संविधानसभा भवनको दक्षिणीद्वारमा कोही अलिकति ढल्किएर उभिएको थियो। मौसमी धुम्मपनको फलस्वरूप केही अँध्यारो भएकोले ठ्याक्कै चिन्न सकिएन । केही नजिक पुग्दा मलाई कमरेड प्रचण्ड अघिल्तिर रहेको जस्तो आभास भयो । हो, एनेकपा माओवादीका सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ’प्रचण्ड’ नै ।
’लालसलाम कमरेड ।’
’अभिवादन ।’
’लालसलाम कमरेड ।’ मलाई जवाफमा विलकुलै पत्यार नलागेकोले एकपटक फेरि भनेँ ।
’अभिवादन ’ उही पाराको आश्चर्यजनक ध्वनि दोहोरियो ।

यसरी अभिवादनका निम्ति सोझै ’अभिवादन’को प्रयोग गर्न नेकपा एमालेका कमरेडहरू रुचाउँछन् । अरु कमरेडहरू औपचारिक–अनौपचारिक भेट–मुलाकातमा पुरानै चलन बमोजिम अद्यापि ’लालसलाम’ नै भनिरहेका छन ्। खास गरेर माओवादी कमरेडहरू । तर एनेकपा माओवादीका सर्वाेच्च नेता कमरेड प्रचण्ड अचम्मैले ’लालसलाम’को साटो एमालीय ’अभिवादन’को उच्चारण गरिरहेका छन् आज !

’लालसलाम कमरेड ।’ मैले तेस्रोपटक उसरी नै मुठी उचालेँ ।
’अभिवादन भनिहालीँ नि !’ कमरेड प्रचण्डको स्वर तिखो भयो ।
’कमरेड, ठीकै त हुनुहुन्छ ?’ मेरो सोधाइमा अतिरिक्त चिन्ता थियो ।
’एकदम ठीक छु ।’ उनले तल्लो ओठ हलुकासित हल्लाए, ’मलाई के भएको छ र ?’
’उसो भए सबै ठीकठाक नै छ त ?’
’बेठीक हुने कुरै छैन ।’ कमरेड प्रचण्डको स्वर अझ तिखारियो, ’यस्तो फजुल ठीक–बेठीकको प्रश्नोत्तर कार्यक्रम नचलाउनोस् म अघि तपाईं ।’

संविधान निर्माणको सिलसिलामा देखापरेका दुई समानान्तर (किन्तु, विपरीत) धार सहमति तथा प्रक्रियाको जबर्जस्त द्वन्द्वका कारण एनेकपा माओवादीका माननीय सभासद कमरेडहरू बाहिर थिए । अर्थात् संविधानसभा भवन बाहिर । तसर्थ संविधानसभाको सिंगो भवन घनघोर प्रक्रियावादी कांग्रेसी एवं एमाले कमरेडहरूका पूर्णतया कब्जामा थियो । र एमाओवादी कमरेडहरू सहमतिको गह्रुंगो पोको काँध–काँधमा बोकेर सडक संघर्षमा उत्रेका थिए । तर यो सडक संघर्षको निर्विवाद अगुवाइ गर्ने नेता कमरेड पुष्पकमल दाहाल प्रचण्डलाई संविधानसभानेर उभिएको देखेर मलाई केही (होइन धेरै नै) नमिलेको जस्तो महसुस भइरहेको थियो ।
’कमरेड, अहिले तपाई संविधानसभामा किन ?’ मैले कमरेड प्रचण्डसँग अप्ठ्यारो मान्दै प्रश्न गरेंँ ।
’मैले संविधानसभामा नभएर कहाँ हुने त ?’ उनको तिखो न तिखो स्वर मेरो कानमा बेस्सरी ठोक्कियो, ’के मैले कुनै पहाडी भेडीगोठ वा जावलाखेलको चिडियाखानामा हुनुपर्ने हो ?’

