उसैमाथि आस थियो
अरु कोही नहुनु र ऊ हुनु नै खास थियो
जसको हातमा छुरा थियो उसैमाथि आस थियो ।
मेरो प्रभु मेरो मालिक मेरो ईश्वर जे भने नि
ढुङ्गामाथि पोखिएको निमुखाको गाँस थियो ।
फिरौतीमा जे जति छ, आफ्नो पुरै सुम्पेपछि
हराएको छोरा देखेँ आँगनीमा लास थियो ।
मदारीको इशारामा नाच्दै मेरो छानो फाल्छ
मैले भन्थेँ मेरो सरकार ऊ अरुकै दास थियो ।
हिजै मात्र द्विपक्षीय वार्ता सफल भयो भन्थे
बिउँझिएर हेर्दा आफनै सीमा पारि बास थियो ।
‘पलाँस’ गजल सङ्ग्र्रहबाट