रित्तो बटुकोमा भोट
प्रिय जनता !
मेरो कोटिकोटि नमस्कार !
फेरि आएछ भन्नुहोला । अरू बेला आउँदै आएन ठान्नुहोला । जनताको सेवामा समर्पित यस जीवनले फुर्सद पाउँदै पाएन । के गर्ने मन भएर नहुँदो रहेछ, परिस्थितिको दास नभई नहुँदो रहेछ । त्यसैले आइएन । र, पो अहिले स्पष्टीकरणको वयान नदिई धरै पाइएन । यसो भन्न पाउँदा समेत आत्मीयताको वोध भइरहेछ । साँच्चै जनता जनार्दन ! मलाई हजुरहरूको खोजी गर्ने फुर्सद मिल्दा अपूर्व आनन्द लागिरहेछ ।
हजुर ! नम्रता मेरो परिचय हो । जनसेवक कहलिनु मेरो दैनन्दिनी हो । अझ जनतालाई रातो दिन सम्झिरहनु मेरो धर्म हो । कोही शिव बाबामा मन लगाउँछन् । केही हनुमानका भक्त छन् । कोही शिवचर्चामा ज्यान फालेर लागेका छन् । कोही अझ अरूका रचना चोरचार पारेर आफ्नो नाममा छपाइ महान् साहित्यकार बन्न उद्यत छन् । म त्यस्तो केही छैन । म सधैं जनतामा चित्त लगाउँछु । जनताको हितमा निमग्न छु । सेवालाई धर्म मानेको छु । जनताको विचारलाई मार्गनिर्देशक सिद्धान्त ठानेको छु ।
भोट माग्ने वेलामा गुलिया कुरा गर्यो भन्नुहोला नि । भोट चाहिने बेलामा हामीलाई खोज्न थाल्यो ठान्नुहोला नि । म हजुरहरूकै काममा व्यस्त थिएँ । व्यस्तताले गाँजेपछि राजधानी बाहिरिन पाइनँ । यसो कहिलेकाही मुक्ति मिल्थ्यो, त्यो पनि हजुरहरूकै कामका लागि विदेशतिर भौतारिनु पथ्र्यो । त्यसै, त्यसै गर्दा गर्दै २०६४ सालदेखि व्यस्तताले गाँजेको बल्ल आएर फुर्सद भएको छ । आफ्ना जनताको हालत के रहेछ ! सुख–दुःख के–कस्तो रहेछ भनेर जान्न र बुझ्न आएको ! अब अरू केही वर्षका लागि हजुरहरूको आशीर्वाद थाप्न आएको ! जनतालाई राजी गराउनेले नै कजाइँ गर्न सक्छ रे । म हजुरहरूका दुश्मनलाई परास्त गर्न चाहन्छु । म हजुरहरूको मनोभावनाअनुसार चल्न रुचाउँछु । मैले थुप्रै गरेँ । गरेका कामकाजको फेहरिस्त निक्कै लामो छ । वर्णन गरेर साध्य छैन । यत्ति लामो समयावधिमा जनकल्याणका अनगिन्ती योजनाहरू बनाएकै हुँ । कतिपय योजना जिल्ला हुँदै गाउँसम्म पठाएकै हुँ । जिल्लाका केही टाठाबाठाहरू अनि यहाँका विरोधी पार्टीका कार्यकर्ता मिली–मिली तुर्याएछन् । र, पो मैले केही नगरेजस्तो देखियो । यसमा विपक्षीको षडयन्त्र लुकेको भेटियो । अतः हजुरहरू सतर्क हुनुहोस् । अमूल्य भोट चाहिँ मेरो रित्तो बटुको छापमै लगाउनु होस् ।
हेर्नुस् जनता जनार्दन महोदय ! म धरोधर्म रिठ्ठो नविराई भन्दछु । सत्यबाहेक अर्थोक बोल्दै नबोल्ने मेरो संस्कार भएको पुनः स्मरण गराउन चाहन्छु । मैले जति लेखेँ, त्यो सबै विरोधीले मेट्दै गए । अलिअलि लेखेको कागजमा समेत विरोधीकै षडयन्त्रले गर्दा धमिराले खायो । संविधान पूरा भयो कि भनेर सबै पाना जम्मा पार्दा त अचम्मै भयो । धेरै पाना सादा भेटिए । केही पाना आधाउधी धमिराले नष्ट