सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो बोर्डिङमा पढेको छोरो

Nepal Telecom ad

म आफू गुरुकुल परम्पराको उत्पादन हुँ । त्यसैले मैले गुरुकुलमा पढ्ने विद्यार्थीका चेहरामा तक्षशिला देख्छु । त्यहाँका विद्यार्थीहरूमा आचार्य चाणक्यको प्रतिविम्ब भेट्छु । हिजोआज खुलेका बोर्डिङ स्कुलहरू त्यस्तै तक्षशिला विश्वविद्यालयका प्रारूप हुन् भन्ने ठान्दछु । त्यसै ठम्याइले होला मलाई छोरो टुकुटुकु हिँड्न पनि नसक्ने अवस्थामा नै आवासीय विद्यालयमा पढ्न पठाउन उत्प्रेरित गरिरहेको थियो ।

त्यसो त छोरालाई बोर्डिङ स्कुल पढाउँदा मलाई दोहोरो फाइदा थियो । एकातिर उसलाई हेरचाह गर्नका लागि घरमा अर्को कुरुवा राख्नु पर्दैनथ्यो भने अर्कातिर उसकी आमा चाँडै बूढी पनि हुँदैनथी । सदाबहार स्वास्नी पाएपछि कुनचाहिँ पत्नीप्रेमी पोइ प्रसन्न हुँदैन र ?, कतिपय ममतामयी महतारीहरूले छोराछोरीलाई जति स्तन चुसायो उति नै चाँडै आफू बूढी भइन्छ भनेर स्तनपायी सन्ततिलाई नर्सरीतिर पठाउँछन् रे भन्ने किंवदन्ती मैले सुन्दै आएको हुँ । त्यसैले म विवेकी पति भएको नाताले मेरी पत्नीको चिरयौवना बनिरहने अव्यक्त माग पनि मैले पूरा गरेको हुँ ।

मैले जुन गुरुकुल आश्रममा बसेर प्राच्यभाषा सिकेँ र त्यसै भाषामा लेखिएका कुरा पढेँ, तर त्यस पढाइले मलाई फाइदा भएन, अझ यसो भनूँँ त्यो पढाइ मेरा लागि उति कामयाब भएन । विद्या अर्थकरी भएन भने त्यो विद्या हिन्दूहरूका लागि बाँझी गाईजस्तै हुन्छ रे । न मासु खानु, न त दूध नै घुट्क्याउनु । गाई त दुःख दिने भाइजस्तै पो हुन्छ रे । त्यसैले मैले छोरालाई मासु र दूध सबै कुरा पूरा गर्ने विद्या पढाएँ । ‘गाई खाने विद्या पढ्ने’ भन्ने अबुझहरूलाई हप्काएँ, त्यस किसिमको झूटो लोकाचारलाई गलहत्याएँ र भनेँ– धर्म र गाईको बीचमा केही धार्मिक सम्बन्ध भए होला, अन्यथा छैन, भन्दै मेरो छोरालाई पश्चिमी भाषामा लेखिएको पश्चिमी शिक्षा नै दिलाएँ ।

मेरो छोरो तारेको तिल्केमात्र भएन कि ऊ त तिल्केको छोरो तारे पो भयो । म जन्म दिने बाबुलाई चाहिनेभन्दा बढी नै खुशी लाग्यो । छोराले आवासीय विद्यालयको अन्तिम परीक्षामा अपेक्षा गरेको भन्दा बढी नै अङ्क ल्याएछ । सबैले प्रशंसा गरे । उसैको तस्वीर राखेर उच्च शिक्षाका पसलेहरूले विज्ञापन गरे । छोराको प्रगति देखेर म पनि ‘फुलेल’ भएँ । छोराको उन्नतिले गर्दा मलाई बधाई यति धेरै आए कि मलाई त्यो बोझ धान्न नै धौधौ भयो ।

मलाई आफ्नो लगानी फुलेको, फलेको र पाकेको समेत देख्ता लाग्नु खुशी लाग्यो । स्वस्थ शिशु जन्मिएपछि नवप्रसूता माताहरूले अघिको प्रसवसमयको प्रसवपीडा भुल्छन् रे । करीब करीब मेरो स्थिति पनि त्यही रह्यो । म साँच्चै नै हर्षविभोर भएँ, मेरा आँखाबाट अजस्र रूपमा हर्षाश्रु झरिरहे ।

छोराले जस्तै ख्याति नकमाएको भए तापनि म पनि अशिक्षित नै थिइनँ, न त म मूल्याङ्कन गर्नै नसक्ने अवस्थामा थिएँ । त्यसैले मैले पनि छोराको आन्तरिक मूल्याङ्कन गर्न खोजेँ र आवासीय विद्यालयबाट केही समयका लागि भनेर उसलाई घरमा बोलाएँ ।

