सारकथन : 

‘भानुभक्तका दुई पद्यमा हास्य–व्यङ्ग्य’ शीर्षकको प्रस्तुत लेख आदिकवि भानुभक्त आचार्यका दुईवटा फुटकर पद्यमा पाइने हास्य–व्यङ्ग्यको अध्ययन–विश्लेषणमा केन्द्रित छ । अध्ययनका क्रममा हास्य–व्यङ्ग्य सम्बन्धी स्थापित पूर्वीय एवम् पाश्चात्य सिद्धान्तका आधारमा भानुभक्तका उपर्युक्त पद्यमा पाइने हास्य–व्यङ्ग्यको विश्लेषण गरी विश्लेषणबाट प्राप्त निष्कर्षका साथै विश्लेषणका आधारमा प्रस्तुत पद्यद्वयका स्रष्टाको हास्य–व्यङ्ग्यगत प्राप्तिको निरूपण समेत गरिएको छ । स्थापित मान्यताका आधारमा गरिएको प्रस्तुत अध्ययन मूलतः व्याख्या–विश्लेषणात्मक अध्ययन विधिमा आधारित छ । प्रस्तुत लेखमा नेपाली हास्य–व्यङ्ग्य सृजनाको प्रथम प्रहरमै देखा परेका भानुभक्त आचार्यले विश्लेषित पद्यका माध्यमबाट नेपाली हास्य–व्यङ्ग्य फाँटलाई शिष्टता र अपेक्षित उचाइ प्रदान गरेको निष्कर्ष निकालिएको छ ।

१. हास्य–व्यङ्ग्यको सैद्धान्तिक चिनारी

हास्य–व्यङ्ग्य साहित्यको एक प्रवृत्तिविशेष हो । ‘हास्य’ र ‘व्यङ्ग्य’ दुई नितान्त भिन्न पदहरूको योगबाट ‘हास्य–व्यङ्ग्य’ यो समस्त पद बनेको छ । ‘हास्य र व्यङ्ग्य’ अथवा ‘हास्य पनि व्यङ्ग्य पनि’ यो विग्रहबाट द्वन्द्व समास भई बनेको यस शब्दको प्रयोग पाठकलाई हँसाउँदै हँसाउँदै जीवन जगत्का विसङ्गति–विकृतिमाथि मर्मवेधी ढङ्गबाट प्रहार गर्दै सुधारको सन्देश प्रवाह गर्ने साहित्यिक रचनाविशेषका तात्पर्यमा गर्ने गरिन्छ । साहित्यमा यस प्रकारका रचनाको एउटा छुट्टै फाँट नै छ, त्यसैले कसै कसैले हास्य–व्यङ्ग्यलाई एउटा अलग्गै विधाविशेष पनि मान्ने गरेको देखिन्छ । हास्य–व्यङ्ग्य छुट्टै विधा हो वा होइन यो अलग्गै बहसको विषय बन्दै गर्ला । त्यसलाई एकातिर पन्छाएर भन्नुपर्दा पनि हास्य–व्यङ्ग्यले हँसाउँदै मनोरञ्जनपूर्ण ढङ्गबाट विषयवस्तुको आस्वाद गराउने वा सुधारको चेतना दिने हुनाले साहित्यमा यस फाँटको एउटा छुट्टै महत्व भने रहेको छ नै ।

हास्य र व्यङ्ग्य पृथक् कुरा भए पनि साहित्यका सन्दर्भमा यी सहचरका रूपमा रहेका छन् । आ–आफ्नो व्युत्पत्ति अनुसार ‘हास्य’ ले हाँस्न योग्य, हँसाउने खाले, हाँसो उठ्तो आदि अर्थ दिन्छ भने ‘व्यङ्ग्य’ बाट आउने व्युत्पत्तिगत अर्थ व्यक्त गर्न योग्य, व्यक्त गरिने कुरो आदि हुन्छ । हास्य–व्यङ्ग्य रचनाका सन्दर्भमा ‘हास्य’ शब्दको प्रयोग उही तात्पर्यमा भए पनि ‘व्यङ्ग्य’ शब्दको भने छेडपेच वा कटाक्ष जस्ता अलि भिन्न तात्पर्यमा हुने गरेको पाइन्छ । त्रिपाठी (२०५१ : ८६) का अनुसार व्यङ्ग्यको एउटा अर्थ उपहास वा आक्षेप पनि मानिएको देखिन्छ । सामान्य अर्थका दृष्टिले मात्र होइन यिनका स्वभाव, क्रियाकलाप, लक्षण आदि समेत पृथक् छन्, तापनि आधुनिक साहित्यमा यी दुवै कुरा सहचरका रूपमा आउने गर्दछन् । खास गरी पश्चिमी साहित्यमा हास्य र व्यङ्ग्यको समन्वित प्रयोग प्राचीन युगदेखि नै हुँदै आएको देखिन्छ । सुखान्त नाटकहरू यसका राम्रा प्रमाण हुन् ।

