हल्लाई भूमि सारा, डबडब गुडुडू, घोर भूकम्प आयो
अग्ला सग्ला सुनौला, सहर बगर भै, लासमा डुङ्डुङायो ।
चर्का चीत्कार बोकी, जल थल नभमै, घोर थप्दैछ टण्टा
यो पापी कम्प कालो, छिनछिन जगमा, बन्न गो बाघझम्टा ।

छोराछोरी मुमा बा, परिजन कतिको, स्निग्ध–मुस्कान खोस्यो
बस्ती–बस्ती ढलाई, जल थल नभमा, ऊग्र आतङ्क झोस्यो ।
हाम्रा जे सम्पदा वा, अनुपम सिपमा, बज्न गो मृत्युघण्टा
जिस्क्याई सृष्टि सारा, डबडब गुडुडू, गर्छ झन् बाघझम्टा ।

विज्ञैका माथ खायो, थरिथरि रुपका, घोर भूकम्प आई
अर्बौका ईश कय्याैँ, पथपति हुनु भो, चोर भूकम्प आई ।
जो आए राहतैका, धन जन कपडा, ओखती खाद्य अन्न
पुग्दैनन् आहतैका, घरतिर भगवन् ! धूर्तले राख्छ टन्न ।

कस्तो सर्कार हाम्रो ? अभिजन सबमा, गर्छ नाफा मुनाफा
जो छन् पीडित तिन्का, दुखसित कहिल्यै, बन्न सक्दैन खासा ।
काला व्यापार उर्ली, शिखरतिर चढ्यो, वस्तुका मोल भाउ
मन्त्री नै सल्बलाए, कमिसन पथमा, तुच्छ खेलेर दाउ ।

दाताका दान सत्ता, निजहिततिर नै, र्याल काढ्छन् चाट्छन्
सर्कारै भो नराम्रो, जनहित निमठी, ख्याल गर्छन् ढाँट्छन् ।
पापी भूकम्पजस्तै, दलपति अगुवा, बन्दछन् निर्विवेकी
ब्वाँसा श्रृङ्गालजस्ता, पति–मति बिचरा ! कम्पझैँ निर्विवेकी ।
धादिङबेँसी