तास खेलका शौकिनहरूलाई जोकरको महिमा र महत्व कति धेरै हुन्छ भन्ने कुरा राम्रैसँग थाहा छ । जुनसुकै फुटी र रङ भए पनि जोकर त्यसमा ठ्याम्मै मिलिदिन्छ र गेम गर्न मद्धत पु¥याउँछ जोकरले । बाउन्न पत्तीमा जोकरको झन् बडी महत्व हुन्छ । दुईवटा जुट मिलिरहेको छ, तर हातमा जोकर नपरेसम्म मरिगए गेम हुन्न । फेरि तासकै केही खेलहरू यस्ता पनि छन् जसमा जोकरको कुनै मान भाउ हुँदैैन । न फुटी गिन्तीमा अङ्क बढाउँछ, न रङ जनाउँछ । जोकरको यस्तै दोहोरो चरित्र निरुपित भएका मनुवालाई “दोगला” भन्ने पनि गरिएको छ ।

सर्कस निर्माण र प्रदर्शनमा छिमेकी मुलुक भारत धेरै अगाडि छ र यसले सर्कसहरूलाई निकासी पनि गर्छ । सर्कसको महफिल जोकरको अनुपस्थितिमा जम्दैजम्दैन । ऊ छिमेकका उम्दाउम्दा मनुवाहरूलाई निम्ता गरेर काइदा काइदाका जोकर बनाउने पनि गर्दै आएको छ । हरेक आइटमपछि उट्पटाङ कर्म गरेर सर्कसका दर्शकहरूलाई हँसाउँनु जोकरको पुनित दायित्व हो । जोकरहरू शारीरिक सुगठनका हिसावले प्रायजसो पुड्का हुन्छन् । जतिसुकै उम्दा भए पनि जोकर बनेपछि पुड्को हुनु जोकरको विशेषता हो । तर उनीहरूको पुड्कोपन नै जोकरको पर्याय भने होइन । यद्यपि दर्शकलाई मनोरञ्जन प्रदान गर्न सर्कसवालालाले प्रायजसो पुड्कोपनलाई समेत प्रयोग गर्ने गरेको हुन्छ भन्दा अत्युक्ति नहोला ।

म वर्तमान राजनीतिलाई चल्तीको सर्कससँग तुलना गर्ने धृष्टता गरिरहेको छु, जहाँ एकदमै असम्भव असम्भव कुरा पनि सम्भव देखिन थालेका छन् र राजनीतिक महफिलमा अनगिन्ती जोकरहरूको दर्शन पाउन थालिएको छ । राजनीतिमा सरिक जोकरहरू सर्कसका जोकरहरूभन्दा कुनै मानेमा भिन्न र कम छैनन् । अनि तासको जोकर जस्तो जसको हातमा परे पनि गेम गरिदिन सहायक सिद्ध भइरहेका छन् । दोहोरो चरित्रका नायक महोदयहरूलाई दोगला भन्ने गरिएको छ भनेर माथि छुस्स उल्लेख भयो । यता पनि ठिक्क यता पनि ठिक्कको क्रियाकलाप नै दोगलाको परिचय हो । सर्कसको जोकर र तासको जोकरजस्तै राजनीतिमा समाहित भएका दोगला या जोकरहरूको जिन्दगी नै एउटा जोक हो । बाँकी यावत कर्म र क्रिया जोकरकै ओरिपरि केन्द्रीत रहेको हुन्छ ।

साँच्ची नै जोकरहरू कहिले आफ्नो नाइके बदल्ने कार्यमा तुफानी ढङ्गले सङ्घर्ष गर्छन् भने कहिले नाइके जोकर बदल्ने महाअभियानको सारगर्भित षडयन्त्रमा सरिक हुन्छन् । कहिले जोकर नाइके बनिरहेको हुन्छ, कहिले जोकर नाइके भइरहेको हुन्छ । नागरिकता सम्बन्धी विधेयकलाई गज्जबको भकुण्डो बनाएर संसदको खेल मैदानमा के उतारिएथ्यो– लौ के के उपद्रो हुने भयो भनेर सबका सब दर्शकहरू आँखा झिमिक्कै नगरी हेर्दा थिए । जब– “हुन्छ” भनेर समर्थनमा ताली पिटेर पारित गर्नेहरूको स्वर नै एकाएक “हुन्न”मा परिणत भयो यो देख्दा हामी दर्शकहरू पनि मख्खै परिदियौं । यस्तो गरिमापूर्ण “हुन्छ” कसरी “हुन्न”मा परिणत हुन पुग्यो ? तल “हुन्छ”, माथि “हुन्न” । माथि नभएपछि अब तल पनि हुन्न । जोक¥याईंको यो भन्दा राम्रो उदाहरण अर्को कुन हुन सक्छ र ! भारतको कुनै प्रख्यात टोलीले देखाउने सर्कसको लोमहर्षक कुनै आइटम भन्दा कम मूल्यको थिएन यो कर्म । यस्तै उट्पट्याङ दृश्य, कर्म र क्रियाकलाप हेर्न हामी अभ्यस्त हुँदै छौँ ।