यस प्रकार हास्य र व्यङ्ग्य भिन्न कुरा भए पनि साहित्यको प्रस्तुत प्रकारका सन्दर्भमा यी दुवै एक–अर्काका सहयात्री मात्र नभई परिपूरकका रूपमा नै रहेका देखिन्छन् । व्यङ्ग्यविनाको हास्यमा असङ्गतिको चित्रण र संशोधनको शक्ति नहुने र हास्यविनाको व्यङ्ग्य बढी विषाक्त, कटु र खतरा हुने त्रिपाठी (२०३५) को भनाइले यी दुईबिचको यही परिपूरक सम्बन्धलाई सङ्केत गर्दछ । हास्य र व्यङ्ग्यको सम्बन्धबारेको अधिकारी (२०६५ : ११) को यो भनाइ पनि उल्लेख्य देखिन्छ :
तीक्ष्ण वेधकता व्यङ्ग्यको आधारभूत गुण हो । हास्यको जलपले त्यसलाई अझ तिखो बनाई समाजका उखुन्डा र अडबाङ्गा परिस्थितिलाई छिमल्न सहयोग गर्छ भने व्यङ्ग्यले हास्यलाई बौद्धिकता दिएर सोद्देश्य एवम् परिष्कृत बनाई विशिष्ट तुल्याउँछ ।
यसप्रकार हास्य र व्यङ्ग्यभित्र रहने यिनै विविध गुणहरूको समवेत उपस्थितिबाट हास्य–व्यङ्ग्य रचना सोद्देश्य र प्रभावकारी बनेको हुन्छ भने यही नै हास्य–व्यङ्ग्य रचनाको विशिष्टता र लोकप्रियताको कारण पनि बनेको देखिन्छ ।

पूर्वमा हास्यलाई रसको रूपमा लिँदै यसका स्मित, हसित, विहसित, उपहसित, अपहसित र अतिहसित गरी ६ प्रकार मानिएको छ भने यीमध्ये स्मित र हसितलाई उत्तम, विहसित र उपहसितलाई मध्यम र अपहसित र अतिहसितलाई अधम प्रकृतिका हास्यका वर्गमा राखिएको छ । व्यङ्ग्य भने ध्वनन वा व्यञ्जना व्यापारका रूपमा समग्र साहित्यकै आत्माका रूपमा रहने हुँदा यसलाई हास्यसँग जोडेर हेर्ने परम्परा पूर्वमा रहेको भेटिँदैन तापनि वर्तमान सन्दर्भमा छेडपेच वा कटाक्षको तात्पर्यमा प्रयोग गरिने व्यङ्ग्यतत्व भने हास्यरसकै उपकारक वा सहयोगी तत्वका रूपमा हास्यभित्रै समायोजित भएर आएको देखिन्छ ।

हास्य र व्यङ्ग्यलाई एकै ठाउँमा राखेर हेर्ने परम्परा पश्चिमबाटै उदाएको हो । पश्चिमी समाजमा शिष्ट साहित्यको उदय हुनुभन्दा अघिदेखि नै हास्य–व्यङ्ग्यको परम्परा रहँदै आएको पाइन्छ (त्रिपाठी, २०५१ ः १२१) । पश्चिमी परम्परामा हास्य–व्यङ्ग्यसँग सम्बद्ध रचनाप्रकारलाई ह्युमर (हास्य), सटायर (व्यङ्ग्य), विट (वाग्वैदग्ध्य), आइरनी (व्याजोक्ति/वक्रोक्ति), प्यारोडी (नक्कल), फार्स (प्रहसन), जोक (ठट्यौली), क्यारिकेचर (स्वाङ) आदि वर्गमा राखेर हेर्ने गरिन्छ । यीमध्ये ह्युमर, प्यारोडी, फार्स, जोक, क्यारिकेचर जस्ता रचना हास्यतत्वप्रधान हुन्छन् भने अरूमा धेरथोर मात्रामा व्यङ्ग्यतत्वको प्रमुखता रहने गर्दछ ।