गरेको फेला परे । के गर्नु जनताका विरोधीहरूले संविधान लेखेर सक्नै दिएनन् । अब भने जनताले कुरा बुझ्ने दिन आइरहेका छन् । संविधान नलेखी नहुने आवाज गुञ्जिरहेछन् । विरोधीहरूको विरोध नसुनी भए पनि यस पटक संविधान नलेखी छाड्दिनँ । लेखेको मेट्नेको हातै भाँचिदिन्छु । पूर्ण समयावधि लगाएर लेख्ने काम पूरा गर्छु । ग्यारेन्टीका साथ भन्छु, नयाँ संविधान हजुरहरूको हातमा थम्याउँछु, थम्याउँछु ।
हेर्नुस् न जनता जनार्दन ! लेख्ने अभ्यास नभएका कारण छिटो छिटो लेख्न नसकेको हो । अचेल म रातोदिन संविधान लेख्ने अभ्यास गरिरहेको छु । ६०१ जनाको ठूलो जमात एउटै काममा सरिक रहे पनि ती सबैको हातमा कलम पक्रने ज्ञान पनि थिएन । हामी केहीले लेख्दा लेख्दै भ्याइएन । सबैले एक साथ जुट्न पाए पो । विरोधीहरू तँछाडमछाड गर्दै रहे । बाँधिएको बाँध पनि भत्काउँदा भए । कुरा त्यस्तै भयो, त्यसबेला । अब त्यस्तो केही हुनेवाला छैन । भोट भने मलाई र मेरै चुनाव चिन्हलाई दिनुपर्छ । मेरो प्रार्थना यही र यत्ति नै हो कि विरोधीतिर फर्कनु भो भने संविधानको बेहाल हुनेछ । त्यसो नगरौँ । सबै जना एकजुट भई भोट भने रित्तो बटुको छापलाई नै दिऔँ ।
हाम्रो मतले हाम्रै ढाड सेक्न नेताहरू झुकेका हुन् भन्ने हजुरहरूको मनमा परेको हुनुपर्छ । तीतो सत्यलाई कसले पो ढाक्न र ओझेलमा पार्न सक्छ र ! समयअनुसार रङ्ग फेर्ने बहुरूपी नेता मचाहिँ होइन । एक पटक जे बोलें, बोलें । त्यो पु¥याई छाड्ने मेरो आदर्श हो । म कहिल्यै आफ्नो आदर्श विपरीत उभिएको छैन । मैले विश्वासघातको स्वाद चाखेको छैन । कसैले हँसिया–हतौडा रोजे । कसैले सूर्यलाई आफ्नो चिन्ह बनाए । कोही रुखका पछिपछि दगुरे । सबैले परिपूर्ण कुरा रोजे । मैले भने त्यस्तो शक्तिशाली कुनै कुरा रोजिनँ । मलाई त्यही चाहिन्छ भनी अडान लिन समेत मन पराइनँ । जनतालाई हेरँ । सबै जसोका हातमा रित्ता थाल, रित्ता कचौरा र घरभित्र रित्ता कसौंडीहरू मात्र फेला पारेँ । त्यही रनाहामा रित्तो बटुको नै रोजेँ । यो नै मौलिक पहिचान भएको देखें । साँच्चै जनार्दन ! म आफ्नोपनभन्दा बाहिर कहिल्यै जान चाहन्न । जनमनोकाङ्क्षा बाहिर मैले संसार देखेको छैन ।
फेरि घुमिफिरी रुम्जाटार भनेझैं एउटा प्रसङ्ग नवताई भएन । अब मैले जितेमा गर्ने कामको लम्बेतान सूची प्रस्तुत नगरी भएन । जनता समझ खाएको कसममा जहिले पनि म सतर्क छु । हिम्मतका साथ जनताको काम गर्दिएको छु । राम्रा काम गर्न अपूरो भए पनि हाम्रा कामहरू गरेकै छु । मैले एकै क्षण फुर्सद पाइनँ । हजुरहरूकै लागि सभासद भएँ । मन्त्री हुन पार्टी अध्यक्षको गर्नुसम्म गुलामी गरेँ । मन्त्री नभई जनसेवामा जुट्न असम्भव थियो । त्यसैले जसोतसो मुस्किलले मन्त्री भइयो । योजना बनाइयो । मेरै क्षेत्रको लागि मात्र मन्त्री भएको