एकाबिहानै बिहाको निम्तो कार्ड आयो । कार्डको कलात्मकतातर्फ मेरो आँखा गयो । आँखापछि मन र त्यसपछि लागत धनको लेखाजोखा भयो । कपिल दाइले हर्षमिश्रित मुद्रामा कुरो कोट्याए– “हैन यो कार्ड नै यस्तो कमालको छ, सम्मेलन केन्द्रमा हुने भोज त झन् काइदाकै होला है ?”

भोज भनेपछि भूतुक्कै हुने र भातसात नखाई, सात काम छोडेर समयमै पुग्ने कपिल दाइको बानी छ । त्यसैले उनले के सोचे कुन्नि ! म भने कार्डकै हरहिसाबमा हराउन थालेँ । उति नै खेर उनै गनपतिका छोरा मनपतिको बिहेको सम्झना आयो । ऊ बेला हुँदा खानेहरू बिहेबटुल र भोजभत्तेरको निम्तो मरिच दिएर गर्थे । हुनेखानेहरू सुपारीका कुड्का बाँड्थे । एक दिन भए पनि एक प्रकारको स्वाद सुरुमै पाइन्थ्यो । मनपतिको बिहेको निम्तो पनि मरिचै पाइयाथ्यो र खाइयाथ्यो । यो कार्डमा खर्च गर्ने पैसाले त्यस्तै केही खाने कुरा किन्या भा’ कति खाइन्थ्यो होला । हरे शिव ! हेर नाश पैसाको ।

बिहेका दिन पन्चैबाजा बजाउँदै जन्तीहरू बरियाँत लिएर आए । पन्चैबाजासँगै गैरी गाउँका च्यान्टे दाइले जुल्फी लर्काईलर्काई टोपी थापेर पैसा माग्दै नाचेको सम्झना ताजै छ–
“काँको दर्जी भनौला बिस्ट, गैरी गाउँको च्यान्टे मा भुन्टे, आ है लरीबरी आहै...आहै...

घरमुनिको ठूलो बारीको पाटामा भतेर पाक्यो । बलराम बडाबाले लस्करै बसाए । बसेका आधा घन्टैमा रित्ता टपरीहरू टुप्लुक्क आफ्ना अघिल्तिर आइपुगे । त्यसको एक घन्टा बित्नै नपाई भान्सेहरू थुन्सेमा भात बोकेर बाँड्दै आए । अरूहरू ककसको केके भयो थाहा छैन । मेरो भने भान्सेले सिधै भएर झारिदिएको भातको डल्लो टपरीका बिटमा पर्यो । “मसान बुझाउँदा दोबाटोमा टपरीले मूर्ति छोपेझैँ” टपरी पल्टिएर भातलाई छोप्यो । लौ न नि के गर्ने ? भनेर भन्नै नपाई भान्से दाइले टिप टिप केही भएको छैन भनिहाले । मैले पनि हतारहतार टिपेर गामगुम मुसेँ । साँच्चिकै केही भएको रैनछ । त्यो मुला ढुङ्गोमाटो त मुछ्दा मुछ्दै कता पुग्यो कता । केही छिनपछि झोलको बाल्टी आयो । मेरो टपरीमा पनि अलिकति घुर्मैलोघुर्मैलो झोल पर्यो । टपरी उठाएर यसो हेरेँ खडेरीले भगरभट्ट भएको माटोको डल्लो अलिकति भए पनि सिञ्चित भएछ ।

त्यसपछि खेपीपन्द्रेक चिच्याएँ होला झोल झोल... भनेर । हुलमुलमा मेरो कुरो हावामै उड्यो । खाएँ कि खाइनँ त्योचाहिँ त्यति सम्झना छैन । तर खोजीनिती गर्ने साथीलाई गज्जबले भन्दिएँ– खाएँ बुझिस् ? मेरो भागमा त एउटा चोक्टो पनि पर्याथ्यो बाई ! भनेर ।

भाग्य भन्ने कुरा कसले भन्न सक्छ ? बिचरा ! गनपतिका छोरा मनपतिले भन्सारमा जागिर खाए । आफ्नै मान्छे उँभो हुनाले उनी भन्सार टु भन्सार भए । बरा उनले कहिल्यै अर्को संसार देख्न पाएनन् । उनी असाध्यै इमानदार थिए । रातदिन नभनी हुनेनहुने सबैका सबै काम गरिदिए । घुसलाई उनले गोरुले खाने भुससरह सम्झे । भ्रष्टाचार कहिल्यै गरेनन् । बरु फस्टआचार गरे । अप्ठ्यारामा परेकाहरूको अड्को फुकाए । उनको त्यो फस्टआचारकै परिणामस्वरूप आज नेतामन्त्री र राजनेतासमेतलाई भोजमा बोलाएर त्रिपन्ताम भोज खुवाउने भए ।

वास्तवमै भोजभतेर भन्ने कुरो निक्कै पावरफुल हुन्छ । सबैलाई आआफ्नै तरिकाले भोजको आकर्षणले तान्छ । भुक्के चप्पल पड्काउँदै जजमानीमा जाँगर चलाउने पुरेतबा हुन् या बुढ्यौलीले चल्ली भासिएर चालमा मन्दी आएका चिलिमे हजुरबा हुन् । सिँगान पुछ्न नसक्ने नानीहरू हुन् या दानवीरमा नाम दर्ता भएका दानीहरू हुन् । नाम कमाएका नेताहरू हुन् या दाम कमाइरहेका अभिनेताहरू हुन् । सबैलाई समान रूपले तान्छ भोजले । भतेरबाट भोज हुँदै बडा पोजसँग पार्टीमा प्रवेश ग¥यो यसले । त्यसैले त्यस्ता नाथे लोकतन्त्रसन्त्रको जेसुकै होस् तर भोजतन्त्रको चाहिँ सदासदा जय नै होस् । है !
काठमाडौं