नेपाली साहित्यको प्राथमिक कालदेखि नै हास्य–व्यङ्ग्यले प्रश्रय पाउँदै आएको देखिन्छ । प्रथमतः शक्तिबल्लभ अज्र्यालको ‘हास्यकदम्ब’ (१८५५) नाटक लगायत ‘साँढ्याको कवित्त’ आदि फुटकर रचनामा समेत हास्य–व्यङ्ग्यको सचेत रूपमा प्रयोग भएको देखिन्छ भने त्यसलाई उचाइ र स्तरीयता दिने काम प्राथमिक कालकै भानुभक्त आचार्यबाट भएको देखिन्छ । भानुभक्तको मूलतः भक्तिरसका कवि भए पनि परिधीय प्रवृत्तिका रूपमा उनले हास्य–व्यङ्ग्यलाई समेत आत्मसात् गरेको देखिन्छ । लगभग दुई सवा दुईसय वर्ष लामो नेपाली हास्य–व्यङ्ग्य साहित्यको इतिहासका प्रारम्भकर्ताकै रूपमा शक्तिबल्लभ र भानुभक्त देखा पर्दछन् । यस लेखमा यिनै दुई स्रष्टामध्येका कवि भानुभक्तका निम्नलिखित दुई फुटकर पद्यमा पाइने हास्य–व्यङ्ग्यको विश्लेषण गरिएको छ ।

२. समीक्ष्य पद्यको मूल पाठ

पद्य १ :
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात् भर्नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।
लाम्खुट्या उपिञा उडुस् इ सँगी छन् यिन्कै लहर्मा बसी
लाम्खुट्याहरू गाउँछन् इ उपिञा नाच्छन् म हेर्छू बसी ।

पद्य २ :
जागिर्छैन धनी म छैन घरको केवल् कुदालो खनी
खान्थ्याँ दुःख गरेर चाकरी ग¥याँ मान पाउँला की भनी
एक् मन् चित्त लगाई चाकरी ग¥याँ खूसी भयाछन् हरि
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ह्यै न खोस्न्या गरी
(भट्ट, २०६८ : १५ मा सङ्कलित) ।

३. प्रस्तुत पद्यमा पाइने हास्य–व्यङ्ग्य तत्वको विश्लेषण

पद्य १ को सामान्य/अभिधा अर्थ सकारात्मक वा सामान्य रहेको छ । यहाँ कवि÷वक्ताले चरणको दर्शन सधैं पाइरहेको, मनमा कुनै ताप सन्ताप नरहेको, रातभर नाच हेरेर मनोरञ्जन गर्न पनि पाउने गरेको, साथीका रूपमा लाम्खुट्टे, उपियाँ उडुस रहेको र लाम्खुट्टेको गायन तथा उपियाँको नाच हेरेर आफू बसिरहेको भन्ने देखिन्छ । यसै गरी पद्य २ मा पनि यस्तै सामान्यार्थ व्यक्त भएको देखिन्छ । यस पद्यमा कवि÷वक्ता जागिर नभएको, आफू धनी पनि नभएको, कोदालो खनेर दुःख गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा मान प्राप्तिको आशाले चाकरी गर्न थालेकोमा एक मन चित्त लगाएर चाकरी गर्दा हरि (भगवान्) खुसी भएर कहिल्यै पनि नखोस्ने गरी मानमाथि पनि भुक्तमान थपिदिएको भन्ने सामान्य÷अभिधा÷वाच्यार्थ व्यक्त छ । अभिधा÷वाच्यार्थका तहबाट हेर्ने हो भने प्रस्तुत दुवै पद्यमा हाँसो उठ्तो वा कतै छेडपेच वा कटाक्ष गरिएको कुनै अवस्था देखिँदैन । सतही अर्थमा दुवै पद्यले कवि÷वक्ताले भोगेको सामान्य स्थितिको चित्रण गर्दछन् । त्यसैले दुवै पद्य अभिधार्थमा हास्य–व्यङ्ग्ययुक्त देखिँदैनन् । अतः यी पद्यमा पाइने हास्य–व्यङ्ग्य तत्वलाई अर्थको अर्को (ध्वन्यात्मक÷व्यञ्जनात्मक) तहमा पुग्दा मात्र फेला पार्न सकिन्छ । प्रस्तुत पद्यको उक्त भित्री अर्थात् ध्वन्यात्मक÷व्यञ्जनात्मक अर्थको तहमा पुग्नका लागि यी पद्यको रचनाको प्रसङ्ग के हो भन्ने थाहा पाउनु आवश्यक हुन्छ । उक्त दुई पद्यको रचनाप्रसङ्ग के हो भन्ने कुरा यो भानुभक्तको जीवनीसम्बन्धी विवरणबाट स्पष्ट हुन्छ :

इन् ताक् कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमारकुमारात्मज श्री ३ कम्यान्डर–इन–चीफ् जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्वत् १९०७ सालका वैशाख मासमा मदेश्को जागिर पाई गये तर भानुभक्त कवि ऐ सम्वत् १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारीचोक्मा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा आम्दानी समेत्को स्याह बुझाउँदा केही बाँकी सर्का्रिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन् । ...

यस् सन्सारमा स्वतंत्र रहनुजतिको आनन्द केही छैन । परतंत्रमा रहनुजतिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन् जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । भानुभक्तले यसरी ५ मैन्हासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान् कलम्ले लेख्न सकिदैन । कदाचित् एक २ घडी युग् जस्ता भये हुनन्स भर्दिन कोठाका दलिन् गनी काट्नुपर्यो होला । कसै सित बोल्चाल् होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस बखत्को बोल्चाल् के बोल्चाल्स बहीपत्र स्याह कागत् बुझ्नेहरूको जो मिजाज् हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर इन्चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठायाको श्लोक् यो हो (भट्ट, २०६८ : १४) ।

उपर्युक्त विवरणबाट प्रस्तुत दुवै पद्यको रचना भानुभक्तले आफू कुमारी चोकमा थुनिँदाका बखत गरेको देखिन्छ । मदेसतिरको जागिरको स्याहाश्रेस्ता नमिलेपछि थुनामा परेका भानुभक्तले पाँच महिना बन्दी जीवन बिताउनु परेको थियो । एउटा स्वतन्त्र पन्छी झैं विचरण गर्ने कविले जेलभित्रको उकुसमुकुसिँदो वातावरणमा लामखुट्टे, उपियाँ र उडुसको लहरमा दिनरात बिताउनु परेको दिग्दारी व्यक्त गर्न र अझ आफ्ना मालिक श्री ३ जनरल कृष्णबहादुर राणामा समेत जाहेर गरी क्षमादानको लालसाले ठट्यौली पारामा पद्य १ को रचना गरेको देखिन्छ । यो विवरण स्पष्ट भइ सकेपछि अब भने पद्यको आन्तरिक मर्म र त्यसभित्रको हास्य एवम् व्यङ्ग्यचेत पनि खुलस्त हुन्छ ।

यहाँ पद्य १ को पहिलो पंंक्तिमा चरणको दर्शन पाएको र मनमा ताप (पीडा) नभएको कुरो व्यक्त भएको छ । जेलमा कोचिएर एकाकी जीवन बिताउने व्यक्तिले आफ्ना मालिकको चरणको दर्शन पाउनु र मनमा पीडा नहुनु विपरीत कुरा हो । यहाँ कविको भनाइ सोझो नभएर व्याजोक्तिपूर्ण रहेको छ । कवि÷वक्ताले जे भनेका छन् त्यसको आशय भने ठिक विपरीत रहेको छ । मालिकको दर्शन पनि नपाएको र मन सन्तापपूर्ण रहेको स्थिति नै वक्ताको सही आशय हो । यस्तो स्थितिलाई पाश्चात्य साहित्यमा आइरनी (व्याजोक्ति) भनिएको पाइन्छ । यस प्रकार यहाँ कविले आइरनी (व्याजोक्तिपूर्ण) शैलीबाट हास्य सिर्जना गर्न खोजिएको देखिन्छ । भावबाट प्रतिभाव व्यञ्जित हुनु (अधिकारी, २०६५ ः ७) वा वक्ताको बोलाइको उल्टो आशय बुझिने लक्ष्यार्थको प्रधानता (भट्टराई, २०५७ ः २९) हुने अभिव्यक्ति शैली नै आइरनी हो । त्यही शैलीको प्रयोगबाट कविले प्रस्तुत पद्यको यस पाउमा हास्य तत्त्वको उद्भावना गराएका छन् ।

पद्यको दोस्रो पंक्तिमा खर्च नगरी रातभर नाच हेर्न पाएको र आफू ठुलो चयन (आनन्द) मा रहेको स्थिति दर्साइएको छ । खर्च नगरी नाच हेर्न पाएको प्रसङ्ग हँस्सी दिल्लगीको रूपमा आएको छ । खर्च नगरी हेरिएको नाच भनेको लाम्खुट्टे उपियाँको ताण्डव हो । यहाँ कवि÷वक्ता थुनामा रहेको हुनाले त्यही लाम्खुट्टे र उपियाँको चर्तिकलालाई विना खर्चको नाचगान भन्ने सङ्केत गरिएको छ । यसलाई कवि/वक्ताले हँस्सी दिल्लगीका रूपमा व्यक्त गरेको देखिन्छ । दिल्लगीपूर्ण ढङ्गबाट आफ्ना मालिक समक्ष आफूलाई उपहास्य देखाएर मालिकलाई रिझाउने अभिप्राय कविको देखिन्छ । हास्योत्पत्तिको यो स्थिति पाश्चात्य हास्य–व्यङ्ग्य साहित्यको फार्स (प्रहसन) का नजिक देखिन्छ । हँस्सी दिल्लगीको प्रधानता रहनु फार्सको चिनारी हो (अधिकारी, २०६५ : ८) । दोस्रै पंक्तिको ठुला चयनमा रहेको अवस्थाले स्थितिवैपरीत्यलाई देखाउँछ । यहाँ कवि÷वक्ताले उल्टो स्थितिको चित्रणद्वारा आफ्नो वास्तविक अवस्थालाई देखाउन खोजेका छन् । यहाँ कवि÷वक्ताले आफ्नो दुर्दशाको व्याजोक्तिपूर्ण अर्थात् विपरीत कथनको प्रयोगद्वारा आफैंलाई आलम्बन बनाएर हास्यको सृजना गरेको देखिन्छ । यसर्थ यहाँ पनि प्रस्तुतिको आइरनी शैलीको प्रयोग भएको देखिन्छ ।

पद्य १ को तेस्रो र चौथो पाउमा पनि ठट्यौलो ढङ्गबाट कवि/वक्ताले आफ्नो स्थितिको वर्णन गर्दै हास्यको सृजना गरेको देखिन्छ । यहाँ थुनाभित्र सँगी (साथी÷सहचर) का रूपमा लाम्खुट्टे, उपियाँ र उडुस रहेको दर्साइएको छ भने आफ्नो अपकार गर्ने लाम्खुट्टे उपियाँ आदिलाई साथी (उपकार गर्ने) का रूपमा चित्रण गरेर प्रच्छन्न वैपरीत्यको स्थितिबाट हास्योत्पत्ति गरिएको छ । यहाँ पनि कवि/वक्ता आफैं आलम्बन बनेर व्याजोक्ति कथनका माध्यमबाट हास्य सृजना गरिएको छ । यो प्रस्तुति शैली फार्स र आइरनीको नजिक रहेको देखिन्छ ।

पद्यको चौथो पाउमा लाम्खुट्टेलाई गायक उपियाँलाई नर्तक र आफूलाई दर्शकका रूपमा चित्रण गर्दै हँसी–दिल्लगीलाई नै माध्यम बनाइएको छ भने यसबाट जेलकोठरीभित्रको परिस्थितिलाई प्रस्तुत गर्दै हास्यको सृजना गरिएको छ । लाम्खुट्टेको गुनगुन आवाजलाई गायन र उपियाँको फड्काइ/उफ्राइलाई नाचका रूपमा चित्रण गर्नु ठट्यौली वा हँसी–दिल्लगी नै हो । यही हँस्सी–दिल्लगीका माध्यमबाट कवि/वक्ताले आफू हास्यको आलम्बन बनेर आफ्नो त्यही दुर्दशामाथि व्यङ्ग्य गर्दै यहाँ कविले यो स्थितिबाट उन्मुक्तिको आकांक्षाका साथ आफ्ना मालिकको मन छुने प्रयास गरेको बुझिन्छ ।

पद्य २ पनि भानुभक्त थुनामा रहँदै लेखिएको हो । यो भानुभक्तका छोराको व्रतबन्धको समय आएकाले व्रतबन्ध गर्न पाऊँ भनी श्री ३ लाई बिन्ती चढाउन लेखिएको चार श्लोकी पद्यबद्ध बिन्तिपत्रको पहिलो श्लोक हो (भट्ट, २०६८) । यस पद्यमा कविले आफैंमाथि व्यङ्ग्य गरेका छन् । नदुखेको कपाल केजाति गरेर दुखाउनु भने जस्तै आफ्नो सुतीखेती गरेर गुजारा चलाइरहेका बेलामा मान–सम्मानको लालचले गर्दा उल्टै भुक्तमान् खप्नु परेको प्रसङ्ग यस पद्यमा आएको छ । अर्का तर्फ आफू हास्यको आलम्बन बनेर आफैंमाथि ‘खाइस् !’ को भावमा कटाक्ष गरेझैं गरी श्री ३ को निर्विवेकी व्यवहारमाथि पनि यस पद्यले व्यङ्ग्य गरेको छ । यस पद्यका प्रथम दुई पाउले कवि÷वक्ताको सामान्य स्थितिको चित्रण–वर्णन गरे पनि पछिल्ला दुई पंक्ति हास्य एवम् व्यङ्ग्यचेतका दृष्टिले निकै शक्तिशाली देखिन्छन् । पद्यको तेस्रो पंक्तिमा एक मन चित्त लगाई चाकरी गरेकाले हरि खुसी भएछन् भनिएको छ । प्रस्तुत ‘खूसी भयाछन् हरि’ पदावलीले दिने विपरीत अर्थात् ‘हरि बेखुस भएछन् वा रिसाएछन्’ भन्ने तात्पर्यबाट हास्य सिर्जना भएको छ भने यहीँनेर ‘हरि’ को रूपमा रहेको कविका मालिक श्री ३ कृष्णबहादुर राणाको निर्विवेकीपनमाथि पनि व्यङ्ग्य प्रहार भएको छ । त्यही निर्विवेकीपनकै कारण प्रस्तुत पंक्तिबाट इमान्दार भएर एक मन चित्त लगाई चाकरी गर्ने आफूमाथि भुक्तमान अर्थात् हैरानी/दुःख थपिदिएको हो भन्ने तात्पर्य बुझिन्छ । अर्कातर्फ कविरवक्ताले प्रत्यक्ष रूपमा चाहिँ हरि (भगवान्) लाई अगाडि सारेर मालिक राणालाई भने प्रत्यक्ष रूपमा लक्ष्यित नगरी परोक्ष ढङ्गले मात्र छेड हानेको देखिन्छ । अर्थात् यस पद्यमा कविले खप्नु परेको भुक्तमान हरि बेखुस भएको कारणले हो भनेर परोक्ष अर्थात् व्याजोक्तिपूर्ण प्रस्तुतिका माध्यमबाट हास्य सिर्जना गर्दै निर्विवेकी माकिलमाथि व्यङ्ग्य समेत प्रहार गरेका छन् । यहाँ पनि हास्य सृजनाका लागि कविले व्याजोक्तिपूर्ण आइरनी शैलीकै अनुसरण गरेको देखिन्छ ।

प्रस्तुत पद्यद्वयमा प्रयुक्त हास्यलाई पूर्वीय सन्दर्भबाट हेर्दा पहिलो पद्य विहसित वर्गको हास्य प्रकारका रूपमा रहेको देखिन्छ । यस पद्यमा कवि÷वक्ताले चरणको दर्शन पाइ रहेको, मनमा कुनै सन्ताप नरहेको, सित्तैमा नाचगान हेर्न पाएको जस्ता सकारात्मक स्थितिको चित्रण गरेर आफ्नो त्यस विपरीत स्थितिको आभास गराउन खोजेका छन् । यस प्रकारको विरोधाभास/भाग्यवैपरीत्य÷ स्थितिविपर्ययबाट नै कविले यहाँ हास्यको सृजना गरेका छन् । यस प्रकारको स्थितिवैपरीत्य वा भाग्यवैपरीत्यबाट सृजित हुने हाँसोबाट आलम्बनको मार्मिक अवस्था प्रकट हुने अवस्था हास्यको विहसित स्थिति हो (अधिकारी, २०६५ ः ४) । यस पद्यमा कवि भानुभक्तले आफ्नो कैदी अवस्थाको दुःखपूर्ण एवम् मार्मिक क्षणलाई यस्तै स्थितिविपर्ययका माध्यमबाट देखाएका हुनाले यहाँ यसै विहसित वर्गको हास्यको उत्पत्ति भएको देखिन्छ । हास्य सृष्टिको आधार वा आलम्बन कवि÷वक्ता स्वयम् नै हुने हास्यलाई स्वसमुत्थ (आफैंलाई आधार बनाइने) भनिन्छ (त्रिपाठी, २०५१ : ११३) । यस पद्यमा पनि कवि÷वक्ता स्वयम्ले भोगेको परिस्थिति वा अवस्थालाई हास्य उत्पत्तिको कारण बनाइएको छ । यस कारण यहाँ स्वसमुत्थ प्रकृतिको हास्यको उपस्थिति रहेको देखिन्छ ।

दोस्रो पद्यमा पनि कविले आफैंलाई हास्य सृजनाको आधार वा आलम्बन बनाएका छन्, यसर्थ यहाँ पनि स्वसमुत्थ प्रकृतिकै हास्यको अवस्था देखिन्छ । यस पद्यमा पनि कवि/वक्ताको दुर्दशा नै हास्यको कारण भए पनि हास्यको स्थिति भने फरक देखिन्छ । यहाँ कवि–वक्ता अघिल्लो पद्यमा झैं नियतिवस नभई आफ्नै दुर्बुद्धिका कारण दुर्ग्तिमा फँसेका देखिन्छन् । दुःख सुख जसै तसै जीवन निर्वाह गरिरहेको अवस्थामा खुब मान खोज्ने हुँदा भुक्तमान (दुर्ग्ति) मा परें भन्ने कवि/वक्ताको आशय प्रस्तुत पद्यमा व्यक्त भएको छ । अघिल्लो पद्यमा आलम्बनको दुर्ग्तिको कारण अन्यत्र रहेको देखिन्छ भने यस पद्यमा आलम्बन आफ्नै कारणबाट दुर्ग्तिमा फसेको देखिन्छ । अतः यहाँ ‘कठै !’ को भाव नभएर ‘खुच्चिङ्’ को भाव व्यक्त भएको छ । यसरी आलम्बन नियतिले भन्दा पनि आफ्नै नियत वा मूर्खताले हास्यपात्र बनेको स्थिति अतिहसित वर्गको हास्य हो (अधिकारी, २०६५ : ४) । यस पद्यमा पनि यही स्थिति रहेको हुनाले यहाँ अतिहसित वर्गको हास्य सृजना भएको देखिन्छ ।

४. निष्कर्ष
प्रस्तुत अध्ययनका आधारबाट हेर्दा पाश्चात्य दृष्टिकोण अनुसार विपरीत आशय व्यक्त गरिने आइरनी (व्याजोक्ति) तथा हस्सी दिल्लगीका माध्यमबाट हास्य सृजना तथा छेडपेच गर्ने फार्स शैलीको प्रयोग गरेर रचनाको अभीष्ट पुरा गर्ने हास्य–व्यङ्ग्य शैली हास्य–व्यङ्ग्यकार भानुभक्तले अपनाएको देखिन्छ । यहाँ कविले कतै आफैंलाई, कतै आफ्ना मालिकको निर्विवेकी व्यवहारलाई र कतै कुमारीचोकको आफू थुनिएको परिवेशलाई हास्य एवम् व्यङ्ग्य सृजनाको आश्रय वा आलम्बन बनाएको देखिन्छ । पूर्वीय दृष्टिकोणबाट हेर्दा हास्यको आलम्बन÷आधार आफैंलाई बनाएको हुनाले स्वसमुत्थ प्रकारको हास्यको उपस्थिति देखिन्छ भने हास्यका स्वभाव अनुसार भने विपरीत स्थितिको चित्रणबाट हास्य उत्पन्न गरिएकाले प्रथम पद्यमा विहसित वर्गको र आफ्नै कारणबाट दुर्ग्तिमा परेको चित्रण गरिएकाले दोस्रो पद्यमा अतिहसित वर्गको हास्यको स्थिति देखिन्छ ।

