सामान्य परिचय
नर वा बानर के हुन् मलाई नसोध्दा हुन्छ, मैले त अनाथ हैन नरका पनि नाथ जानेर उनले जे जे भन्छन् मानेर उनकै शब्दमा “छेपन छिन्केर छाँटा छुट्याई दिने” काम गर्दै आएको हुँ । अहिलेका बाङ्गा लेखन्तेमध्ये ‘व्यङ्ग्य–हास्यको झोली खोली लुइँ लुइँ आका’ र बेलाबखत आफूभन्दा अग्गा ठानेर हामीसँग भाका मिलाउने काम गरेका ‘जुँगेकाजी’ विशिष्ट चम्चा–चिन्तक हुन् । अरु चिन्तकहरू चरु होम्ने शास्त्रदेखि शस्त्रास्त्रसम्मका बडेबडे विद्याका पण्डित बनेका छन् तर उनी भने हाम्रो भात–भान्साको सानो औजार चम्चाका बारेमा चिन्तन–मनन गर्ने चम्चे बन्न पुगे । राकुपाको शब्दसापटी लिएर भन्दा– “हावादारी ठालुको तालुमा नक गर्दै दनक दिन सिपालु” नरनाथ लुइँटेलको लेखन– “व्यङ्ग्यले ठोकेर आँखा रुने, हास्यले सेकेर मुख उज्यालो हुने” चमत्कारका छन् । (चम्चाचिन्तनको भूमिका, रामकुमार पाँडे, पृ.२) यिनी नन्दलालका नाति भए पनि, पवित्राले तारा हेर्दै भोजपुरमा जन्माएका झापाली हुन् । एम.ए. नेपालीमा सकेका छन् । यी “जुन बेला जे आइपर्छ त्यही” पेशा वा जागीर गर्छन् । यही विशेषता जस्तै “जहाँ पुग्यो त्यहीं फस्ने अथवा बस्ने” बानी व्यहोरा नभए पनि धादिङतिर माष्टर हुँदा त्यतैकी एउटी विमला नाम गरेकी नानीसँग बत्तीस रुपियाँमा भूमिगत बिहे गरे । यिनको लेखाईको आरम्भ ‘छेपन’बाट शुरु भयो र ‘सिंङ न पुच्छर’ हुँदै ‘चम्चा चिन्तन’ सम्म आइपुगेको छ । आफ्ना सन्तानको गौरव गरे पनि गरिमा जोगाएर राख्न नसक्ने स्थिति छ । त्यसो भएर नै उनले गीत–सङ्गीतको साधना बिना नै “कमैया मुक्तिको गीत” पनि गाएका छन् र ‘विरसा हास्यव्यङ्ग्य लेखन पुरस्कार’ पनि पाएका छन् ।

लेखनको लख
प्रत्येक मान्छेका आ–आफ्ना लखहरू हुन्छन् । कुनै कामका बारेमा, कुनै घटनाका बारेमा र कुनै व्यक्तिका बारेमा समेत व्याप्त रहने यस्तो लखलाई सोच, दृष्टिकोण र विचार मानिन्छ । हुन त लख एक प्रकारको अनुमान पनि हो तर व्यापक अर्थमा शीरदेखि छाड्ने विशेष तीर भएको हुँदा दृष्टिकोण पनि भन्न सकिन्छ । लेख्दा लिने लालमोहन अथवा खजुरी जे भने पनि विषयवस्तुमै तथास्तु नगरीकन गहना–गुरियाले सिंगारेर देखाउने सिपसँगै यसको सम्बन्ध रहन्छ । प्रगतिवादीहरूले अन्तरवस्तु र रूपको एकता खोज्दा हेर्ने भनेकै लेखनको लख हो भन्दा फरक पर्दैन । लुइँटेलको ‘चम्चा चिन्तन’ जो छ त्यो हाम्रो समाजको सडलपडल वस्तु हो । काठमाण्डूको फोहोर मैलामा जसरी सिंगै, सग्लै र ज्यूँदै मनुष्यसमेत फेला पर्छ त्यस्तै उनको लेखनको सामाजिक विषयवस्तुमा नेपाली समाजको सिङ्गो यथार्थ भेटिन्छ । राजनीति खोज्नेले राजनीति पाउँछ, साहित्य खोज्नेले साहित्य पाउँछ । कर्मचारीको