..........
यो मादक शून्यताले भरिएको
एउटा सुनसान र निस्पृह अन्धकारभित्र
फेरि बज्न थाल्यो अलार्म !
..........
किरिङ् रिङ्... किरिङ् रिङ्... !
..........
अर्केष्ट्राको कति मीठो धून निस्कियो
शरीरका सातओटै प्वालहरुबाट !
आहा !
तिमी मैनका आँखाहरूखुलै छाडेर
निदाएकी छ्यौ सुनको पलङमाथि !
अनुहारभरि धप्प धप्प
बलिरहेको छ काँचको ज्योति !
तिम्रो शरीरबाट पनि
छिर्लिङ्... छिर्लिङ्...
बजिरहेको छ चुरीको गीत !
..........
भोलि फेरि
मिर्मिरेमै उठेर
धुनु छ लुगा, जानु छ कारखाना
तर समय अगाडि नै
बज्न थाल्यो पापी अलार्म !
म आफ्नै सपनाको भीरबाट खसेर
आफ्नै आवाजले ब्युँझिएँ !
तिमी पनि त ब्युँझियौ
आफ्नै निद्राको घनघोर जङ्गलबाट !
र हामी दुवै जना मिलेर
झन् ठूलो ठूलो आवाजमा
बजाउन थाल्यौँ अलार्म !
..........
किरिङ् रिङ्... किरिङ् रिङ्... ! ...
किरिङ् रिङ्... ...
किरिङ् .... ... ...
रिङ्... ! ... ... ....
..........
यति राति नै उठेर
अब कहाँ जानु छ र !
..........
अलार्म बजाइसकेपछि
हामी फेरि चुपचाप चुपचाप
आँखा चिम्लेर सुत्यौँ
आफ्ना बाँकी सपनाहरूपूरा गर्न ... !!