कर्जा काढेर धेरै, दुखसित मनुवा, भव्य पार्यौ मलाई
खेतै बेचेर आफ्ना, चल–अचल पूँजी, खर्चियौ बस्नलाई ।
नाना शैली र बुट्टा, नव नव रङले, क्या बनायौ चिटिक्क
पापी भूकम्प आई, तनभर अहिले, पार्न थाल्यो चिरिक्क ।।१।।

हावाले फूल हल्ले, सरह त म बने, कम्पले झम्टदामा
तिम्रा आशा इरादा, रगत र पसिना, व्यर्थ भो भाँचिदामा ।
चर्को यो बज्रजस्तै, बनिकन अहिले, बज्रदै बज्रदै छ
मान्छेको ज्ञान देखी, अति मुरमुरिदै, गर्जदै थर्कदै छ ।।२।।
थिल्थिलो पारिहाल्यो, तनभर अहहा ? घाउ छन् हेर धेर
छोड्दै छोड्दैन धक्का, पलपल यसले, हान्न गर्दैन देर ।
पापी भूकम्प कस्तो ? अब म त कसरी ? उभ्भिउम् शक्ति छैन
गर्ल्याम्मै ढल्छु क्या रे, घरपति मनमा छैन आनन्द चैन ।।३।।
धादिङ