व्यक्तित्व पहिचान
गुमाइ इमान अङ्गाल्दा कुकर्म
देखावटी थे, ती मेरा दान धर्म
अहं शान सेखी, बढे धक्कु धाक
घिरौलो समान, भएथ्यो यो नाक ।
गरी अट्टहास नरूँ लाग्थ्यो कहिले
भकारी भँडार, भरूँ लाग्थ्यो जहिले ।
लखेटेर भोका, लुकाएर खाएँ
जस बोक्न एक्लै, हजुरमा चढाएँ
कता गो चयन खै नीदै छैन राती
भनेनन् कसैले, थियो यो त जाती
भर मालिकैको, परूँ लाग्थ्यो पहिले
अरूलाई व्यङ्ग्य गरूँ लाग्थ्यो जहिले ।
ती रङ्गीन गाला ती लुँडा भुँडीका
फसलका पशल् ती, लुछा र चुँडीका
तिलहरी देख्थेँ, कटीमा झुलेका
ती नाभी र वक्ष, पूरै थे खुलेका
दुवै चक्षु चिम्ली, झरूँ लाग्थ्यो पहिले
नदी माथी नौका, तरूँ लाग्थ्यो कहिले ।
झुसे दाह्री जुँगा, फुले यी कपाल
पृया झर्की बोल्छिन् उखेलेर फाल
न सक्छु ‘म’ तालु पुरै रित्तो पार्न
न सक्छु उनीको वचनवाण टार्न
जाईटिङ्ग्रेमा नाम छरू लाग्छ अहिले
मनमोहिनीको, हेरूँ लाग्छ जहिले ।
सुकुमारी छोरी लगाउन चोली
एकोहोरो छोरो, भयो आज भोली
म को हुँ मलाई, थाहा हुन्न आज
पराई सरिका, हुँदा यी समाज
चिनी चहुरमै छरूँ लाग्छ कहिले
कर पाउ टेकी, चरूँ लाग्छ अहिले ।
ममाथि अनेकौँ, अशुभयोग लाग्दा
परिकार पाक्दा, पनि भोक् नजाग्दा
स्वदेशको साजी नरुच्ने मलाई
म भाग्छु गुहार ! गरे है भलाई
विदेशी पहिरन् धरू लाग्छ जहिले
उतै पो बसाइँ सरूँ लाग्छ अहिले ।
बताएँ रे विगत वर्तमान
तक्दीर थ्यो ताजा तरूणी समान
औतार, ली के भो पुतला र लाखे
म हैन अरूझै, पुङमाङ पाखे
बनेर मौका, टरू लाग्छ जहिले
दरबार भित्रै डरूँ लाग्छ कहिले ।
कोसीदेखा–७, काभ्रे