विधाताले यसको नाम किन टेलिकम राख्यो होला ! मलाई आश्चर्य लागेको छ । न्वारन गर्ने बाहुन ठाडोघाँटी लगाई डाउन भएका बेला यसको नाम जुराइएको हुनपर्छ । यो मेरो अड्कल मात्र हो । वास्तविकता के हो भन्ने त कि टेलिकमलाई नै थाहा छ, कि त्यसको न्वारन गर्ने तथाकथित ‘बाहुन’ लाई । नत्र नाम एउटा र काम अर्को पक्कै हुने थिएन । मैले नाम राख्नु परेको भए चाहिँ ‘टेलिकम’ हैन ‘झेली काम’ राख्ने थिएँ । कमसेकम काम अनुसारको नाम त मिल्ने थियो ।

संसार अहिले ‘नेट’ नामको प्रविधिमा गुजुल्टिएको छ । सूचना, समाचार, ज्ञानगुठुरी मात्र होइन आजकाल बन्दव्यापार, अनेकन कारोबारदेखि जीवनका प्रायः सबै सरोकार नेटबाटै हुन थालेका छन् । नेपाल नामको एउटा अजीव देश पनि बाँकी विश्वसँग यस सञ्जाल मार्फत जोडिएको छ । यसलाई जोड्ने आधिकारिक निकाय टेलिकम हो । यो टेलिकम नामधारी निकायले नागरिकलाई टेलिफोन, मोबाइल, नेट इन्टरनेट आदिको सेवा प्रदान गरेर वर्षेनि अरबौं रूपैयाँ आर्जन पनि गरिरहेको छ । मैले ‘आर्जन’ भन्ने शब्द प्रयोग गरो तर यसको सुविधा लिने र उपयोग गर्ने अधिकांश लठुवाहरू ‘आर्जन’ होइन ‘लुट’ भन्न रूचाउँछन् । यसरी लठुवा नागरिकको रकम हाकाहाकी लुट्ने छुट उसले वैधानिक ढङ्गले पाएको छ ।

ग्रामीण नेपाली महिलाहरूको सोझो सिधा मनोवृत्ति थाहा पाएका भारती भैयाहरू गाउँ छिरेर पित्तलको जलप लाएका गहनासँग सक्कली सुनका गहना साटेर सजिलै दम्पच हुन्छन् । झण्डै झण्डै त्यसरी नै पैसा खनखन तिरी हामी टेलिकमका सिमकार्ड लिन्छौँ, रिमकार्ड लिन्छौं, एडियसल जोड्छौं । भूपीले भने झैं हामी महाका बुद्धु हौं । जुन सुविधा उपभोग गर्नका लागि हामी ती बस्तु लिन्छौँ । उपयोग गरे बापत हामीले पैसा तिर्नु र टेलिकमले शुल्क लिनु अन्यथा होइन । तर लिईएका वस्तुहरूको उपयोगितासँग तिर्ने गरेको शुल्कलाई हामी बुद्धुहरू तुलना गर्दैनौं । नगर्ने भएरै हामी बुद्धु भएका हौँ । झन्झट बढी सुविधा कम, यो हो हाम्रो टेलीकम ।

मोबाइल सोबाइल र र टावर सावरका कुरा भो नगरौँ । गरिसाध्य भए पो । हास्यकलाकारहरूले थुप्रै जोक बनाएका छन् मोबाइलका बारेमा । केही कविहरूले त ‘मोबाइल महिमा’ भनेर कवितै दन्काएका छन् । भैगो त्यतातिर नजाउँ । मसँग टेलीकमको एडियसल चलाउने राउटर नाम गरेको एउटा गट्टो छ । टेलिफोनको लाइनसँग राउटरलाई लिङ्क गरेपछि नेट चलाउन सकिने यो प्रविधि टेलिकमले प्रदान गरेको हो । गट्टो बोकेर तिन दिन टेलिकमको अफिस धाइयो । आवश्यक शुल्क बुझाइयो । प्राविधिक रूपमा अब जोडियो भनेको छैटौं दिनपछि बल्ल राउटरमा नेटवर्क र टावरको सङ्केत प्राप्त भयो । यसबीच टेलिकमको अफिस र प्राविधिक कर्मचारीको मोबाइलमा पच्चिसौं कल खर्च गरियो । दुईचार दिन मज्जैसँग चल्यो पनि । यसरी एडियसल जोडेपछि अत्यावश्यक सूचना सामग्री आदानप्रदानको क्रम सुरू भयो । जीमेल खुल्यो, फेसबुक फ्रेन्ड्सको चाप बढ्न थाल्यो । देश विदेशमा भएका आफन्त र मित्रहरूसँग टुटिसकेको सम्पर्क फेरि जोडियो । आफूले गरिआएका पुस्तक र लेख रचनाको सम्पादन कार्यले तिब्रता लियो । धेरै कामहरू मेलबाटै आदान प्रदान हुन थाले । जीवन निकै गतिशील भए झैं लाग्यो ।