मन–तन्त्रदेखि व्यापारीको धनतन्त्रसम्म, पत्रकारको पत्रु–आचारदेखि नेता–नेतीको कुविचारसम्म, माष्टरको सूर्तिबोधदेखि विद्यार्थीको माष्टर गोदसम्म जता जुन कुनातिर रहेको विषय हेरौं उनले त्यसभित्र के छ आफ्नो ‘मनोमिटर’ले जाँचेर ठ्याक्कै बताउँछन् । ‘चम्चा चिन्तन’ चहार्ने जीवेन्द्रको बोलीमा भन्दा– “समाजका छेपारे प्रवृत्ति, चम्चे संस्कृति र जँडयाहा मतिलाई सिस्नोपानी” लगाउँछन् । जुँगेकाजीको लेखन सुधारवादको सीमा नाघ्न हौस्याउने खालका छन् । उनको लखको सीमा फराक छ । प्रगतिशीलताको आँगन नाघेर प्रगतिवादको मैदानतर्फ लम्कनु उनको विशेषता हो ।
हास्यव्यङ्ग्यलाई ‘रसराज’ भन्ने राकुपाले उनलाई हौस्याउँदै चाकुखा भनेर लेखेको पाँडेकुरामा “हास्यव्यङ्ग्यले विधाको वैशाखीबाट स्वायत्तता प्राप्त गरिसकेको छ ।” भने बमोजिम नरनाथले यसलाई लेखनको सर्वविधाव्यापी– विशिष्ट शैली स्वीकार्छन् । कवितामा उतार्छन्, निबन्धमा कुदाउँछन् । कथा र उपन्यास तर्फ कमै हिंडेको हुँदा उनी यिनमा झण्डै भेटिन्नन् । ससुरालीमा सासु नभए पनि सिर्जनामा ससुरा लिएर आएका नरनाथको लेखाई सरल सुस्पष्ट र राम्रो छ । रसिला पोटिला छन् र निकै चोटिला पनि छन् । यी कुराहरू ‘चम्चा चिन्तन’ चहार्दा भेटिएका शीला हुन् । उनको लेखकीय व्यक्तित्वको समग्रता नियाल्दा थप तथ्य भेटिने कुरा पक्का छ । अझ व्यङ्ग्यकै बिटाहरूमा पनि थरीथरिका खरी ढुङ्गाहरू छरिएर रहेका छन् जसबाट सुन्दर ‘फा’ फेला पार्न सकिन्छ । जनताको मतको तोङ्वा तान्नेहरूप्रति जति घृणा छ त्यति नै पुराना र नयाँ बन्दुके–काजीप्रति घृणा छ । ‘एक आठ अठार, कुरा कानी मठार’ गरेर सङ्कलन आएको छ ।

सङ्ग्रहभित्रका सिर्जनाहरू
पाँडेकुराबाट परिशिष्टसम्मको फन्कोमा ‘चम्चा चिन्तन’ खडा छ । ‘आतङ्क अध्याय’ आरम्भ भए जस्तै ‘बन्दुकाय नामोनमः’ अन्त्य बनाइएको छ । मेसोले होस् वा बिनामेसै उनको त्राहीमाम् त्यसरी नै व्यक्त भएको छ र सिरानीतिर होइन पुछारतिर पुगेपछि मात्र विशिष्ट ‘चम्चा– चिन्तन’ फुरेको छ । त्यही रचनाबाट पुस्तक सङ्ग्रहको नाम जुरेको छ । उनलाई “जुत्ता दर्शन” भन्दा “चम्चा चिन्तन” राम्रो लागेकाले नै त्यसो भएको हुनुपर्छ । त्यसो त ‘छेपाराको रङ’, ‘ऐजेरु महात्म्य’ र ‘मनोमिटर’ पनि हिटर जस्तै ताता र टमाटर जस्तै राता छन् । ‘चस्मा चमत्कार’ र ‘बोका बिक्रिमा छ’ सूचनापाटीमा राख्न नालायक भन्ने होइन तर किन हो कुन्नि ‘चम्चा चिन्तन’ नै उपयुक्त ठाने । अघिल्लो रचना सङ्ग्रहको नाम अग्रजका पुस्तकको चोरी गरेका जुँगेकाजीले यस सङ्ग्रहमा त्यो बानी सुधारेको जानकारी दिएका छन् । यसका लागि उनलाई धन्यवाद दिंदा बेशै हुन्छ ।
