सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताज्यूलाई रुघा लागेछ

Nepal Telecom ad

एकाविहानै म चक्रपथतिर घुम्दै थिएँ सदैजसो मेरा एक जना चिरपरिचित पत्रकार बन्धु भेटिए । हुन त उनी धेरै जसो त्यतैतिर भेटिन्छन् । हामीहरू भेट भएपछि एक अर्कालाई हाँसेर स्वागत गर्ने चलन छ । तर आज हाँस्नेमा म मात्र परेँ । उनी पटक्कै हाँसेनन् । मलिन मुख लगाएर उभिएको देखेपछि मैले नै उनको कुशल मङ्गल सोध्नु प¥यो ।

‘किन आज पत्रकार बन्धुलाई आराम भएन कि कसो ? अनुहार त रानीखेत लागेको कुखुरा जस्तो छ नि !’

‘मलाई त ठिकै छ, हाम्रा नेताज्यूलाई रुघा लागेछ ।’

‘हैन, कुन कुन नेतालाई त्यस्तो सारो रुघा लाग्यो, तपाईंलाई चिन्ता पर्ने गरी ?’

‘हामै्र नेतालाई नि ! उहाँ विरामी भएर बैंकक जाँदै हुनुहुन्छ । म त उहाँकाँ नगै भा’छैन, म हिँडेँ’ भनेर बन्धु हिँडिहाले ।

‘के को रुघा लाग्ने हो ! अख्तियार लागेको नि !’ सँगै उभिएका शर्माजीले प्वाक्क भने ।

‘अख्तियार त नेताजीलाई कहाँ लागेको छ र ? कर्मचारीलाई पो लागेको हो त !’

‘कर्मचारी समाउने अख्तियार धागो समाउँदै नेता, मन्त्रीसम्म पुग्न के बेर ! फेरि अहिले आफ्नै पार्टीका व्यक्ति फुटेर दुश्मन बनेको बेलामा जे पनि त हुन सक्छ । बेलैमा होसियार हुनु जाती । सम्पत्ति जाँचबुझ आयोगले छोराका नाममा भएको खाता त फेला पा¥यो भन्न थाले । स्वास्थ्य परीक्षण भन्यो बैंकक गयो । अनि कुवेत र स्वीट्जल्र्याण्ड पुग्यो फक्र्यो । पैसा लाग्ने होइन । जनताका छोरा होइन क्यारे ! क्यान्सर भएर पनि भारतसम्म पुग्न नपाउने । उहाँहरू त नेता पो त । रुघा लागे बैंकक, खोकी लागे बेलायत । सम्मेलनमा जान भनेर जन्ती लिएर जाने त बेलायत पुगेका रेकर्ड छन् ।’

शर्माजीको कुराले मेरो घैँटोमा घाम पसे जस्तो भयो, तर नेताजीलाई रुघा लाग्दा यी पत्रकार महोदयलाई यत्रो चिन्ता किन प¥यो बा ! यो एउटा कुरा भने मैले राम्रो ठम्याउन सकिन र शर्माजीलाई नै प्रश्न तेस्र्याएँ ।
‘को पत्रकार ? केको पत्रकार ? यिनी पत्रकार–सत्रकार केही होइनन् । कुनै पत्रिकाको रिपोर्टर पनि होइनन्, नेताजीका रिपोर्टर मात्र हुन् । नेताको सिफारिसमा मन्त्रीले बनाएका पत्रकार ।’ यति भनेर शर्माजी पनि आफ्नो बाटो लागे । म जिल्ल परेँ ।

