संविधान बनाउने काममा विलम्ब भए पनि सुविधाधामलाई ग्यारेन्टीसाथ अविलम्ब मूर्त र स्थायी बनाउन दाता सम्मेलन समाप्तिलगत्तै प्रथम प्राथमिकतामा दिनुपर्छ । ऐरे, खैरे, जैरे, नत्थु, खैरेहरूका विरोधका स्वरलाई अवरोध गर्न विभिन्न तिकडम सिर्जना गरी सुविधावादको पगरी कचहरीमार्फतै ढल्काउनु हामी अभिजनको अन्तर्मनको पुकार हो ।
शास्त्रीयतावादहरू इति भएर लोकायतवाद अथ भएको बेला हो यो । यतिखेर निर्विवादवादको रूपमा ‘सुविधावाद’ पूर्वपन्थीदेखि पश्चिम, उत्तर र दक्षिणपन्थीसम्मका लागि विकल्पविहीन भएर मौलाएको छ ।

बहुलवाद, पुँजीवाद, समाजवाद, फेवियनवाद, व्यक्तिवाद, राष्ट्रवाद, आदर्शवाद, अराजकतावाद, माक्र्सवाद, साम्यवाद, श्रेणी समाजवाद, गान्धीवाद, माओ, लेनिन, ख्रुस्चेभ स्टालिनजस्ता सबै वादमा बाथ आइसकेको, खिया लागिसकेको र उग्लाइ चढिसकेको हँुदा आजको जल्दोबल्दो र सर्व्प्रियवाद ‘सुविधावाद’ नै सबैमा प्रीतिकर बन्दै गएको हो । यो वाद मान्दा कुनै पनि शीर्ष नेतामा दुविधा, हिलो छ्यापाछ्याप, आरोप–प्रत्यारोप, गाली–प्रतिगाली–महागाली, पुत्ला जलाउने टन्टादेखि भुत्लाभुत्ली, तानातान, हानाहान र संसद्का प्रयोजनमा आउने कुर्ची, लाउडस्पिकर, सोफालगायतकाले एका बिहान चिहान खन्न पर्ने जरुरत पनि पर्दैन । आमहड्ताल र बन्दका लन्ठाले डन्डा पनि घुमाउँदैनन् । भागबन्डावादको धरातलमा खाइखेली ठाडो भएको ‘सुविधावाद’ नेपालका प्रायः सबै दलका शीर्ष नेताहरूको दिमागी कमालको उब्जनी हो ।

साधारणबाट असाधारण वाशिष्ट, शिष्टबाट विशिष्ट र विशिष्टबाट अति विशिष्ट बन्ने क्रम हुन्छ सच्चा राजनीति तथा सच्चा राजनेतामा । तर, यो आदर्शवादको उडान भरेर जीवनभर दुःखी र बेचैन हुनुभन्दा समयानुकूल ‘सुविधावाद’को साथमा माथ चम्काएर एक बारको जिन्दगीमा ‘ऋणं कृत्वा धृतं पिवेत्’ सिद्धान्तमा आजीवन मस्ती मार्नु नै शर्म नमानीभन्दा आजको राजनीतिक धर्म हो । वास्तवमा ‘जोगी वाफकिर हुन हामीले राजनीति गरेको हैन,’ ती त बेबकूफ हुन् जो आदर्श राजनीति गर्ने भनेर तीन न तेह्रको दुःख उठाए । त्यसैले विशिष्टबाट अशिष्ट भए नि कसका बाउका के जान्छ ? सुविधावादकै झनडामा ‘त्वम् शरणम्’ पर्न यतिखेर सत्तामा भएको बेला अनुकूल विधेयक ल्याई भोलि भूतपूर्व भएर बस्दाको थितिमा यही राजसी शान, शौकत र मानमा भाले भएर जिउनुपर्छ । यसैले सबै शीर्ष नेताहरूले यो गायत्री मन्त्र ‘काले–काले मिलेर खाऊँ भाले’ पुनर्पठन गर्दै ‘सुविधावाद’का लागि संगठन गर्नु अपरिहार्य देखेरै हाम्रो हाको–डाँको भएको बेला पूर्व्विशिष्टहरूलाई छेरुन्जेलको सुविधा दिन ढिलो नगरी विधेयक बनाई कानुनको लालमोहर लगाउन जति अवगाल आए पनि कम्मर कसेर लाग्नुपर्छ ।

सत्तामा हुँदा कमिसनको मिसन चलाइयो, कैयौं बारदातमा जनता वा प्रजाका ज्यान तलमाथि परे होलान्, कैयौं योग्य र राम्रा मान्छे हाम्रा नपर्दा स्वर्णिम अवसरबाट वञ्चित पनि गरियो होला । कैयौं दाताका हाता छिरेर आफ्ना बैंक खातामा दौलतका बाक्ला गाता हालियो होला र दादा–डन तथा अपराधी छुटाउन न्यायलाई घोक्रे ठ्याँक लगाएर पात्रहरूलाई ¥याख¥याख पारियो होला । कैयौं सतीसावित्रीलाई रेडलाइट एरिया पु¥याउन तस्कर एवं दलालका हलाल पनि भए होलान् । यी सबै त्रासबाट त्राण पाउन र आजीवन ठालू भएर भालुनाच देखाइरहन पनि हामीजस्ता सदावहार अगुवाहरूलाई सुविधावाद प्राण वा अस्तित्वको गतिलो टेको हो ।