‘आतङ्क अध्याय’मा उनले दारु आतङ्क र भारु आतङ्क, भोलि– आतङ्क, बोली आतङ््क र नानी आतङ्क (यसलाई उनले एड्स भने) हल्ला आतङ्क र गल्ला आतङ्क, राजाराम आतङ्क र बाबुराम आतङ्क जस्ता परस्परका प्रतिस्पर्धा जस्ता लाग्ने आतङ्कको चर्चा गरेका छन् । बन्द आतङ्क र दुर्गन्ध आतङ्क जस्ताको चर्चा गर्र्दा, बोलीको लोली मिलाउँदा एउटा कुरालाई दुईटा झै मानेर दोहो¥याएका पनि छन् । नेरु आतङ्क र भारु आतङ्कलाई ठीकस‘ग व्याख्ख्या गर्न विफल छन् । यसलाई नेपाल रुचाउने र भारत रुचाउनेको आतङ्कका अर्थमा उल्लेख गरेको भए राम्रो हुन्थ्यो । छेपारो रङ एक र दुईमा विभक्त छ त्यसलाई माले एमालेको एकीकरण जस्तै विलयनमा गलाई दिनु राम्रो हुन्थ्यो । विषयवस्तु भने बहुत हिस्सी परेको छ, लेखाइको शिल्पमा पनि खोट लगाउने ठाउँ छैन । खोटै खोज्नेका निम्ति त चोटै नलागेको भए पनि घा–जाँच गर्ने डाक्टर पाइन्छ । जुँगेको ठहर छ– “छेपारे प्रवृत्ति आजको हाम्रो मौलिक संस्कृति हो ।” तर कुन ? घोंचो समाउने पक्षमा कि रङ् बदल्ने ? भन्ने सवाललाई सिङ्गै रचना पढेपछि मात्र ठह¥याउन सकिन्छ । एकमा अभिव्यक्त भाव त्यसकै पुछारको दफामा आइपुग्दा बाझिएको छ भने दुईमा त्यसलाई केही माझिएको छ । सबै छेपारा भन्ने निष्कर्ष मिल्दैन । सर्पको चर्चासँगै छ । रङ नबदलेर काँचुली फेर्ने सर्पलाई के भन्ने ?

राजिनामाको उत्पात खासै छैन । नाक जोगाउन, धाक जमाउन, अपराध जोगाउन, भाँडभैलो मच्चाउन र घुर्की लगाउन गरिने राजीनामामध्ये पछिल्लो अलि बढी प्रचलनमा देखिएको छ । तर त्यस्तालाई तुरुन्तै स्वीकृत गर्ने हो भने आफैँ रोई हिन्न थाल्छन् यसमा कुनै शङ्का छैन । साँच्चिकै छोडपत्रको परम्परा त हाम्रो देशमा शुरु भएकै छैन । ‘चस्माको चमत्कार’ राम्रो भएर पनि थोरैको मात्र उल्लेख भयो ‘मौसमी चस्मा’ जस्तो महत्वपूर्ण एवं रङ्ग बदल्ने खूबीवाललाई छुटाउनु हुँदैनथ्यो । यद्यपि खोलको कुरा गर्दा सिङ्गै मान्छे त खोलभित्र बसेका पाइन्छन् भने एउटा अङ्ग आँखाका बारे के गनगन गर्नु ? तर यसो भन्न सकिंदैन, आँखाकै भरमा मान्छेले दाम, काम, नाम ठाम सब चिन्छ खुट्याउँछ । शब्दकलाको कारीगरीमा अलङ्कार पहिरेर आएको यो निबन्धले अनुप्रासलाई राम्रोसँग प्रयोग गरेको छ– “यसरी खोल हालेर गोल गर्ने षडयन्त्रमा सगोलका दाजुभाइहरू टोल–टोलदेखि खगोलसम्म दिमागलाई नै गोल बनाएर लागि परेका छन् । ( नरनाथ लुइँटेल, चम्चा चिन्तन, जुँगा प्रकाशन काठमाडौं, २०५५, पृ.१५ ।

