सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कस्तो मान्छे ?

Nepal Telecom ad

एउटा कुराले हैरान पारिसक्यो भनेको के गर्ने होला खै ? जसले पनि देख्यो कि भेट्यो कि खालि ‘कस्तो मान्छे ?’ भन्छन् । अब कस्तो मान्छे भन्ने, मान्छेजस्तो मान्छे नि भनेर भन्दा नि हुँदै हुँदैन बा ! यही कुराले क्या टेन्सन भै सक्यो भन्या । जन्मेदेखि आजसम्म कसैले पनि यस्तो मान्छे भनेर पत्ता लगाउन सकेका छैनन् बुद्घिमा खडेरी प¥याहरू खालि अर्कालाई भन्छन् कस्तो मान्छे ?
आमाको पेटभित्रै बस्छु बाहिर आउँदिन नि बाबा भनेर बाहिर आउन नमान्दा नमान्दै पनि जबरजस्ती काँक्रो चिरेजस्तै आमाको पेट चिरेर बाहिर निकाल्ने डाक्टर नर्सले देख्नेबित्तिकै कस्तो मान्छे ? भनेर भन्न सुरु भएको यो ‘कस्तो मान्छे ?’ भन्ने ओलम्पिक म्याराथुनको मिटर चल्याचल्यै चल्याचल्यै छ भन्या । जबरजस्ती बाहिर निकाल्ने उनीहरूलाई पो थाहा हुनुपर्ने हो आफूले निकालेको मान्छे कस्तो हो भनेर, उसैलाई सोध्ने हो ? त्यति जाबो कुरो पनि नजान्ने खूब डाक्टर नर्स भैखाका ।
यस्तै प्रश्न सुन्दै एक दशक बितेपछि जन्मदाताको घैँटामा घाम लागेर हो वा किन हो कुन्नि पढ्न भनेर दाइदिदी पढ्ने स्कुलमा भर्ना गरिदिएपछि झन् धेरै वर्ष नलगाई एकैचोटि दाइदिदीसँगै बसेर उनीहरू जत्तिकै धेरै पढ्छु नर्सरीमा जान्न भन्दा छुच्चा टिचरले कस्तो मान्छे ? भन्दै तान्दै रुवाउँदै सिङाने भुरा पढ्ने नर्सरीमा पो लगेर थचारे बा ! कम्ता रिस उठ्याथ्यो र । रिसलाई मुस्किलले कन्ट्रोल गरेर लौ भैहाल्यो नि त ठीकै छ भनेर चित्त बुझाएँ ।
अलि ठूलो कक्षामा पुगेपछि गुरु बाउआमाले किताब कापी सफा राख्नुपर्छ केर्नु हुँदैन भनेर सिकाए । आफू परियो गुरुभक्त त्यसैले गुरु आज्ञा शिरोपर गरेर किताबलाई जतनसाथ दराजमा राखी ताल्चा मारेर कापीमा पनि केही नलेखी एकदम सफा राखी देखाको त कस्तो मान्छे ? भनेर उनीहरू नै पो भन्छन् ए ! महङ्गी छ घरमा बाआमालाई यसो मद्दत हुन्छ, आलु लड्डु लगिदिनु प¥यो भनेर ल्याको त देख्नासाथ उल्टै कस्तो मान्छे ? भनेर गाली पो गर्छन् बा, स्याबासी दिनु त कहाँ हो काँ ? जे गरे पनि सुख छैन हे दैव ! अब के गर्ने होला खै ?