हुन त यतिखेर महाभूकम्पको घनचक्करले कैयौं जनता घरबारविहीन भएर अक्करमा परी ठक्कर खाइरहेका छन् । अर्का्तिर प्राकृतिक विपदाले क्षतिग्रस्त मुलुकलाई पुनर्निर्माण र नवनिर्माणमा दाताहरूका मुटु–मस्तिष्क पगाल्नुपर्ने दायित्व पनि हुँदा यो सुविधावादको विधेयकलाई कानुनमा रूपायित गर्न केही कठिनाइ अवश्य हुन सक्छ, किनकि एकातिर पीडित जनता राँक्किन सक्छन् भने अर्का्तिर दाताहरू हाम्रो सुविधावादी वादमा मुठ्ठी कसेर दान, अनुदान र कर्जामा षड्यन्त्रको चर्खा चलाउन पनि सक्छन् । यसै भएर यो राजसी सुविधालाई यतिखेर हाइलाइट नगरी सुटुक्क पारेर खुसुक्क दिनु पो पर्छ । सभामुखले कालोमुख पारे भनेर राष्ट्रपतिलाई फकाउनुपर्छ ।

भन्नेहरूले भन्दै गर्छन् । आन्तरिक र बाह्य आक्रोशलाई कोसौं टाढा राखेर दातालाई जनताका समस्यामा केन्द्रीकृत गराउनुुपर्छ भनेर, अनि दातृ सम्मेलनपछि मात्र दाताका फिँजारिएका हातलाई एकद्वार प्रणालीमा छिराएर सुविधावादलाई हाम्रो अनुकूल आवाद गर्नु नै बुद्धिमानी हुन्छ । एकद्वार प्रणलीको आली लगाएपछि त ‘कहाँ जालास् मछडी मेरै ढडिया’, ‘चुच्चे ढुङ्गो वहीं टुङ्गो’ भन्ने उखान चरितार्थ गर्ने क्षमता त हामीसित छँदैछ ।

शमशेरको भूत र शाहको प्रेत चढिसकेको छ हाम्रो दैनिकी । यसैले विगतमा भएका राहत सामग्रीको पक्षपातपूर्ण व्यवहार नचर्काउन यतिखेर सञ्चार जगत्मा अचारको चटनी दिन जुन कोणबाट पनि सफल बन्नु हाम्रो राजनीतिको रणकौशलता वा कूटनीतिक दक्षता हो । यस्ता काइते काममा त हामी आइते साँढेझैं दक्ष नै छौं । कौटिल्य, मेटरनिख, हेरनिकिसिन्जरलाई समेत माथ गर्ने राजनयज्ञ योग्यता भएका हामीजस्तालाई यो काम कमिलालाई मूतको पैरोजस्तो हुँदैन । आवास, मोटर सुविधा, इन्धनको फ्यासिलिटी, एकमुस्ट अतिथि सत्कारको रकम हजम पार्दै आफ्नो सचिवालयमा बची बसेका धुपौरे, कुरौटे, अरौटे, भाट, स्तुतिपाठक, नाता, चाकर, जमात र जुनियर डनहरूलाई रोजगारी दिने गोल्डेन चान्समा सुविधावादले राम्रै डान्स देखाउन सक्छ । यसरी सरकारका तीनै अंगबाट निवृत्त भएर रहेका भूतपूर्व टाउकेहरूको अभूतपूर्व विगतको मूल्यांकन गरी ‘सुविधावाद’ को आडमा देशको ढाड सेक्ने उत्सवलाई प्राण र त्राण भर्दा सत्तास्वादको अतीत चुसिरहन पाइन्छ । विकसित र पौरखी देशको मनग्य उदाहरण पस्किएर नेपाली हावापानी र माटोले पचाउन गाह्रो माने पनि सुविधावादको डबलीमा विधेयकमार्फत नाच देखाउनुपर्छ । कतै कसैबाट आँच आएका तिनीहरूको अस्तित्व भाँच गर्न पनि पार्टी हाइकमा तयार रहनु आजको धर्म हो ।

यसैले संविधान बनाउने काममा विलम्ब भए पनि सुविधाधामलाई ग्यारेन्टीसाथ अविलम्ब मूर्त र स्थायी बनाउन दाता सम्मेलन समाप्तिलगत्तै प्रथम प्राथमिकतामा दिनुपर्छ । ऐरे, खैरे, जैरे, नत्थु, खैरेहरूका विरोधका स्वरलाई अवरोध गर्न विभिन्न तिकडम सिर्जना गरी सुविधावादको पगरी कचहरीमार्फतै ढल्काउनु हामी अभिजनको अन्तर्मनको पुकार हो । त्यसैले प्रायः बिप्ल्याटा देशरत्न बनाइएका हामी मिति गुज्रन लागेकाहरू मुठ्ठी कसेर सबै एकै स्वरमा स्वर मिलाएर कुर्लंदै भन्छौं ः सुविधावाद— जिन्दावाद, भागबन्डावाद— अमर रहोस् । अब अन्य सबै बकम्फुसे शास्त्रीयतावादका गफहरू रफ हुन् । एकल, अकाट्य, निर्विकल्प हाम्रो हावापानी, माटो र भैंचालोजस्ता दैवीजालोलाई सुहाउने पूर्व शिष्ट, विशिष्ट र अतिविशिष्टहरूको ‘सुविधावाद’ नै जिन्दावाद, अरू सबै ‘शास्त्रीयवाद’ शववाद !!!
धादिङबेँसी