‘गाईजात्राको जात्रा’ जम्बो मन्त्रिमण्डल बनाउने पार्टीलाई सिस्नु हान्ने काम गर्दै महँगीको मारमाथि खनिएको छ । डा.प्रा.हरू प्राडो गाडीको प्रचलन बढेपछि प्रा.डा.मा फेरिएका छन् । यसमा उनको ऊ खुस्क्यो । परीक्षा नियन्त्रण कार्यालयको कामै नियन्त्रण गर्नु भएको हुँदा त्यसबाट योग्यता जाँजबूझ होला भन्ने आशा नराखे हुन्छ । लैङ्गिक समानताको युगमा धेरथोर गल्ती भए पनि खासै फरक नपर्ला । प्रधानमन्त्री उद्दारकोष जस्तै मन्त्री उद्दारकोष, सचिव उद्दारकोष र हाकीम उद्दार परियोजनाहरू सञ्चालन भइरहेको बखत ‘बाढ पीडित राहत कोष’ बन्ने कुरै होइन । त्यसकारण गाईजात्राको गुनासो गर्नुभन्दा मुलुक र मुलुकबासीको गाईजात्रा गराउने सठ्ठहरूको घाँटी चट्ट सनासोले समाउने उपाय गर्नुपर्ला । यिनीहरू नै हाम्रो मुलुकमाथि लागेका ऐंजेरुहरू पनि हुन् । ऐंजेरु सबै ठाउँतिर फैलिएको छ । टुप्पो र हाँगाबिंगामा ऐंजेरु लागेको फेंद खोक्रिएर खतम भएको रुखलाई छप्टेर हैन ढलाएर फलेक बनाउनु पो पर्ला जस्तो छ । तर बन्चरो वनको चरो हो या काठ काट्ने औजार अझै थाहा नभै सकेको हुँ‘दा ह्याऊ र हिम्मत कसको छ भनी बोल्न अझै बेला भएको छैन जस्तो छ ।

मानवाधिकार नभएर धिक्कार मानव भन्ने ध्वन्यात्मक भावको शीर्षकभित्र मान्छेको नृसंशता तौलने प्रयाश गरिएको छ । मानवीयपन धनमा अडेका बेला पढेका हुन् वा चढेका, बढेका हुन् वा लडेका सबका सबले मान्छेकै घोंडा चढेर आफ्नो पौरख देखाउन चाहन्छन् । युद्धका वीरले होस् अथवा योद्धाका तीरले गर्ने काम यौटै छ– मान्छे मार्नु र रगतको पोखरी तयार गर्नु । फेरि यो मनुष्यको जुनी जुन छ नि त्यो जति हिंसालु अरु कुनै प्राणी हुन्छ जस्तो लाग्दैन । बाघले बरु एक पटकमा एउटा मात्र शिकार गर्छ मान्छेले त एक पटकमै हजारौं हजार मान्छेको शिकार गरेका दुखान्त र विभत्स घटनाहरू पृथ्वीमा देखिएकै सत्य हो । त्यसैले सामाजिक सेवाको खोल हाले पनि शिवबुटीको झोल हाले पनि मानव अधिकारको गफ बलिया बाङ्गाका मनपरीलाई सिंगार्ने सिरफूल हो जहाँ लाखौं दुर्बलका हाडखोरले सुन्दर बुट्टाहरू कुदिंएका छन् । उनीहरूलाई जुत्ता बनाएर रगेडिएको छ । ‘जुत्ता दर्शन’ जो छ त्यसले मान्छेको त्यही वर्गीय शोषण र दोहनको विरुद्धमा उठ्नुपर्ने खाँचो दर्शाउँछ । ‘जाँडभिजन’ पूँजीवादले ल्याएको आधुनिक विलास हो जो गिलासमा मात्र हैन दिमागमा समेत खन्याउने काम गरिंदै छ । चुरोट र रक्सीको विज्ञापनसँगै सूचनाको स्वतन्त्र अधिकारमाथि अतिक्रमण गरेर समाचारको बीचमा बहुराष्ट्रिय कम्पनिका उत्पादनको प्रचार गरिन्छ । त्यसैले त्यसको नाम जाँडभिजन, गाँडभिजन वा साँडभिजन र राँडभिजन राखे पनि केही फरक पर्दैन । राजनीतिमा अपराधीकरण बढेको चित्र कोर्छ ‘सभक्तीकरण’ ले । ‘भेंडियाम्यान’ मेडियाम्यानको आधुनिक, अझ भनांै उत्तरआधुनिक संस्करण हो । ‘क माने कुर्सी’ को मोहमा आफू स्वयं नपरेका गणेशमानले पनि आफ्ना परिवारका निम्ति त्यसको चाहना राखेको रमाइलो घटना हाम्रै देशको इतिहासमा छँदैछ । अझ त्यसमथि काङ्ग्रेस नामधारी तत्व त कुर्चीको लीसो नै देखापर्र्यो । त्यसैले जँुगेकाजी उर्फ नरनाथ लुइँटेल ठीकै भन्छन्– “काङ्ग्रेस कुर्चीमा उक्लिनासाथ प्रजातन्त्रमाथिका सारा खतरा आफैं टर्छन् ।” (चम्चा चिन्तन, पृ.४३)