अस्ति भर्खरै एउटा अर्को जोकरसँग मेरो भेट भएको थियो । हाँसो उठ्दो उसको मुखमुद्रा देखेर मैले ऊसँग सोधें– “जोकरज्यू ! तपाईं फेरि अर्को कुनै आइटमको तयारीमा हुनुहुन्छ कि कसो ?” मेरो प्रश्नले ऊ निकै आल्हादित बन्यो र भन्यो– “हो, एकैखालको आइटममा दर्शक महानुभावको मनोरञ्जनात्मक रहर पूरा हु“दैन, त्यसैकारण नयाँनयाँ आइटमको निर्माण गर्नै पर्दछ ।” मैले जिज्ञासा व्यक्त गरेँ– “यसको अर्थ तपाईंहरू फेरि अर्को तमासा देखाउने तयारीमा हुनुहुन्छ ?” ऊ उसै गरि बोल्यो– “जरुर हो । हामी अर्को तमासाको तयारीमा छौँ । विश्वास लिएर भन्नोस् या विश्वासघात दिएर भन्नोस् एउटा नायकलाई हामीले माथि उचाल्यौँ । तर ऊ माथि गएपछि भने तल त हेर्दैहेर्दैन । अब उसलाई तल नखँदारी भयो त ? कुनै हल्काफुल्का अभियोग या आरोप लगाएर उसलाई तल ओराल्ने छौँ । अनि त्यसको ठाउँमा अर्को नायकलाई फेरि माथि लैजाने तयारीमा हामी जुटिरहेका छौँ । यसको परिणाम अब केही दिनमै तपाईंहरू देख्न थाल्नु हुनेछ ।” जोकरको यो स्पष्टोक्तिले मलाई आश्चर्यमा पारेन । शायद तपाईंहरूलाई पनि आश्चर्य लागेन होला । किन भने हामी यस खाले राजनीतिक जोकरहरूका लोली र बोलीबाट परिचित मात्र होइन, अभ्यस्त पनि भइरहेका छौँ ।

जोकर एउटा राष्ट्रिय जीव हो र प्रवृत्ति वा पेसा पनि हो । देश, काल परिस्थिति अनुरुप ऊ नयाँनयाँ आइटममा सहभागी हुन्छ । दर्शकलाई मानसिक मनोरञ्जन दिनु उसको धर्म र कर्म दुबै हो । राजनीतिमा जोकर प्रवृत्ति हाबी भएपछि राष्ट्र स्वयं एउटा जोक थलोमा परिणत हुन्छ । त्यस बेला सत्तामा विराजमान कुशल जोकरले सारा कुरा आफ्नै प्रवृत्तिअनुरुप उल्टोपाल्टो गराइदिन सक्छ, जस्तो सर्कसमा देख्न पाइन्छ । मलाई यो बेला पञ्चायकालीन जोकरहरूको सम्झना आइरहेछ । तीस वर्षिय तमासामा सरिक भएर हजारौँ आइटमका निर्माणकर्ता ती जोकरहरू दुला पसे भनेर ढुक्क भएको एघारौं वर्ष पुग्ने बेलामा पनि कुनै न कुनै निहुँमा दुलाबाट टाउको फुत्तफुत्त देखाउँदै छन् । अस्ति भर्खरै पनि एउटा पुरानै नाम, रुप र निहुँमा दुलाबाट टाउको निकालेर मजाक मार्न तम्सेको देखियो । त्यसको लगत्तै उनीहरूको मजबूत इच्छा “देशभरिका पुराना जोकरहरू एकजुट हौं” जस्ता नारा लगाउँदै दिउँसै सडकमा निस्किएको पनि हामी सबका नाङ्गा आँखाले देखेकै हुन् ।

यद्यपि उनीहरूको हातमा सयर गरिरहेथ्यो राष्ट्रिय झण्डा । पुराना जोकरहरूका हातमा राष्ट्रिय झण्डा र एउटा फुच्चे कलाकारको रुपमा देखापरेको “आदेश पाए गोली हानीदिन्थें” जस्तो फिल्मी पाराको अभिव्यक्तिलाई आकासै खसेको अथवा पहाडै भत्किएको ठानी नयाँ जोकरहरूले प्रलयंकारी कोकोहोलो छेडे । विरोध, भ्रत्सना तथा प्रजातन्त्रप्रति अगाध ममताले द्रविभूत हुँदै प्रशारित गरिएका वक्तव्यहरूको बाढी नै ओइरियो । मानौं, कोकोहोलोले मात्रै यो प्रजातन्त्रको रक्षा गर्न सकिन्छ । मानौं, बिचरा यी नयाँ जोकरहरू त दुधले नै धोएका महापुरुषहरू हुन् । आफ्नो कमीकम्जोरी र त्रुटितिर फर्केर हेर्नै कहाँ परेको छ र । प्रजातन्त्रका पहरेदारहरूका दुईचार वटा महल, आठ दश करोड रुपैयाँको बैंक ब्यालेन्स र स्वदेश वा विदेशका सर्वाधिक महँगा स्कुल कलेजहरूमा आफ्ना भुण्टाभुण्टीहरूको भर्ना न हो, यति जाबो कुराको समेत विरोध गर्नेहरू पुनरुत्थानवादी नभएर अरु को हुन सक्छ ? मह काड्नेले हात त चाटिहाल्छ । सम्झनोस् यो नकच्चराईं होइन सिरिफ जोक¥याईं हो ।

निर्लज्ज भएर गरिँदै आएको यस किसिमको जोकर्याईं नै यो मुलुकको प्रजातन्त्रको पर्याय बन्दै गएको छ । जोकरहरूकै जगजगी र जोकरहरूकै चकचकीमा हामी मख्ख परिरहेका छौँ । हामी आशा गरौँ उहाँहरूद्वारा निर्मित आइटम आइटमका नयाँ प्रजातान्त्रिक जोकहरू निरन्तर प्रस्तुत भइरहुन्, प्रजातन्त्रमा हामी जनता जनार्दनको पेट भोको भए पनि किसिम किसिमका जोकहरूको मनोरञ्जन खाएर अघाउन पाइरहुँ । जोकर्याईंमा कुख्याती प्रख्याती प्राप्त राष्ट्रियस्तरका जोकर महोदयहरूमा जदौ । उहाँहरूको जोकर जिन्दगीले सदा सफलता हात पारिरहोस् ।
कलङ्की, काठमाडौँ