पढेर नखाने मान्छेलाई अब जागिर ख्वाउनु प¥यो भनेर पिताश्रीले धेरै पापड बेलिस्यो जति बेलेनी जस्ताको तस्तै, ख्वाउन सक्या भए त मरी जानु । कस्तो हाँस उठ्दो कुरा, पढाइ, जागिर पनि खाने कुरा हुन् र खानु, पिज्जा, मम आदि खानेकुरा ख्वाको भपो कुुपुकुपु खानु त ! सबैले बुझेको त्यति सानो कुरा पनि नबुझ्नेले अर्कालाई किन कस्तो मान्छे ? भन्नु नि ! यति मात्रै कहाँ हो र, नयॉ जिन्स पाइन्टमा धारिलो पत्तीले चिरेर धुजाधुजा भएको जस्तै धुजिएको छ बटर केक भन्दा नरम यो दिल– कस्तो मान्छे ? भन्ने उत्तर विहीन् एउटै प्रश्नले । ल सुन्नुहोस् है त, अरु केही धुजा हु‘दाको व्यथाको कुरा ।
जन्मेदेखि नै आमौरीले ल्याक्टोजिनमै घोलेर ‘पाहुना भनेका देवता हुन्, उनर्को स्वागत् गर्नुपर्छ, राम्ररी ख्वाउनु प्याउनुपर्छ आदि इत्यादि भनेर घुट्टीमै पिलाकी थिन् । एक पटक कोही नपार घरको गोठालो मैलाई राखेर सबैजना मोज गर्न बाहिर गाका थे । त्यही टाइममा एकजना नचिनेको मान्छे मम्लाई खोज्दै आयो गेस्टजीलाई खूब आदर गरेर बैठकमा बसाली ख्वाएँ प्याएँ, उसले पनि बडो माया गरेर मिठाई खान दियो । अतिथिदेवको प्रसाद सम्झेर मुखमा हालेको त निद्रादेवीको अँगालोमा पो पुगिएछ । बाउआमाबाट कस्तो मान्छे ? भन्दै गालीका साथ चड्कन् चिउरा पाएपछि झल्याँस्स भएर नयन खोलेको त किमती सामान, सुन, पैसा आदि उपहार सम्झी लिएर पाहुनादेव त अन्तध्र्यान भै सकिसेछ । त्यसपछि मनमा, तनमा गाली र पिटाइका कति असिना बर्सिए, कति पसिनाका साथै अश्रुजल बर्सिए भनेरै साध्य छैन तर माताश्रीकै उपदेश मानेर अतिथि देवो भवः भनेर आदर सत्कार गर्दा के गल्ती भयो आजसम्म बुझ्न सक्या छैन । त्यसपछि अबदेखि नचिनेको मान्छेलाई घरमा आउन नदिनू भनेर पिताजीबाट आज्ञा भयो । हस् भनेर आज्ञाको पालना गर्दै आफूले नचिनेको एकजना मान्छेलाई घरभित्र पस्न नदेको त उल्टै कस्तो मान्छे ? मेरो साथीलाई किन घरमा आउन नदेको भनेर पो गाली खानु प¥यो । क्या फसाद ! यसो गर्दा नि हुँदैन उसो गर्दा नि हँुदैन भन्या, अब के गर्ने होला लौ न बाबा ठाकुरे ! के गरौँ ? !
त्यस्तै एक पटक बाउले हजामकहाँ गएर कपाल काटेर आ भनेर अराए । लुरुलुरु गएँ । हजामले कस्तो कति काट्ने भनेर सोध्यो, बाउले यस्तो उस्तो केही भन्या थेनन् । त्यसैले काट्नै पठाका हुन् क्यार घरिघरी कति काट्नु, एकै पटक काटे पैसा पनि जोगिने भन्ने ठानेर जरैदेखि काटेर आज त पक्कै यस्तो दूरदर्शिताको प्रसंशा होला भनेर पकौडे नाकलाई फुलाउँदै मक्ख परेर आको त देख्नासाथ आफ्नै मरुभूमिजस्तो टाउकोमा हात बजार्दै हरे शिव कस्तो मान्छे ? पो भन्छन् ए बाउ त !