‘चम्चा चिन्तन’ जसको शीर्षक सिङ्गै सङ्ग्रहको नाम पनि हो । यो निबन्धले नेपालको सन्दर्भमा मात्र एक्काइसौंं शताब्दीलाई हेर्न पुगेको छ । सामन्ती चालचलनले हुर्काएको चाचुचालाई पूँजीको प्रभुत्वले थिचेको वर्तमानको स्वीकारोक्ति बुझ्दैन । आधुनिकताको खोलभित्र रहेको व्यक्तिवाद होस् वा मानवताको मकुण्डोभित्र लुकेको वर्गवाद होस् त्यसको बिऊ पुरानै हो । काँटा– चम्चाको जुगमा केही ठाउँमा छेस्का र केही ठाउँमा चिम्टा–छुरीले पनि त्यसको कार्यभार बहन गरेका हुन्छन् । छेस्का नेपाली शब्द हो र त्यसले यतिखेर बाँसका चपास्टिकलाई पो चिनाउँछ । मुलुक “चम्चामण्डलीको टुँडीखेल” बनेका बेला खतुकी र बेतुकी काम कुरा हुनु अनौठो हैन । कुरा ठीक छ तर छेस्काहरूको छुस्के प्रवृत्ति र चम्चे प्रवृत्तिलाई कम देख्नु हुँदैन । अलिकता भए पनि हाम्रो समाज भाँड्ने छेस्केहरूको उल्लेख भैदिएको भए वेश हुन्थ्यो भन्ने अपेक्षा किन नगर्ने ? जहाँसम्म किचेन– क्याबिनेटको कुरा छ त्यसलाई कसैले माया सरकार वा छायाँ सरकार र कसैले ‘चम्चा–मन्त्री मण्डल’ पनि भन्दै आएका छन् भनेर जनाऊसम्म दिनु उचितै हुने थियो । परन्तु किचेन क्या–बिनेटका सामान भने रमाइलैसँग प्रस्तुत भएको पाइयो । चण्डाल चौकडीका रूपमा रहेको चम्चे डफ्फाको विशिष्ट भूमिका प्रताडित जो केहीलाई पनि यो मीठो लाग्दछ । ‘मनोमिटर’ पढ्दा भैरुकाकाको ‘पच्चीसौं शताब्दी अङ्गप्रत्यङ्गमा.’ संम्झाइ ल्याउँछ । परिकल्पनाकार बनाउँछ । ‘वार्ताप्रकरण’ भन्नासाथ दुईलाई एक बनाउने अथवा सम्झौतामा ल्याउने खेल भन्दा फरक पर्दैन । खेलका अन्तिम खेलाडी बीच हारजीत जे जस्तो भए पनि मान सम्मान र दाम काममा– ‘भागशान्ति जयहोस्’ चलिहाल्छ । ‘बोका विक्रिमा छ’– भन्ने सूचना पढेर कति खरिदकर्ता वा फौबञ्जारले सम्पर्क गरे ? कति किनबेच भयो ? जिज्ञासा यथावत् छ । नेपाली राजनीतिमा बोकाको राइँदाई चलेको छ । यसले उत्पादन घटाएर आर्थिक–मन्दी छाएको हुँदा ‘बन्दुकायै नमोनमः’ भनेर सङ्ग्रह सिद्धिन्छ ।

सङ्क्षेपीकृत निष्कर्ष
निरन्तर लेख्दै जानुपर्छ, लेखाईको पारो चढ्दै माथि पुग्ने पक्का छ । जसै लेखाई माथि–माथि जान थाल्छ तसै लेखुवालाई कालचक्रले लखेट्न थाल्छ र छोपेर कहाँ फाल्छ ? अहिलेसम्म थाह हुन सकेको छैन । त्यसले छोप्न नसक्ने राम्रो खजाना हो– चम्चा चिन्तन ।

(२०५८।१२।२४)