यसपालि नेकपा एमालेले भूकम्पपीडित क्षेत्रमा अभूतपूर्व सेवा पुर्याीयो भनेर थुप्रै समाचार आए । बीसौँ हजार घर–टहरा निर्माण, पच्चीसौँ हजार भग्नावशेषको व्यवस्थापन, नेताहरू स्वयं काममा खटेको इत्यादि कुरा आए । तिललाई पहाड बनाउने हाम्रा राजनीतिक दल र दलका आ–आफ्ना सञ्चार माध्यम १ भोट बटुल्ने त्यो प्रचार प्रपञ्चमाथि एउटा दह्रो झटारो हान्ने प्रपञ्च रच्दै थिएँ, म पनि ।

स्वयंसेवामा खटिएका कार्यकर्ताको मनोरञ्जन र उत्साहका लागि व्यंग्य कविता सुनाउन आइदिनुपर्यो् भन्ने बारम्बारको अनुरोधपछि एकदिन अल्छी मान्दै गएँ म, ललितपुरको एउटा गाउँमा । त्यहाँ एमालेका थुप्रै नेता–कार्यकर्ता झिलिमिली ड्रेसका साथ भेला भएका रहेछन् । मलाई लागेको थियो, त्यहाँ केही नेता–कार्यकर्ता जम्मा होलान्, ‘गाउँगाउँबाट उठ’ भन्ने गीत गाउलान्, भाषण गर्लान् । नेताहरूसँग टाँसिएर कार्यकर्ताले पोजपोजका तस्बिर खिचाउलान्, फेसबुकमा पोस्ट गर्लान् । नेताहरूले एक–दुई घरका भित्तामा बाँसले घोचेर वा भग्नावशेष कोट्याएर कामको उद्घाटन गर्लान् र जरुरी मिटिङ छ भन्दै पजेरो चढेर सहरतिर फिर्लान् । कार्यकर्ताले दुई–चारवटा इँटा यताबाट उता सार्लान्, उताबाट यता झार्लान् । खुइय्य खुइय्य गर्लान् । यसो लुकीछिपी रेस्टुराँतिर छिरेर बियर–सियर तान्लान् र फर्केलान् ।

तर, मेरो अनुमान पूरै फेल भयो । त्यहाँ त्यस्तो केही भएन, बरू अनौठा र अपत्यारिला दृश्य देखिए । स्वयंसेवकहरू गीत–कविता सुन्नमा भन्दा काममा जान हतार गर्न थाले । मेरो व्यंग्य कविता पहिलोपल्ट फ्लप भयो, म अलि निराश पनि भएँ । नेताले भाषण गर्न थाल्दा त टोलीहरू डोरी र झम्पल बोकेर परपर पुगिसकेका थिए । अचम्म के भने नेताहरू पनि बीचैमा भाषण रोकेर हतारहतार कार्यकर्ताका पछि लागे ।

बैंकमा भोट सञ्चय गर्न यिनीहरूले कतिसम्म नाटक गर्दा रहेछन् भनेर म पनि पछि लागेँ । हेर्दाहेर्दै तिनीहरू बाँदरको गतिमा धराप घरका छानाछानामा चढेर धमाधम झिँगटी झार्न थाले । खुइलिएको तालुमा जेठको तातो घामले पोलेको पनि वास्तै नगरी धूलोको कुइरीमण्डलमा फसेर खिया परेका जस्तापाता र कीलाकाँटीसरिका काठपात पन्छाउँदै चाङ लगाउँदै गर्न थाले । वर्षौंदेखि शारीरिक श्रम गर्न छाडेका भ्यात्ले भुँडीवाला जागिरे कार्यकर्ता पनि डोरी लगाएर धराप घरका छाना तान्दै पछार्दै गर्न थाले । घरमा लडेको लोटा उठाउन पनि नभ्याउने नेताहरूले तिघ्रा र पाँसुला दरफर्याकएर घाइते हुँदा पनि काम गरिरहेको देख्दा मैले बेलाबेलै आफैँलाई चिमोट्नुपर्योि, सपनाबाट ब्यूँझाउन ।

त्यो जम्मै देखेर फर्किएर पनि म ढुक्क थिएँ, दुई दिनमा यिनीहरू थाकेर कुना पसिसक्छन् । तर, त्यस्तो भएन । भर्खरै अर्को समाचार आयो, उनीहरू २४ हजारको संख्यामा अझै भूकम्पपीडित क्षेत्रमा खटिरहेकै छन् र अझै केही साता बसेर सबैलाई घर बनाइदिएर मात्रै फर्किनेछन् । हुँदा हुँदा अब पार्टीका तीन लाख सदस्य तीन दिनसम्म पीडित क्षेत्रमा खटिने भन्ने समाचार आएपछि त म खुत्रुक्कै भएँ । राजनीतिक दल र नेताहरूलाई व्यंग्य ठोक्ता ठोक्ता अह्ररो भएको कलम आज अचानक अलिकति लुलियो । एमालेलाई चुनौती दिने गरी कांग्रेस, एमाओवादी र अरू दलले पनि यस्तै उपद्रवी काम गर्न थाले भने मेरो झन् के गति होला १ यो भुइँचालोले कतै मेरो रोजीरोटी त खोस्दैन रु यस्तो चिन्तामा पो रमाइरहेको छु म अचेल ।
नेपाल साप्ताहिक