एकदिन महातारी बाथरुममा जलविहार गरिरहेको बेला भिक्षुकको आगमन भयो । घरमा अरु कोही नभएकाले आफ्नो कार्यमा बाधा नपार्ने मनसायले भिक्षुकलाई चामल दे भन्ने आदेश भयो । सकिनसकी चामलको बोरा घिसार्दै लगेर दिनासाथ आशीर्वाद प्रदान गर्दै भिक्षुक कुलेलम ठोकी अदृश्य भए । आफूभने दङ्ग पर्दै आहा ! आज त यस्तो राम्रो काम गरेकाले पक्कै मम्बाट स्याबासी र इनाम पाइने भो भन्ठानेको त कहाँको स्याबासी र इनाम पाउनु नि, उल्टै कस्तो मान्छे ? भन्दै ज्वालामुखी बनेर पो फुटिस्यो भन्या । ल तपाईं नै भन्नुस् त आज्ञाकारी भएर आज्ञाको पालना गर्दा नि यसरी हप्किदप्की गर्नुहुन्छ त कहीँ ?
कसैलाई भेट्दा वा कसैकाँ जाँदा खुसी हुनुपर्छ, हाँस्नुपर्छ भनेर सबैले सिकाका थे घरमा । एकदिन सबैजना मामाघर गाका थ्यौँ । त्यहॉ सबैजना रोइरहेका थिए, घरमा सधैँ पाइने अर्ती सम्झिँदै बडो खुसी भएर हाँस्तै दैलोभित्र छिरेको त मामा मर्दा पनि हाँस्ने कस्तो मान्छे ? भन्दै गाली पो गर्छन् बा सबैजना ।
सधैँ सबैले बोल्नु अगाडि गम खानुपर्छ अनि मात्र बोल्नुपर्छ भनेर सिकाउँथे तैपनि मैले कहिल्यै गम खाएर बोल्या थिएन । पक्कै पनि मैले बोल्नु अगाडि गम नखाएकाले नै सधैँं गाली खानु परेको होला भन्ने विचार गरेर आज चाहिँ गम खाएर मात्रै बोल्छु भन्ने सोचेर एकपटक एक ट्यूब गम खाएको त मेरी बाबै काँको बोल्न सक्नु नि, उल्टै दुबै ओठ टाँसिएर क्या आपत् ! घरमा अरुले थाहा पाएपछि झन् बढी गाली गर्दै कस्तो मान्छे ? गम पनि खाने हो भन्दै हस्पिटल पो दौडाए भन्या ।
जे गर्दा नि जसो गर्दा नि सधैँ उनीहरूको कर्कलोबारी फाँडे जसरी गाली मात्र पाएपछि यसै नहुने उसै नहुने लौ त अब झुण्डिएर मर्दिन्छु भन्ने सोचेर पासो लाउनलाई नरम घाँटीमा नबिजाउने आमाको रेशमको सारी खोज्दाखोज्दा नभेटेपछि हत्तु भएर अब भएन आमासँगै माग्नु परयो भनेर मागेको त मेरा बाबै नि आमाले त कस्तो मान्छे ? भन्दै झण्डै नमारेकी नि ए गाँठे !
हे राम ! जसरी नि सुख भएन, यो कस्तो मान्छे ? भन्ने जन्मजात प्रश्नले ज्यान गए छोडेन, अब के गर्ने होला खै ? यदि तपाईंलाई कस्तो मान्छे ? भन्ने प्रश्नको गूढ ज्ञान प्राप्त छ भने लौ न दीक्षा दिएर शिष्य बनाउने कृपा गरिबक्सियोस् प्रभु ! कहीँ तपाईं पनि कस्तो मान्छे पो हो कि न ? हैन है ?
भाटभटेनी, काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दसैँ आयो रे !

दसैँ आयो रे !

सुमी लोहनी
डाक्’साप

डाक्’साप

सुमी लोहनी
माछो ! माछो ! चेपागाँडो !

माछो ! माछो !...

सुमी लोहनी