सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

व्यापार तस्मै नमः

Nepal Telecom ad

बोली नम्र छ बस्तछन् ती पसले तातो गरी आसन
मर्यादा सबमा बराबर दिने मीठो छ सम्भाषण
टक्र्याऊँ कति के भनेर मुखले चिप्लो घसी हर्दिन
मीठो बोल्न सदा यिनै निपुण छन् व्यापार तस्मै नमः ।

हेर्दा ग्राहक झट्ट जान्दछ उही कस्तो छ उस्को खुबी
खुद्रा किन्न गयो भने पसलमा क्यै मोल चर्को गरी
सामग्री बहुतै खरिद गरला भन्ने बुझे मन्मन
तैयारी गरिदिन्छ आसन उठी व्यापार तस्मै नमः ।

देखे ग्राहक त्यो रवाफी बहुतै बट्टा झिकी सूर्यको
खोली झट्ट लगी अगाडि पहिले तेर्स्याउने गर्छ त्यो
पाई मान र सान ग्राहक पनि झिक्दै भलाद्मीपन
पञ्जामा फसी फुक्छ धूम मुखले व्यापार तस्मै नमः ।

लाग्यो ग्राहक चीज किन्न पसले ज्यादै निठूरी बनी
मौकामा बनी ‘सिस्न’ झैं अति कडा सामानको मोल ली
हाली दिन्छ र ब्यागमा खुशी हुँदै क्या नम्र भै झन्झन
फेरि पाल्नुहवस् न ! भन्छ मुखले व्यापार तस्मै नमः ।

आफ्नो स्वार्थ पूरा गराउन सदा हाँसेर बोल्ने यिनै
के के मिल्दछ फायदाजनकका सामग्री भन्दै सधैं
पत्ता लाउन एक नम्बर यी छन् व्यापारी व्यापारीमा
विश्वासी बहुतै बनेर बसने व्यापार तस्मै नमः ।

हिँड्छन् देश–विदेशमा घुमीघुमी व्यापारी साहु सबै
केही कामहरू अरू नगरी क्यै बस्छन् हमेसा यिनै
छोरा छोरी बुहारि काम नगरी बस्छन् सधैं के कम
लक्ष्मी हुन् कि त स्वर्गका यी परी हुन् व्यापार तस्मै नमः ।

आए किन्न ठुला–बडा पसलमा भन्ने बुझेमा यिनै
आफ्नो स्वार्थ पट्याउने नियतले बन्दै खुशी मन्मनै
सस्तोमा हरचीज दिन्छ अनि क्यै सौगात राखीकन
यो कोशेली हजूरमा भनी दिने व्यापार तस्मै नमः ।

बच्चा–बच्चि र श्रीमतिसँग लिइ मन्त्रीहरू आउँदा
यो सौगात भनेर दिन्छ सुनको सिक्री घडी सर्वदा
मन्त्राणी अति हर्ष–गद्गद बनी जान्छिन् पतिका सँग
अर्बौं अर्ब कमाउने सुर कस्यो व्यापार तस्मै नमः ।

मन्त्राणी अनि मन्त्रीलाई र अरू उन्का सबै सन्तति–
लाई चङ्गुलमा घुमाउँछ हरे ! क्यै सम्पति खर्चिई
मौकामा गरी टेलिफोन घरमै मन्त्री झिकाइ कन
कोटा लिन्छ गराइ स्वीकृत सबै व्यापार तस्मै नमः ।

सामग्री परदेशमा ती जति छन् नाफा हवस् बेसरी
आफ्ना ती जनता र देश प्रति नै धोखा हवस् तापनि
ल्याई बिक्री गरी कमाउन भनी आफ्ना सबै तन्मन
गर्छन् अर्पण बेसरी सब मिली व्यापार तस्मै नमः ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे