प्रिय भूकम्पु,
धन्य, धन्यवाद छ तिमीलाई

तिमी आउँछ्यौ भन्नेसम्म त थाहा थियो, तर कहिले आउँछ्यौ र के कस्तो रुपमा आउँछ्यौ भन्ने कुराको हेक्का थिएन । हो तिमी आयौ, गडागडाएर आयौ, जुनीभरी बिर्सनै नसकिने गरी आयौ । तिम्रो शक्तिशाली कम्पनको एकै निमेषमा पनि धेरै कुरा क्षतविक्षत पार्ने अजस्र शक्ति प्रदर्शन गर्दै आयौ । हजारौँको जीवन एकैछिनमा सोत्र्यान्त पार्ने गरी आयौ । लाखौँ घर, महल र झुप्राहरूलाई भूमिसात पार्ने गरी आयौ । लालाबाला, बुढाबुढी, अन्ध अपाङ्ग र जवाँमर्द सबैसबै थर्कमान हुने गरी आयौ । तिम्रो यो आगमनका कारण नेपाली धरातलमा धेरै कुरा पुरिएका छन् । भत्किएका छन् । छोपिएका छन् । तिनलाई खोतलेर निकाल्न हामीलाई निकै वर्ष लाग्ने भयो । त्यो त छँदैछ । तर फेरि पनि तिम्रै प्रिय अनुकम्पाले हामीकहाँ लुकेका र छोपिएका थुप्रै कुरा छ्याल्ल ब्याल्ल भएर बाहिर निस्किएका पनि छन् । त्यसकारण पनि प्रिय भूकम्पु, तिमीलाई धन्यवाद दिन म केही हरफहरू कोर्ने प्रयत्न गर्दैछु ।

भूकम्पु, पटक पटक आएका तिम्रा जोडदार धक्काले हामीलाई विचलित मात्र बनाएन, हाम्रा सोच, मान्यता, नियत क्षमता सबै कुरा ज्वालामुखीबाट लाभा निस्किए झैं एकै पटक बाहिर निस्किएका छन् । तिम्रो धक्का थाम्न नसकेर गल्र्याम गुर्लुम लडेका काठमाडौंका महलहरूका भग्नावशेषबाट महानगरपालिकाका कर्मचारीहरूका भ्रष्ट मनोवृत्तिको धूलो बुङ्बुङ उडिरहेको छ । दुई तलाको नक्सा पास गरी साततला उचाल्ने महलवासी धनाड्यको नियत पनि त्यही धूलोसँग एकाकार भइरहेको छ । नक्सा पास गरे पनि नक्सा बमोजिम घर बने नबनेको अनुगमन गर्ने इन्जिनियरको नियत पनि त्यही धूलोमा काइदासँग मिसिएको छ ।

कुरो यो त सामान्य भयो, हाम्रा योजनाविदहरू, हाम्रा विज्ञहरू, हाम्रा नेताहरू, सरकारी निकायका उच्च पदस्थ महानुभावहरू कति दूरदृष्टि राख्दछन्, आम नागरिक र यो राष्ट्रप्रति कति दायित्वबोध गर्दछन् भन्नेसम्मको जानकारी तिम्रै उपस्थितिका कारण छ्याल्लब्याल्ल भएको छ । तिमीले माटो हल्लाउँदा जसरी भूगर्भभित्र रहेको पानीको तह सतहमै आएको थियो त्यसैगरी कमजोर संरचना निर्माण गर्ने ठेकदार र ठेक्का दिने सरकारी अधिकारी बिच हुने गरेका अदृश्य लेनदेनका यथेष्ट प्रमाणहरू यत्रतत्र छरपष्ट भएका छन् । मिसन, कमिसन, बोलकबोलका भरमा हुने गरेका यस्तै अनेकन कारनामाहरूलाई हामी सबैले देख्ने गरी उदाङ्गो पारि दिने तिम्र्रो अनुकम्पालाई धन्यवाद नदिइरहन कसरी पो सकिन्छ र !

प्रिय भूकम्पु, तिमी आएर गएको पनि दुई महिना हुन लाग्यो । तर निकै जोडदार परकम्पन पठाएर हामीलाई झकझक्याइ रहने तिम्रो पराक्रम देखेर म त हतप्रभ भएको छु । हामी प्रतिको तिम्रो यस अनुग्रहलाई खै के भनेर कृतज्ञता जाहेर गरुँ शब्द नै भेटिरहेको छैन । तिम्रा दुई चार झड्का खाएपछि हाम्रो राजनीतिमा पनि दूरगामी महत्व राख्ने परकम्पन पैदा भएका छन् । ६÷७ वर्षसम्म पानी बारबार गर्दै आएका, उस्तै परे एकले अर्कालाई सखापै पार्न तम्सनेहरू बिच पनि अहिले सहमति र सहकार्य पो हुन थालेको छ त । चार ठूला राजनीतिक दलहरूका बिच डेड दर्जन बुँदै सम्झौता सम्पन्न भयो भर्खरै । भूकम्पू, सुन्यौ के तिमीले ? यसले अब चाँडै संविधान बन्ने खतरा पैदा गरेको छ । हाम्रो अस्थिरतामा आला पालो खेल्ने खेलाडीहरू समेत लौ अब खेलो सकिने भो भनेर चिन्तित हुन थालेका छन् ।

तिम्रै कृपाले यसरी कहिल्यै सम्भव नहुने भइसकेको काम सम्भव हुन लागेको जानकारी तिमीलाई दिन पाउँदा मन गदगद भएको छ । के थाहा, न ती दुष्ट खेलाडीहरूले आफ्नो परम्परागत खेलो जारी राख्न कतै चोसो पसार्दै फेसो पो हाल्ने हुन् कि । त्यसकारण भूकम्पू तिमीले चटक्कै माया मार्नु भएन, बेला बेला ४÷५ रेक्टरका पराकम्पन मार्फत आफ्नो उपस्थिति जनाइराख है । अस्ती २ दिन तिम्रो परकम्पन नआउँदा चार दलीय सहमति झण्डै बिथोलिएको थियो । धन्न भोलिपल्टै ४.६ रेक्रटर कम्पन अनुभव गर्न पाइयो । हो त्यसपछि नै सहमतिमा हस्ताक्षर सम्पन्न भएथ्यो । हैन मलाई पनि तिम्रो परकम्पन बेला बेला नआउँदा, नियास्रो पो लाग्न थालेको छ है । कस्तो अनौठो माया प्रीति बस्यो हँ तिमीसँग ! अहिले यी पङ्क्ति लेखिरहेकै बेलामा पनि दोलखाको सिँगटीलाई केन्द्रबिन्दु बनाएर ५.२ को धक्का आइ त हाल्यो । तिम्रो र मेरो वेभलेन्थ मिलेजस्तो छ । नत्र मैले सम्झनु र तिमीले सम्झनु एकैपटक कसरी हुन्थ्यो त हकि ! जेहोस् नकारात्मक अनेक क्षति हुँदाहुँदे पनि नेपाली राजनीतिलाई सकारात्मक धक्का दिने तिम्रो खूबीलाई चाहिँ मान्नै पर्छ वा... । त्यसकारण पनि प्रिय भूकम्पू धन्य, धन्यवाद छ तिमीलाई । तिमी नै स्वयम् हलचलपूर्ण तरिकाले उपस्थित नभए पनि हामीलाई झस्काइरहने परकम्पन पठाउन नछोड है, कमसेकम संविधान बनेर घोषणा नहुन्जेल ।

उही तिम्रो हतभागी
पीडित

कलङ्की, काठमाडौं
छलफल साप्ताहिक, वर्ष ३३, अङ्क ३३, २०७२, जेठ ३१