हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
बचाउने चेष्टा गर्छ
घृणित स्पर्शबाट आफ्नै हातको
अनि सफलताको चीत्कार बोकेर
ऊ वन–वन दगुर्छ
रुख, ढुङ्गा आदिमा हात पुस्छ
खोला–नालाको पानीमा हात चोपेर
ऊ मुक्त हुन खोज्छ दुर्गन्धबाट
तर प्रत्येक प्रयासपछि
हात सुँघ्दा दुर्गन्ध
झन् बढेको पाउँछ
अनि बहुलाझैँ
रुख हाँगाहरूका सारा
फलफूलहरू झार्दै
सुगन्ध र स्वादलाई मेटेर
कम गर्न खोज्छ आफ्नो
दुर्गन्धको प्रभावलाई
र अन्तमा निराश भएर
कुनै ठाउँमा बसेर ऊ बर्बरतापूर्वक
घोट्न थाल्छ आफ्नो हात खस्रो
ढुङ्गामाथि
उसले ढुङ्गामा हात घोट्छ र सुँघ्छ
उसले आफ्नो हात सुँघ्छ र घोट्न
थाल्छ र घोटि नै रहन्छ
तबसम्म
जबसम्म कि उसको हात बेकम्मा हुँदैन
शङ्कालु बाँदरको जब एकचोटि
हात गन्हाउँछ
उसले बगैँचालाई उजाड
र आफ्नो हातलाई लुला बनाउँछ ।
(रुपरेखा)