एक

ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ । र लापरवाहीका साथ चुरोटको धुवाँ उडाउन थाल्छ ।

दुई

दुलिचन्द रुङ्गटाले मागअनुसारको रकम नदिने भएपछि ग्याङको नेता जोगिन्दर ‘आगबबुला’ भएको थियो । उसले सुकेको पहेंलो घाँसमा लहरै बसेका आफ्ना साथीहरुतिर हेरेर दिमागमा अपर्झट आएको प्लान सुनायो ‘अब दुलिचन्दको अपरहण नगरी भएन ।’
‘अपहरण……..?’ सबैले एकैसाथ दोहोर्‍याए । ‘यही उपाय बाँकी छ ।’ जोगिन्दरले भन्यो, ‘अरु केही गर्न सकिंदैन ।’
‘आजकाल पुलिसहरुका कडा पहरा छ ।’ बीरबलले केही सोचेर भन्यो ।
‘साले पुलिसहरुले हामीलाई देखेपछि छाड्दैनन् ।’ बीरवलको भनाइमा बसिरले सही थाप्यो ।
‘तिमीहरु डरपोंक हौ ।’ जोगिन्दरको स्वर कडा थियो ।
‘थोरबहुत खिलाइपिलाइ गरिदिए सब ठीक हुन्छ ।’ नवलले भन्यो ।
‘पहाडिया पुलिसहरु धेरै ठूलो मुख बाउँछन् ।’ जुमाद्दीनले मुख फटाएर अभिनयसाथ भनेकोले सबै हाँस्न थाले । बस्तीभन्दा केही टाढाको आमबागमा सबै भेला भएका थिए । यहाँ कमै मानिसको आवत-जावत हुन्थ्यो । साहेबज्यूको पुस्तैनी आमबाग केही वर्षदेखि लावारिस अवस्थामा थियो । द्वन्द्वकालमा गाउँलेहरुले कब्जा गरेका थिए । त्यसबेलादेखि हेरविचार गर्ने मानिस आउन छाडेको थियो । आवाज आएकोले सबै सावधान भएर हेर्न थाले । एउटा सानो जन्तु बगलबाट भागेको देखापर्‍यो ।
‘नेवला हो ।’ बसेसरले दाहिने आँखा झिम्क्यायो ।
‘मलाई कुनै अरु नै लाग्यो ।’ जोगीले भन्यो ।
‘होइन नेवला नै हो ।’ बसिरले जोड दियो ।
‘यतातिर गहुँवन पनि धेरै पाइन्छन् ।’ जुमाद्दीनले नयाँ कुरा झिक्यो ।
‘दुलिचन्दले कतिसम्म दिने भन्यो ?’ नवलले कुराकानीलाई मोड्न खोज्यो, ‘आधाजति होला ।’
‘आधाभन्दा धेरै कम भन्यो ।’ जोगिन्दरले मुख बिगार्‍यो ।
‘मख्खीचुस सेठ…..।’ नवल फुसफुसायो ।
‘दुलिचन्द एक नम्बरको कन्जुस हो ।’ बीरवलले नवलतिर हेरेर भन्यो, ‘कमिना हो ।’
‘सबैभन्दा मारामार चल्ने फौरेनगुड्सको पसल उसकै हो ।’ बसिरले भन्यो ।
‘ब्लेकियाहरु पालेर माल पारको धन्दा गर्छ ।’ बसेसरले मुख खोल्यो ।
‘दुलिचन्दको शमिल पनि त्यत्तिकै चल्छ ।’ जुमाद्दीनले थप्यो ।
‘यति धनी भएर पनि चुतियागिरी गर्छ ।’ जोगीको पनि चित्त बुझेको थिएन ।
आमबागको छेउ भएर कच्ची सडक जान्थ्यो । त्यहाँबाट केही बयलगाडा गुजि्ररहेका थिए । गाडावालहरु गर्मीको आलसले गर्दा निदाएका देखिन्थे । गाडामा जोतिएका थकित बयलहरु अभ्यासको भरमा अघि बढिरहेका थिए । बयलगाडा देखेर केही भन्न खोजिरहेको जोगिन्दर चुप लाग्यो ।