’होइन, होइन, यसबखत तपाईं सडक संघर्षमा हुनुपर्ने होइन र कमरेड ?’ मैले हडबडाएर भनेंँ ।
’यस्तो हावातालले प्यार(प्यार मुखको पखेटा नचलाउनोस् मछेउ ।’ उनले हप्काए, ’म सडक, गल्ली र फुटपाटमा विनसित्ती भौंतारिएर हिँंड्ने पैदलमार्का बटुवा होइन ।’ मेरो बन्द नै रहेको ओठतिर हेरेर मुस्कुराए, ’हेर्नाेस्, म त आफ्नो मोटरको सिटबाट नओर्लिएको पनि धेरै भइसकेकोले मलाई त सडक कस्तो हुन्छ भन्ने नै झिनो यादसम्म छैन ।’ उनको ओठ केही बांगियो, ’यो सडक भनेको के हो हँ ?’
’सडक...भनेको सडक हो...कमरेड...।’ यो अप्रत्यासित प्रश्नले मेरो आवाज लर्बरायो ।
’त्यो त मानेँ ।’ उनको आँखा मेरो अनुहारमा टाँसियो, ’तर मैले तपाईले भनेको सडकमा किन जाने ?’
’तपाईहरू सडक संघर्षमा...।’ मेरो वाक्यले पूर्णता नपाउँदै कमरेड प्रचण्डले तुरुन्तै मौखिक हस्तक्षेप गरे, ’यस्तो
धागो चुँडिएको पुच्छरवाल चंगाको धरमरजस्तै बेफ्वाँकको गफ नगर्नाेस् ।’ केही क्षण चुप लागे, ’मलाई संघर्ष–फंघर्षजस्ता अनावश्यक फाल्तु शब्द आफ्ना दुई कानमध्ये एकमा पनि पसाउनु छैन ।’
’तपाई आफैंले आहान गरेको सडक संघर्षमा आफैं नजाने हुनुभयो त कमरेड?’ मैले आफ्नो भनाइमा जोड दिएर कमरेडलाई हेरँें ।
’फेरि संघर्ष...।’ अलिक रोकिएर तिखै स्वरमा भने कमरेडले, ’होइन, संघर्ष, जुलुस, आन्दोलन, नारा, क्रान्तिजस्ता सस्ता कुरासँग मेरो महँगो ज्यानलाई के मतलव ?’ अलिक लामो मौनपश्चात फेरि भने, ’मेरा लागि यी सासविहीन शब्दहरू हुन् ।’ केही घोरिए कमरेड प्रचण्ड, ’अब अधमरो छिछिमिरोपछि दगुरेर मैले के हासिल गर्नुछ र ?’ र अनायास मुस्कुराए, ’म अजङ्गको क्रान्तिवृक्ष तल पलेंँटी मारेर घोर तपस्या गर्ने कुनै लठुवा माक्र्सवादी ऋषि होइन ।’

कमरेड पुष्पकमल दाहाल प्रचण्डको कठिन भाषाको यावत् निहितार्थ बुझ्न मलाई हम्मे–हम्मे परिरहेको थियो । हाम्रो घरि–घरि रोकिएर चलिरहेको संवाद बहकिएर अन्तै पुग्न लागेकोले मैले ठाडै विषयमा हाम्फालेर प्रश्न गरेंँ, ’के तपाईहरू पनि सहमतिको त्याग गरेर प्रक्रियामा जाने हुनुभयो त कमरेड ?’
’कसले भन्यो हामी सहमतिको पक्षमा छौं?’ उनको स्वर फेरि तिखो भयो ।
’यसैका लागि सडक संघर्षमा लागिरहनु भएको होइन र?’ मैले प्रस्टसँग भनँें कमरेड प्रचण्डलाई, ’मलाई त सहमतिका लागि सडक संघर्ष भइरहेको हो भन्ने लागेको थियो ।’
’फेरि पनि सडक संघर्ष...।’ कमरेडको स्वर तिखोपनको उच्चतम विन्दुमा पुगेर एक्कासी फाट्यो, ’यस्तो ताल न सुरको नक्कली मालश्री राग मअघि अलाप्ने आँट कसरी भयो तपाईको ?’ यसरी धाँजा परेको स्वरमा भन्दाभन्दै कमरेड प्रचण्डको रूप विरूप भयो, ’मैले अघि नै भनेँ, म हावा फुस्किएको भकुन्डोका लागि दुई खुट्टाका सहयोगले व्यर्थै कुदिरहने आलोकाँचो खेलाडी होइन ।’ कमरेड प्रचण्डको तिखो स्वर क्रोधको आधिक्यताले हल्लिरहेको थियो ।
एकाएक नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृहको प्राङ्गणमाथिको संक्षिप्त आकाशबाट बदली हटेर एकटुक्रा घाम कमरेड प्रचण्डको अनुहारमा खस्यो । म झस्किएँ । र मेरो मुखबाट अनायास निस्कियो, ’अरे ! यी त कमरेड प्रचण्ड नभएर सधैंभरि चपड–चपड गरिरहने कमरेड चपर्चन्ड पो रहेछन् त !’

कालो बादलबाट निस्केको सूर्य (नेकपा एमालेको चुनाव चिन्हवाल सूर्य होइन) को उज्यालो नेकपा एमालेका नेता कमरेड चपर्चन्डको पुष्ट गाला, चस्मावाल आँखा र चपल ओठमा परेकोले उनलाई राम्ररी चिनेँ मैले ।
इ–कान्तिपुर