जे होस्, पत्रकार नभए नहुन् । आखिर नेता र मन्त्रीका रिपोर्टर त रहेछन् । रिपोर्टिङ गर्नु पनि सानो कुरा होइन । रिपोर्टिङकै आधारमा हाम्रा पञ्चवर्षीय योजना चलेका छन्, विकास आयोजना चलेका छन् । अझ भन्ने हो भने देशै चलेको छ । चाहे साँचो होस् चाहे झुठो होस, आखिर रिपोर्ट भनेको रिपोर्टै हो । त्यस माथि त्यति ठूला नेताको रिपोर्टर । पत्रिकाका रिपोर्टर भन्दा कता हो कता ठूला । यिनै रिपोेर्टर छन् र देश छ, मन्त्रालय छज्, मन्त्रीहरू छन् । पी.ए. छन्, सल्लाहाकार छन् । मन्त्रीभन्दा पनि मान्नु पर्ने यिनैका रिपोर्टले मन्त्रीजीले सचिवको कुरा नपत्याएर मुखिया खरिदारको कुरा पत्याउनु हुन्छ । आखिर देशै चलाउने त हो, नभए यति ठूलो मन्त्रीमण्डल किन चाहियो ? जन्ती जस्ता सल्लाहकार र पी.ए. किन चाहिन्थे ? म त मन्त्री, नेता र रिपोर्टर वा सल्लाहाकारको विरोधमा जान सक्दिन बा !’

मान्छेले नेताजीहरूको त्यसै डाहा गर्छन् । नेता र मन्त्रीले गरेको काममा किन ईष्र्या गर्ने ? यत्रो देश चलाउन ठेक्का दिएपछि डाहा, ईष्र्या गरेर हुन्छ र ? हामीले चुनेका नेता, भलै जनता भोट खसाल्न नजाउन् । जनताका नामको भोट त नेताज्यूले पाउनु भएकै हो । अनि भोट परेपछि नेताजीलाई चाहिने अधिकार पनि त पाउनै पर्यो । चाहे रुघा लागेर जानुहोस् चाहे अख्तियार जागेर । सदै भारत मात्र कति जाने ?

मुख्य कुरा त सञ्चारको युगमा नेताजी सञ्चारविहीन भएर पनि काम चल्दैन । सल्लाहाकार हुन् कि रिपोर्टर होउन्, नेताको ज्ञानको लागि सहयोगी त हुनै प¥यो । रिपोर्टर भएर नै पत्रकार महोदय नेताज्यूलाई रुघा लाग्दा मलिन भएका रहेछन् । अब भने म स्पष्ट भएँ । विचरा रिपोर्टरले प्रजातन्त्र आउनु भन्दा पहिले नेताजीलाई कतिपटक खाना ख्वाएका होलान् ! बिँडीका ठुटाले तलतल मेटाएका होलान् । कति पटक त चप्पलमा फिता फेरिदिएका होलान् । त्यही उपकार सम्झेर नेताज्यूको सिफारिसमा मन्त्रीजीले पत्रकार बनाउनु भएको हुनुपर्छ । गाउँबाट राजधानी ल्याउनु भयो । झोपडीबाट उठाएर महलमा सार्नु भयो र मागेरै भए पनि रिपोर्टरज्यूलाई मोटर पुर्याउनु भएकै छ । यस्ता नेताजीलाई रुघा लागेको सुनेर विचरा रिपोर्टर (पत्रकार ?)को किन चित्त नदुखोस् ?

अख्तियारले टाउको उठाएको बेलामा नेताजीलाई रुघा लागिसकेपछि बैंकक नगई पनि त भएन ? टाउकोसम्म नदुखेका कर्मचारीले त अफिसै शून्य हुने गरी विदा माग गर्न थालेका छन् । यस्तो अवस्थामा नेताजीलाई धन्न रुघा मात्र लागेछ । कसो निमोनियाँले समातेन । नभए उहाँलाई अमेरिकै पठाउनु पर्ने थियोे । थोरै खर्चले पुग्यो । ईश्वरलाई धन्यवाद दिए हुन्छ ।

नेताज्यू बैंककबाट फर्किंदा रुघा निको भएर फर्किनु हुनेछ । अनि त अख्तियारले मात्र होइन, डाक्टरले छामे पनि उहाँमा रुघा भेटिने छैन । त्यसपछि उहाँमा अरु देशप्रेम जाग्नेछ । सबै नेताहरू औैषधि गर्न भनेर विदेश गएको देख्न पाइयोस् र चाँडै निको भएको सुन्न पाइयोस् । यसो भएमा देश अझ चाँडो विकसित हुनेछ । आजलाई यही कामना गरेर विदा लिनु राम्रो लाग्यो । फेरि भेटौँला ।
काठमाडौं । २०७१ फागुन ३०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’