व्यङ्ग्यचेतका दृष्टिले हेर्दा कविले कतै आफ्नै नियतिलाई, कतै आफूले भोगेको विषम परिस्थितिलाई र कतै व्यक्तिविशेषका निर्विवेकी व्यवहारलाई व्यङ्ग्यको तारो बनाएका छन् । सतही रूपमा कविले आफैं हास्य र व्यङ्ग्यको आश्रय बनेर आफैंमाथि हाँसो सृजना गरेका छन् भने परोक्ष ढङ्गबाट तत्कालीन विषम स्थिति र मानवीय कमजोरीमाथि कटाक्ष गरेका छन् ।

दुवै पद्यमा हास्य र व्यङ्ग्यको अन्योन्याश्रय सम्बन्ध रहेको देखिन्छ । विशेषतः व्याजोक्तिपूर्ण कथनपद्धति एवम् स्थितिवैपरीत्यको प्रदर्शन हास्य र व्यङ्ग्य दुवैको उत्पत्तिका कारण बनेर हास्यले व्यङ्ग्यलाई र व्यङ्ग्यले हास्यलाई परस्पर समृद्ध तुल्याएका छन् । आफ्नै दुर्भाग्यलाई कोसेजस्तो गरी अनि अलौकिक तत्त्वलाई दोसेजस्तो गरी छलपूर्ण ढङ्गबाट आफ्नै अन्नदाताको अविवेकीपनमाथि गरिएको छेडखानी कवि भानुभक्तको अद्वितीय कलाकारिताको नमुना भएको छ । हास्योत्पत्तिका दृष्टिले पहिलो पद्य र व्यङ्ग्यका दृष्टिले दोस्रो पद्य नेपाली हास्य–व्यङ्ग्यकै बेजोड नमुना बनेका छन् । पहिलो पद्यमा हास्यका माध्यमबाट कविको व्यङ्ग्यचेत प्रकट भएको छ भने दोस्रोमा कविको व्यङ्ग्यचेत अत्यन्त प्रखर र कलापूर्ण बनेर हास्यका साथ देखिएको छ । अर्थात् पहिलो पद्यमा पहिले हास्य अनि पछिबाट व्यङ्ग्यबोध हुन्छ भने पछिल्लो पद्यमा व्यङ्ग्यबोध नै हास्योत्पत्तिको कारकका रूपमा देखिन्छ । नेपाली हास्य–व्यङ्ग्य सृजनाको मिर्मिरे प्रहरमै उदाएका कवि भानुभक्त मूलतः भक्तिचेतनाकै कवि भए पनि उनी हास्य–व्यङ्ग्य फाँटका समेत सशक्त स्रष्टाका रूपमा चिनिन्छन् । केही फुटकर हास्य–व्यङ्ग्यात्मक पद्य मात्र सृजना गरेका भानुभक्तले उसै बेला नेपाली हास्य–व्यङ्ग्यको उत्कृष्ट र उदात्त स्वरूप प्रस्तुत गरेर यस फाँटलाई चिनाइसकेको कुरा प्रस्तुत दुई पद्यको अध्ययनबाटै स्पष्ट हुन्छ । समग्रमा भन्नुपर्दा लेख्य÷शिष्ट नेपाली साहित्यको परम्पराको थालनीसँगसँगै थालिएको हास्य–व्यङ्ग्य सृजनाको परम्पराका आदिपुरुष नै नभए पनि नेपाली हास्य–व्यङ्ग्य साहित्यलाई अपेक्षित उचाइ दिने क्रममा कवि भानुभक्त आचार्यको योगदान महत्त्वपूर्ण रहेको छ । केही फुटकर रचनामै मात्र सीमित रहे पनि उनले नेपाली हास्य–व्यङ्ग्यलाई जुन शिष्टता र उचाइ दिए त्यही नै यस परम्पराको महत्त्वपूर्ण आधारशिला बनेर रहेको देखिन्छ ।
सहप्राध्यापक, मेची बहुमुखी क्याम्पस, भद्रपुर