थिइनँ । पूरै देशको मन्त्री थिएँ । त्यसैले कुरो विग्रियो । एक्लो मान्छेले देशै हेर्नु चानचुने कुरा होइन । अझ विदेश समेत हेर्नुपर्ने कुराको चर्चो अघि नै भएको छ । अब भने देशभित्र मैले के–के गरेँ भन्ने बारे छोटो फेहरिस्त प्रस्तुत गरेर म हजुरहरूबाट विदा हुनु अघि जनताको सेवा गर्ने अवसरका लागि चुनाव चिन्ह रित्तो बटुको छापमा मोहर लगाई मलाई चिताउनुहोस् र आफ्नो राष्ट्रमा परेको खडेरी तुरुन्त भगाउनुहोस् ।
फेहरिस्त–
१. महङ्गीको महसुस कसैले गर्न पाउने छैनन् । (बन्द हडतालले पसलेले सेवा नै दिन पाउने छैनन् । बल्लतल्ल खुलेको पसलले जति दाम मु¥याए पनि बोल्नु भएन ।)
२. बेरोजगारी समस्या तुरुन्तै हल हुनेछ । (जनतालाई भूमिगत हुन वाध्य बनाए पछि, विदेसमा गुलाम गर्न हुत्याए पछि, स्वदेशमा खानलगाउन नदिए पछि, काम गर्ने जनशक्ति नै अडिने स्थिति नभए पछि समस्या हल भइ जान्छ नि ! )
३. श्रमशोषणको आभाष कसैले गर्नु पर्दैन । (श्रमिक नै नरहने अवस्था आए पछि, भएकाहरूलाई पनि न्याय दिने ठाउँमा आफैं हालिमुहाली भए पछि शोषणले सार्वजनिक हुने मौकै पाउन्न ।)
४ शान्तिसुरक्षाको पूर्णप्रत्याभूति दिलाइने छ । (मौलिक हक छिने पछि, वाक्स्वतन्त्रता लुटे पछि र मूर्दा शान्तिको हावा चलाए पछि प्रत्याभूति हुने नै भयो ।)
५. शिक्षा–स्वास्थ्यको सुविधा सर्वत्र उपलव्ध गराइने छ । (निजी क्षेत्रलाई हालिमुहाली गर्न दिए पछि शोषणको चरम रूपका रूपमा शिक्षा–स्वास्थ्य सुविधा उपलव्ध हुने भइगो नि ।)
६. राजनैतिक दर्शन स्वच्छ र पारदर्शी हुने छ । (दिउँसो जनताको अगाडि स्वच्छता र पारदर्शीताको ढोंग रच्ने र साँझमा तारे होटल छिरे पछि जनता भनाउँदा वर्गलाई भुसुना सम्झने प्रवृति देखाए पछि पुगिगो नि !)
हेर्नुस् जनता जनार्दन ! हामी मिलेर हिँड्छौँ । जनताको काममा एक जुट हुन्छौँ । चुनावले दिएको म्यान्डेडको पूरापूरी उपयोग गर्छौं । पुरानो थालमा हाम गर्दैनौं । पुरानो घरमा वास गर्दैनौं । सबै कुरामा नयाँपन ल्याउँछौं । मुलुकलाई नयाँ दिशा दिन ढुकुटी रित्तिए पनि रित्तियोस् तर निकासको नाममा रिसोर्टहरू धाउन निक्कै कसरत गर्छौं । सहमतिको नाममा दिन विते वितून् तर हामी एकै ठाउँमा रहेर चिन्तन गर्छौं । रातोदिन निकास निकाल्न चिन्तनशील हुन्छौं । कतिपय अवस्थामा गुप्तवास बसेर भए पनि समस्या समाधानमा जुटिरहन्छौँ । फेरि, फेरि समस्या नआओस् भन्ने कुरामा हेक्का राखेर काम गर्छौं । अरू प्रतिबद्धता जाहेर नगरौं । चुनावमा आफूले जितियो भने मुलुकको दीर्घकालीन हितका लागि सर्वोच्चको मुखै थुनेर भए पनि संविधानसभाको म्याद बढाइरहन्छौँ । र, संविधान बनाएर तपाईंको हातमा सुम्पन्छौं । बनाउन नसके, नबनियूञ्जेल मुख थुन्ने काममा प्रतिबद्ध भइरहन्छौं । धन्यवाद !
तपेश्वरी–१, गल्फडिया, उदयपुर