लामालामा कपाल पालेको, देख्तैमा तमासालाग्दो छोरो मेरो घरमा आयो र‘गुड इभिनिङ ड्याड’ भन्दै मतिर हात तेस्र्यायो र मेरो हात तन्क्याउन सङ्केत गर्यो । त्यसपछि उसले मेरा हात समातेर ‘गुडगुड’ भन्दै झट्का¥यो । मैले के ठानेको थिएँ भने– “मेरो छोरोले मेरो दुवै गोडा समाउला र भुइँमा लम्पसार परेर ‘दण्डवत् प्रणाम, पिताश्री’ भन्ला ।” तर उसले त्यसो गरेन । छोराको त्यस कामले म दुःखी भइनँ, बरू उसको व्यवहारबाट खुशी नै भएँ । मैले मनमनै ठानेँ– मेरो घरमा पनि अब समावेशी संस्कृति भित्रियो । सिङ्गै देश समावेशी युगमा प्रवेश गरेको बेलामा मेरो घरमा पनि समावेशी संस्कृति भित्रियो, अब मेरो पनि घर सांस्कृतिक दृष्टिले समृद्ध हुने नै भयो । “ज्ञानविज्ञानको हात जोड्नु पर्दछ कर्ममा” भन्ने हाम्रा महान् साहित्यकार बालकृष्ण समको इच्छा पनि पूरा हुने भयो । छोराले लामो भइन्जेल कपालमात्र पालेको थिएन, बरु उसले त एउटा कानमा कनफट्टा बाबालाई पनि पछि पार्ला कि जस्तो गरेर एउटा मुन्द्रा पनि लगाएको थियो । मैले सोध्दा उसले उत्तरमा भनेको थियो कि त्यो मुन्द्रा उसैको ‘रुम पार्टनर’ले सदाका लागि उसलाई उपहार दिएको हो ।

छोराको गणित विषय तगडा थियो, उसले प्राप्त गरेको अङ्कले तहल्का नै मच्चाएको थियो अनि मैले पनि उसको गणित ज्ञानलाई परीक्षण गर्न भनी एउटा प्रश्न सोधेँ– “तिमी त गणितमा धेरै अङ्क पाएका मान्छे हौ, लौ त एघार हजार, एघार सय एघारलाई अङ्कमा लेख त ।” मैले लेख्न दिएको कापी÷कलम पर सार्दै छोराले भन्यो– “क्यालकुलेटर छैन र ड्याड ।” “हामीले त कलम कापीले नै काम चलाउँछौं” मैले भनेँ । अनि उसले आफ्नै क्यालकुलेटर झिक्यो र ट्याकट्याक पार्यो र जोड्यो अनि १२१११ उत्तर देखायो । मैले भनेँ– यो त १२१११ भएन र ? मैले दुई सिता भात छामेपछि सिङ्गो कसौँडीको भात थाहा पाइन्छ भन्ने ठानेँ र छोरासित अरू कुनै दहलफसल गरिनँ । तर उसको भाषिक ज्ञानको पनि परीक्षण गरूँ कि भन्ने चाहना चाहिँ मेरो भयो । अनि मैले उससँग अनुमति लिएर सामान्य ज्ञानको एउटा प्रश्न गरेँ– “विश्वको सर्वोच्च शिखरको नाम भन त ?” उसले भन्यो– “माउन्ट एभरेस्ट ।”

मैले भनेँ– “नेपाली भाषामा भन त ?” तर छोरालाई सो शिखरको नाम नेपाली भाषामा भन्न नआएपछि मैले भनेँ– ‘सगरमाथा’ । अनि मैले भनेँ– यस शब्दलाई अक्षरमा लेख त । अनि उसले लेख्यो– ‘क्बनबचmबतजब’ । यो त रोमन लिपि, भयो देवनागरीमा लेख्न आउँदैन र ?

मैले देवनागरी भनेको कुरा उसले बुझ्दै बुझेन । उसले मलाई क्वारक्वारती हेर्यो । मलाई उसको हेराइ साङ्लाले बाँधेको टोक्ने कुकुरको जस्तो लाग्यो । अनि मैले सोचेँ– हलेदो भनेर जानेपछि नकोट्याएकै बेश । अब मैले ठानेँ– “मैले उसले घोकेको विषयबाहेकका अरू विषयमा प्रश्न गरेँ भने त हामी बाबु र छोराबीचको सम्बन्ध चिसिन्छ ।” यति सोचेर मैले चूप लाग्ने निर्णय गरेँ । मैले मेरो यो निर्णय समसामयिक नै भयो कि भन्ने ठानेको छु, ठीकै भएन र ? कुरो त कसो हो कुन्नि ।
पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad