कमरेड पनि आजकाल
कुकुर पाल्न थाल्नुभएको छ ।
आफूले खाने प्लेटमा
कुकुरले चाटीचुटी पारेर खाएको देख्दा
मातृवात्सल्य उम्लिएर आउँछ
कमरेड पत्नीको हृदयमा
र, आवेगमा च्वाप्प म्वाइ खानुहुन्छ
खुवाइदिनुहुन्छ
नुहाइदिनुहुन्छ
खुप स्याहार गर्नुहुन्छ ।
बरु, कमरेडपत्नीलाई
दिक्क लाग्न थालेको छ आजकाल
घरमा आइरहने मान्छेदेखि
भन्नुहुन्छ व्यङ्ग्य गरेर पतिलाई
‘कति आउँछन् हो तपाईका प्यारा मान्छेहरू !
कहिल्यै शान्तिले बस्न पाइँदैन ।’
कमरेडकी छोरी पनि
असाध्यै प्रेम गर्न थाल्नुभएको छ
कुकुरलाई आजकाल
बढ्दै गएकी छोरीले
कुकुरलाई प्रेमपूर्वक मुसारेको देख्दा
कमरेड लामो सास तान्नुहुन्छ
र, मनमनै बात मार्नुहुन्छ
‘छोरी ! निर्धनसँगको संगतभन्दा
धेरै सजिलो छ जनावरसँगको प्रेम !’
कमरेडको छोरो बिहानै उठेर
कुकुरलाई डोर्याउँदै,
सार्वजनिक स्थलमा सौच गराउँदै
जब ’मर्निङवाक’ जानुहुन्छ
कमरेड आनन्दले मुस्कुराउनुहुन्छ
र, मनमनै बात मार्नुहुन्छ
’छोरा ! खोला किनाराका सुकुम्बासी बस्ती
प्रेम गर्न होइन
सौच गर्नमात्रै योग्य छ ।’
कमरेडले आफ्नो यौवनकालभरी
सिक्नुभयो जीवनदर्शन जर्मनीका माक्र्सबाट
जीवनको उत्तरार्धतिर उहाँलाई लाग्यो–
अब धान्दैन माक्र्सको दर्शनले
अनि ल्याउनुभएको हो
माक्र्सकै देशबाट कुकुर
र, श्रद्धाले दिनुभएको हो माक्र्सकै नाम ।
माक्र्सले ठेलीका ठेली किताब लेखेर पनि
सिकाउन नसकेको दर्शन
कुकुरले नै सिकाएको हो कमरेडलाई
र, नै चल्तापुर्जा हुनुहुन्छ उहाँ आजकाल ।
उसैबाट जान्नुभएको हो उहाँले
आफ्नो खातिरदारी नगर्नेलाई
जोड–जोडले भुक्न
टोक्न(चिथोर्न
छिर्नै नदिन घरभित्र,
उसैले सिकाएको हो उहाँलाई
आफ्नो मनोकाङ्क्षा पूरा गरिदिनेको पैताला
बडो मनोयोगले चाट्न ।
उहाँलाई आजकाल
आफूसँगै हिडेका मान्छे
आफैंले बनाएका कार्यकर्ता
आफ्नै कमरेड
कसैप्रति पनि छैन विश्वास
उहाँलाई लाग्छ–
फिटिक्कै छैनन् बफादार यिनीहरू !
खासमा, उहाँलाई आजकाल
आफूलाई कमरेड भनेको पनि मन पर्दैन
र, टाढिदै जानुभएको छ कमरेडहरूबाटै ।
उहाँ आजकाल
कुकुरसँगै खेल्नुहुन्छ
बात मार्नुहुन्छ
सँगै खानुहुन्छ
सुत्नुहुन्छ
र, लेखाएर टाँस्नुभएको छ ढोकामा–
कुकुरदेखि सावधान !
शुक्रबार (३१ असार, २०७२)