिदिन्थें–
म उहिल्यै आत्महत्या गरेर मरिदिन्थें
यदि यो संसारमा प्रजातन्त्र हुँदैनथ्यो भने
प्रजातन्त्रमा चुनाव आइरहदैनथ्यो भने
चुनावमा मैले भोट हाल्नुपर्दैनथ्यो भने
म बेगर पनि कोही सम्राट, राष्ट्रपति वा मन्त्री हुन्थे भने
मेरो उपस्थिति बिना पनि सरकारहरू चल्थे भने
अड्डा अदालतहरू खुल्थे भने
एनजिओ आइएनजिओवालाहरू बाँच्थे भने
म नभए पनि
कुनै दलको समर्थनमा गगनभेदी नाराहरू लाग्थे भने
कुनै तानाशाहको विरोधमा राँके जुलुसहरू निस्कन्थे भने

म मरिदिन्थें–
म उहिल्यै आत्महत्या गरेर मरिदिन्थें
यदि म नहु“दा पनि
विशाल आमसभाहरू सम्पन्न हुन्थे भने
अतिथिहरूको आगमनमा थप्पडीहरू बज्ने भए
नेताहरू मर्दा मलामीको खाँचो हुँदैनथ्यो भने
म बिना नै यो संसार चल्थ्यो भने
धरोधर्म ! तिनीहरूलाई मैले बचाउनु पर्दैनथ्यो भने
म उहिल्यै–उहिल्यै–उहिल्यै
आत्महत्या गरेर मरिदिन्थें ।
सिनामङ्गल, काठमाडौँ