सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ग्रीष्म हाइकु गोष्ठीमा हिलो र गर्मी

Nepal Telecom ad

काठमाडौँ, २५ असार । नेपाल हाइकु केन्द्र (नेहा)को आयोजनामा आज ललितपुरमा भएको ‘ग्रीष्म हाइकु गोष्ठी’मा जेठ र असार महिना तथा गर्मी, वर्षा, हिलो, तातोपना आदि विम्ब र प्रतीकबाट नेपाली समसामयिक राजनीतिक, आर्थिक, सामाजिक अवस्था प्रतिविम्बन गरियो ।

नेहाका अध्यक्ष रामकुमार पाँडे तथा हाइजिन मुकुन्द आचार्य, बमबहादुर जिताली, चन्द्रकला शाह, श्रीहरि फुयाँल, विन्दु दहाल मूकदर्शक, श्याम रिमाल, प्रकाश पौडेल, सुनिल पुरी, सुमी लोहनी, मित्रबन्धु पौडेल र शेरबहादुर तामाङले हाइकु वाचन गर्नुभएको थियो । पाँडेको यो हाइकुले स्रोताको ध्यानकर्षण गरेको थियो –
सिम खेतमा
सप्रियो घाँसै घाँस
जुका ढाडियो ।
सो अवसरमा केन्द्रका अध्यक्ष पाँडेले नेपाल ऋतु, जातजाति, संस्कृति र चाडपर्वका हिसाबले धनी मुलुक भएकाले यहाँ हाइकु सिर्जनाको ठूलो सम्भावना भएको बताउनुभयो । नेवाःहाइकुका प्रधानसम्पादक इन्द्र मालीले विम्ब र प्रतीकसहित अनुप्रासयुक्त हाइकु लेख्न आग्रह गर्नुभयो । सो अवसरमा झापाका विन्दु दहाल मूकदर्शकद्वारा लिखित ‘घाइते युग’शीर्षक हाइकुसङ्ग्रह विमोचन गरिएको थियो । कृतिमा ७५० हाइकु समाविष्ट छन् ।

‘नेपाली हाइकु’पत्रिका प्रकाशन गर्दै आएको केन्द्रले हेमन्त, शिशिर र वसन्त हाइकु गोष्ठी सम्पन्न गरिसकेको छ । आगामी साउनमा ‘भूकम्प हाइकु गोष्ठी’गरिने बताइएको छ । नेपालमा हाइकु लेखनले पचास वर्ष पूरा गरिसकेका सन्दर्भमा (विसं २०१९मा शङ्कर लामिछानेबाट सुरु) यसै वर्ष पचास जना वर्तमान हाइजिनको पचास पचास हाइकु र दिवङ्गत हाइजिनका केही हाइकु समाविष्ट गरी बृहत् ग्रन्थ प्रकाशन गरिने जानकारी अध्यक्ष पाँडेले दिनुभयो ।

जापानबाट भित्रिएको लघुकाव्य हाइकुमा तीन हरफमा सत्र शब्द(पाँच, सात र पाँच) हुन्छन् जसमा मौसम, प्रकृति र संस्कृतिका विम्ब प्रयोग हुन्छन् । रासस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad