सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘कार’ पाउने र नपाउने शब्दहरू !

Nepal Telecom ad

मैले नेपाली भाषा पढाउने सिलसिलामा ‘कार’ लाग्ने र नलाग्ने शब्दसम्बन्धी पाठ सुरु गरेँ । कथा लेख्ने कथाकार, उपन्यास लेख्ने उपन्यासकार, नाटक लेख्ने नाटककार, कलाको काम गर्ने कलाकार, गीत लेख्ने गीतकार, सङ्गीत भर्ने सङ्गीतकार । कविता लेख्ने कवि, लेख लेख्ने लेखक र गीत गाउने गायक । बिचमै कुरो काटेर एउटी बतुरी छात्राले कुरो थपिन् । कथा, उपन्यास, नाटक, गीत, कला आदि क्षेत्रमा लाग्नेहरूको व्यवसाय राम्रो चलेको हुनाले टन्न पैसा कमाए, कार किने । लेख्न वा गाउन नजान्ने कवि, लेखक र गायकको व्यवसाय चलेन, यसैले ती बिचराहरू चाहिँ पैदलै हिँड्छन् अथवा साइकलसम्म चढ्छन् । पालैपालो विद्यार्थीहरूले आआफ्नै तर्क प्रस्तुत गरे ।

अचेल कविता कविताजस्तो हुन छोडेछ क्यारे ! श्रोताहरू कविता सुन्छन्, कविलाई न त नमस्कार गर्छन्, न तिरस्कार । “कवि कविता होस्, कविता कवि होस् तब पो कविता कविता हुन्छ । शब्द थुपारीकन के हुन्छ ? भाव भए पो हुन्छ ।” भनिएको छ । कवि कविता हुनुपथ्र्यो र कविता चाहिँ कवि हुनुपथ्र्यो । कवि कविमात्रै भए, कविता हुन सकेनन् । कवितामा शब्दको थुप्रो त लाग्यो, भाव देखिएन । श्रोता वा पाठकको मन छुन सकेनौँ, हामी तथाकथित कविहरूले । यसैले नमस्कार पाएनौँ । कविलाई अनादर गर्न नहुने कुरो बुझेरै होला हाम्रा पाठकहरूले तिरस्कार गर्ने साहस पनि गरेनन् । दुई वर्षअगाडि म साझा प्रकाशनबाट ‘परलोकतन्त्र’ महाकाव्य बेचाउन भनेर बिन्ती बिसाउन त्यहाँका बजार व्यवस्थापकजी–समक्ष पुगेको थिएँ । उहाँले मलाई देख्नेबित्तिकै भन्नुभयो “तपाईंले लेख्नुभएको व्याकरण हजारौँप्रति बेच्न पाए हामी प्रसन्न हुन्छौँ तर महाकाव्य चाहिँ विनामूल्य बाँड्न पनि सक्तैनौँ । ढुवानी खर्चले नै घाटा पार्छ । गोदाममा गएर हेर्नुभए हुन्छ । फिर्ता भएका सबै पुस्तक कविताविधाका मात्रै छन् ।” म झसङ्ग भएर फर्किएँ । कविलाई नमस्कार पनि छैन, तिरस्कार पनि छैन । कविप्रति पाठकको उदासीनतामात्रै छ ।

आयो कुरो लेखकको । अचेल पत्र–पत्रिकामा छापिने लेख पढ्दा पाठकको गिदीमात्रै छड्किन्छ । उही लेखक अगिल्लो दिन उत्तरको गुणगान गाउँछ र दक्षिणको दुहाइ दिन्छ । भोलिपल्ट उही लेखक दक्षिणको महिमागान गर्छ र उत्तरको मानमर्दन गर्छ । लेखकको लेखकीय धर्म नै देखिँदैन । विवेकहीनता छ । स्वचालित छैनन्, लेखकहरू । यसैले होला लेखकप्रति पनि नमस्कार र तिरस्कार दुवै छैन ।

गायकको कुरै नगरौँ । हिन्दी, अङ्ग्रेजी अथवा अरू कुनै भाषामा गाइएका गीतकै अनुसरण गरेर गाउँदै छन् अरे ! सङ्गीत विदेशी, स्वर पनि विदेशी । त्यसैले नेपाली गायकहरूलाई पनि नमस्कार वा तिरस्कार गर्ने चलन हट्दै छ अरे !
वास्तवमा माथिका तर्कहरू व्यर्थका छन् । ‘कवि, लेखक र गायक’ शब्द संस्कृतका शब्द हुन् । कवि शब्द आफैँमा पूर्ण भएकाले कविबाट रचिने कृति कविता भनियो । कवित्व नभईकन कविता हुँदैन । कवित्व भनेकै भाव हो । कवितामा गुण, अलङ्कार आदि विशिष्टताहरू पनि पाइन्छन् । संस्कृतको ‘कृ’ धातुबाट ‘कार’ शब्द बनेको छ । यसको नेपाली अर्थ ‘गर्नेवाला’ भन्ने हुन्छ । कवि=कविता लेख्नेवाला, लेखक (लिख्+अक)=लेख्नेवाला, गायक (गी÷गै+अक)=गाउनेवाला । ‘अक’ प्रत्ययले नै ‘कार’ शब्दको काम गरेको हुनाले ‘लेखक, गायक, नर्तक, शोषक, पोषक, रोचक, दर्शक’ आदि शब्दमा ‘कार’ प्रत्यय लाग्दैन । आजैदेखि ‘कविकार, लेखककार, गायककार’ जस्ता अशुद्ध शब्दको प्रयोग गर्न छाडिदिनुहोला, ल ?
नैकाप, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म प्रज्ञापति !

म प्रज्ञापति !

गाउँले बलदेव