‘के भयो ?’ जोगीले सोध्यो ।
‘केही होइन ।’ जोगिन्दरले भन्यो ।
‘मधेसी हितका लागि व्यापारीहरुले पनि साथ दिनुपर्छ ।’ केहीबेर पछि बसेसरले भन्यो ।
‘हामी कुनै भिखारी त होइनौ ?’ बसिरले थप्यो ।
‘पैसा माग्यो कि यिनीहरुको गाँड फाट्छ ।’ जुमाद्दीनले तितो पोख्यो ।
‘हामीले त्यत्ति बढी मागेका पनि त होइनौं ।’ बीरवलले भन्यो ।
‘मधेसमुक्तिका लागि कोही पनि गम्भीर छैन ।’ बसेसरले गम्भीर भएर भन्यो, ‘यो उचित होइन ।’
‘तिमीहरु अनावश्यक कुरोको पछि नपर ।’ जोगिन्दर जङ्गयिो ।
‘के हामी मधेसीहरुका लागि लडिरहेका होइनौं ?’ बसेसर जोशियो ।
‘चुप लाग ।’ जोगिन्दरको निधार खुम्चियो, ‘दुलिचन्दको मुनिम भरताले खबर पठाएको छ ।’
सबै सजग भएर अलि उँचो ढिस्कोमा बसेको जोगिन्दरतिर हेर्न थाले । गर्मी असाध्यै बढेको थियो । चराहरुसमेत सुस्ताइरहेका लाग्थ्यो ।
कहिलेकाँही कौवाको कर्कस आवाज सुनिन्थ्यो । आमका हरिया-हरिया पात फिरफिर हल्लिरहेका थिए । त्यहाँबाट आएको हावाले थोरै राहत दिन्थ्यो । हावा तातै थियो । पसीनाले सबैका कमीजभित्रका गन्जी निथु्रक्क भिजेका थिए ।
‘भरताले के खबर पठाएको छ ?’ नवल र बसिरले एकसाथ जोगिन्दरसँग सोधें ।
‘भोलि मंगलबारका दिन कामविशेषले दुलिचन्द यतातिर आउँदैछ ।’ जोगिन्दरले साथीहरुतिर हेरेर बिस्तारै भन्यो, ‘यही मौकामा त्यसको अपहरण गर्नुपर्छ ।’
‘भरताको खबर पक्का हो ?’ नवलले उत्सुकता देखायो ।
‘एकदम पक्का हो ।’ जोगिन्दरले निधारको पसिना पुछ्यो, ‘ऊ पनि हाम्रो पार्टनर हुन चाहन्छ ।’
‘बढा काइँया खालको मानिस हो भरता ।’ जोगीले यो मन पराएन ।
‘ठीक छ, ठीक छ ।’ जोगिन्दरले निर्णयको स्वरमा भन्यो, ‘भोलि हामी दुलिचन्दको अपहरण गर्छौं ।’
एकाएक एउटा टिकोरा अगाडि झर्‍यो । निकै ठूलो साइजको थियो । दुई-चार अरु पनि झरे । आमबागले पनि अपरहणको प्रस्ताव मानेको ठानेर सबै दङ्ग परे । र समर्थनमा आ-आफ्ना टाउका हल्लाए । बसेसरको आँखामा अलिकति दुविधा थियो । आखिरमा दुलिचन्दको अपरहणका लागि बेलैमा जम्मा हुने अठोटका साथ सबै ग्याङका सदस्यहरु घर फर्किए ।

तीन

बिहारबाट छिरेका पेशेवर अपराधीहरुका आँखा सुनसानमा उभिएको जोगिन्दरमाथि पर्छ । केही दिनदेखि यिनीहरुले कुनै शिकार भेट्टाएका थिएनन् । एउटा मालदार देहाती बनियाजस्तो लाग्ने मोटोघाटो जोगिन्दरलाई देखेर सबैका अनुहार चम्किन्छन् । त्यसपछि चारैतिरबाट घेरेर बिहारी गिरोहले जोगिन्दरको अपहरण गर्छ ।
(डायनोसर जिउँदो छ बाट)