तर यो गतिशीलता धेरै दिन कहाँ टिक्न सक्यो र ? हप्ता दस दिन बितेपछि सुरू भयो म र मेरो एडियसलबीच गज्जबको लुकामारी । टेलिकमको झेली काम आरम्भ भएको मलाई के थाहा । जब म उठ्छु एडियसल सुत्छ । मिनेटको कुरा छाडौं, घन्टौं पर्खिंदा पनि नआएपछि आजित भएर म जब घुुप्लुक्क सुत्छु अनि एडियसल जुरूक्क उठ्छ । ऊ उठेको मलाई पत्तै हुँदैन । बेलुकी सेन्ड गर्न थाती रहेका जरुरी मेलहरू सम्झँदै बिहान चार बजे नै म जुरूक्क उठ्छु, मेरो एडियसल भने म उठ्नुभन्दा आधा घण्टा अघि नै सुरूक्क सुतिसकेको हुन्छ । तै पनि आउला कि भन्दै म राउटरको गट्टोलाई सुमसुम्याउँछु, माया गर्छु, पटक पटक रिस्टार्ट गर्छु । अहँ, वानसाइडेड लभ परेकी निर्मोही प्रेमिका झैँ उसको कुनै रेस्पोन्स आउँदैन । म थकित र आजित हुन्छु ।

बिहानको पाँच बज्छ, म ढुकेर बस्दाबस्दै छ पनि बज्छ । म नित्य कर्मका लागि बाथरूम पस्छु । त्यताको काम सकेर केहीबेरपछि म फर्किन्छु– राउटरका चारवटै सङ्केत बत्ती टिमटमाउँदै बलिरहेका छन् । ए लौ, आएछ । म चिसै हात ल्यापटप खोल्छु र नेट कनेक्सन बटम क्लिक गर्छु । हेर्दाहेर्दै चारवटा मध्येको एउटा बत्ती टिमटिमाउन छोड्छ । त्यो टावर सङ्केत गर्ने बत्ती थियो । त्यो टिमटिमाउन छाडेको केही सेकेन्डमै अर्को पनि धरासायी भयो । बस अब बाँकी रह्यो पावर सङ्केत गर्ने बत्ती र टावर बिनाका रित्तो वाइफाई । मेरो मुखबाट लामो सुस्केरा बाहिर आउँछ । घडी हेर्छु सात बजिसक्यो । धिक्कार छ, अब नहिँडे कलेजको बिहान ७ ः ५५को क्लास भेटिन्न । हतारहतार कपडा भिरेर म टेलिकमको झेली कामको जय गाउँदै घरबाट बाहिरिन्छु ।

यो क्रम एक दिन होइन दुई दिन होइन । हप्तौँ चलिरहन्छ । म पटक पटक नेपाल टेलिकम नामको झेली निकायमा उजुर गर्छु, अनुनय विनय गर्छु, फोनैबाट गर्छु, उसैले दिएको एसएमएस प्रणालीबाट उजुर गर्छु । मात्र उजुर गर्छु । अहँ सुनुवाइ हुँदैन । आफ्ना दैनिकीका सहस्र काम बिताउँदै भए पनि झेली कामको कार्यालयमा दुई तिनपटक धाउँदो भएँ । आफ्नो गथासो सुन्ने मान्छे फेला पार्न त्यहाँ पनि उतिकै गाह्रो । एउटा कोठामा गयो अर्को कोठा देखाउँँछन्, त्यता गयो उता देखाउँछन् । उताबाट झन् उता, झन उता । एता र उता धद्दाउँदा धद्दाउँदै मर्मत सम्भारको मूल ढोका भित्र छिरेँ । शाखाका पालेबाट जानकारी भयो– प्राय सबै सरहरू फिल्डतिर सवारी भै सक्यो । फेरि अर्को शाखा छिरी आफ्नो गुनासोको एउटा केस्रो फुकाउन मात्र के थालेको थिएँ– त्यहाँ विराजमान ‘ऊ’ले फटाफट भन्नुभयो– “तपाइँले उताको कोठामा गएर उ गर्नू, उसले उ गरेपछि उ हुन्छ ।”

उनले सङ्केत गरेको कोठाभित्र फेरि छिरेँ । त्यहाँ रहेका अर्का ‘ऊ’ ले भने– “तपाइँको टेलिफोन लाइनको समस्या क्याबिनेटमै छ, लाइन क्लियर नभई नेट चल्दैन । तपाइँ लाइन क्लियर गर्न उ कोठामा गई उसलाई भेट्नुस् । अनि ‘ऊ’ ले देखाइ दिएको कोठामा म पुगेँ । त्यहाँ भने कुर्सी र टेबलमात्रै गजधम्म छन् । टेबलको कम्युटर र साइडको फ्यान मात्र सुसाइरहेका छन् । ‘ऊ’ लाई खोज्दाखोज्दै मलाई भने ‘सु’ले नराम्रोसँग च्यापिसकेको थियो ।

म अब टेलिकमको झेली कामको गाथा गाउँदे बाहिर निस्केँ र लागेँ आफ्नै निवासतिर । निवास पुगेर सबभन्दा पहिले टेलीफोनको रितो तारलाई जङ्गलको बाडुलपाते लहरा ताने झैं सर्लक्कै तानेर आँगनमा थुपारेँ । मटितेल छर्केर आगो ताप्न मन लागिरहेको थियो । तर आफ्नै रामप्यारीले कडै अवरोध खडा गरिन् र पो नत्र... ।

अहिले टेलिकमकी सौताने आमा वर्डलिङ्कले बितरण गरेको लाइन लिएर नेट चलाइरहेको व्यहोरा जगजाहेर गर्दै यो टेलिकमको झेलीकाम बारेको गाथा यहीँ टुङ्ग्याउँदो भएँ । बाँकी बक्यौता लेख्दै जाउँला । जदौ !!
कलङ्की, काठमाडौँ