सुस्ताइरहेको थिएँ दिउँसो कोठामा
मोबाइलको घन्टी बज्यो
नाम नम्बर हेर्दै नहेरी
मैले पनि भनी हालेँ हेलो
भोलि कविगोष्ठी छ आउनुहोला भनी
उसले फोन काट्यो
उसको सूचनाले मेरो मनलाई
किनकिन रोमाञ्चित पार्यो
के गर्ने कसो गर्ने
यो दिमाग ह्याङ भयो
पत्रकारहरू आउँछन् फोटो खिच्छन्
यसैले यो मन लोभियो
कविको सङ्गत छ कवि भन्छन् सबैले
यसैले केही त सुनाउनै पर्यो
निकै बेर घोत्लिएँ कागज कलम लिएर
के फुर्थ्यो सर्जक भए पो
कुनै उपाय देखिन यसैले फेरि
दई चार पङ्क्ति अन्यत्रबाट सारियो
दोस्रो दिन गोष्ठीमा भनसुन गरी
अतिथिको स्थानमा बसियो
अरूको पालो सकेकाले होला
सञ्चालकले मलाई बोलायो
सबैको नजर खोइ किन होला
ममाथि केन्द्रित भयो
दुई चार मिनेट बोलेपछि
खल्तीबाट त्यो टिपोट झिकियो
आफ्नो भए पो सजिलो हुन्थ्यो
नक्कल गरेको पढ्न गाह्रो भयो
स्रोता दीर्घाबाट एकजना उठेर
कविता रोक्नुहोस् भन्यो
उपस्थित सबै वाल्ल परे
उसले त्यो कविता मेरो भन्यो
अहिले भने सबैको अघि म
नक्कली कविमा दरिन पर्यो
लाजले भुतुक्क मेरो अनुहारमा
कालोमोसो दलेको भान भयो
कवित्व त ईश्वरको बरदान रहेछ
बल्ल चेत खुल्यो
चिया पिउँदै थिएँ मेरो हातमा
स्थानीय अखबार पर्यो
अघिल्लो पानामै मेरो फोटोमाथि
लेखेको रहेछ चोर कवि समातियो ।