आफूलाई भाग्यमानी भनौँ कि अभागी, आफ्नो जीवनकालमा आएको पहिलो ठूलो भूकम्पलाई पनि लाइभ अनुभव गर्न पाइएन । बसभित्र हल्लिँदा हल्लिँदै भूकम्प आएर गइसकेछ । मानिसको भागदौड र आँखैअगाडि सडक चिरिएको देखेपछि पो सातोपुत्लो उड्यो । आफू त बाँचियो, अब छोराछोरी र घरको के हाल भो होला भनेर अत्तालिँदै घर पुग्दा दुवैथरी सही सलामत भेटिए । घर ठाडै भएका र परिवारका सदस्य ठहरै नभएकाहरू ठूला भाग्यमानी ठहरियौँ यसपालि ।

भूकम्पपछि हामी थुप्रै भाग्यमानीको एउटै चौरमा बास भयो । चौरमा धेरै इन्जिनियर, भूगर्भविद् र इतिहासवेत्ताहरू यत्रतत्र भेटिए । इन्जिनियर ग्यास पसले झुम्की दिदीले भनिन्, 'सरको घर त पूरै बांगिएछ, अर्को एउटा सानो भुइँचालो आयो भने गल्र्यामगुर्लुम हुन्छ ।'

जीवनभरिको रगत-पसिनाको कमाइ यही एउटा घर, त्यो पनि बैंकमा बन्धक छ । दिदीका कुरा सुनेर मेरो मुटु हल्लियो ।

चिया पसले भूगर्भविद् रघुवीर रम्तेलले भन्यो, 'नौ रेक्टरको भूकम्प त आउनै बाँकी छ ।' मलाई हृदयाघात होलाजस्तो भो ।

इतिहासवेत्ता साइकल मिस्त्री मुकेशले हाइटीमा आएको भूकम्पको इतिहास सुनाएर थर्कायो । म थुरथुर काम्दै पालमुनि घुस्रिएँ ।

यो घर कति दु:खले बनाएको थिएँ, सम्झना गर्न थालेँ । उसबेला घर बनाउँदा प्रकट भएका इन्जिनियरहरूलाई सम्झिएँ । ठेकेदार इन्जिनियर, कामदार इन्जिनियर, छिमेकी इन्जिनियर, काका इन्जिनियर, श्रीमती इन्जिनियर र सबैभन्दा ठूलो म इन्जिनियर । एउटा दलाल इन्जिनियरले केही हजार रकम लिएर नक्सा पास गरेर ल्याउँदा ठेकेदार इन्जिनियर र म इन्जिनियर मिलेर एक तलो घर बनाइसकेका थियौँ । नक्सा पूर्व फर्केको थियो, घर पश्चिम । नक्साका तीनवटा पिलर ठेकेदार इन्जिनियर, मामा इन्जिनियर र म इन्जिनियर मिलेर उखेलिसकेका थियौँ ।

घर बनाउन थाल्दा छिमेकी देशका डकर्मी इन्जिनियरले मलाई उक्साउँदै भनेको थियो, 'साहूजी, पाँच तला ठोकिदिहाल्नूस् । पाँच वर्षमा लगानी उठिहाल्छ । त्यो नाथे नगरपालिकासँग नडराउनूस् । आयो भने दुई-चार सौ दिइहालौँला, म मिलाइहाल्छु ।'

विचार गरेँ, सँधियार साधुराम सुवेदीले एकतलाको घर किनेर त्यसमाथि चार तला थोपरेर भाडामा लगाएर महिनाको लाखौँ कमाइरा'छन् । म के कम ! मेरो इन्जिनेरीले भन्यो, एकै लाइनको कुरा त हो, पिलरमा पाँच लाइनको सट्टा चार लाइनको डन्डी हालेर पैसा जोगाउँछु । सिमेन्ट भनेको सिमेन्ट नै हो, जुन सिमेन्ट सस्तो र सुलभ छ, त्यसैले घर पोत्दिन्छु । यसपालिलाई यही माटो मिसिएको धूले बालुवाले काम चलाइदिन्छु । इन्जिनियर कार्की बाको जुक्ति अनुसार तला थप्ने बेलामा स्ल्याब फैलाउँदै पिलरभन्दा बाहिर गाह्रो लगाएर कोठाहरू फराकिला पारेँ । यति गरेपछि घर ट्याक्कै माटो सप्लायर साइँलो लामाजस्तो भयो । सुकेका खुट्टा, फुकेको भुँडी ।

१२ र १३ वैशाख ०७२ को भूकम्पले त्यस्तो मिहिनेतले बनाएको मेरो घर लडाउन भरमग्दुर प्रयास गर्यो । दायाँतिर घचेट्यो, बायाँतिर घचेट्यो, फनफन घुमायो, तलबाट उचाल्यो, माथिबाट थेचार्यो । धन्न सकेन । अझै ऊ चुप लागेको छैन । ऊ रिसले ङुर्र ङुर्र गरिरहेको छ । म डरले थुर्र थुर्र भइरहेको छु । घर बनाउँदा आफैँलाई झुक्याएको फल अहिले धमाधम चाख्दै छु । आफ्नै घरका डरले जुनसुकै बेला तोरीबारीतिर भाग्न तयार भएर जुत्तामोजा कसेर भुइँतलामै बस्दै छु ।
नेपाल साप्ताहिक