दुर्बुद्धि विनोद
कहाँ थियो वास बता तँ को थिइस् ?
कसो हुँदा यो दरबारमा पुगिस् ?
फिर्छस् तँ कैले कुन साथ लीकन,
थाहा तँलाई छ कि छैन हे मन ?
यतै म बस्थें अघि ता घुनै थिएँ,
मन्त्री हुनासाथ म ता सुनै भएँ ।
फिर्नेछु चाँडै धनवान भैकन,
थाहा तँलाई छ कि छैन हे मन ?
बुढो भएँ केश सबै झरी गए,
बत्तीस आफ्नै घरमा सरी गए ।
तथापि यो यौन छ उर्लँदो किन
थाहा तँलाई छ कि छैन हे मन ?
अचार्य व्यासासनमा बसेका,
ती ब्रह्मचारी सबले गनेका,
मान्छे लुकी प्रीत लगाउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
विद्वान् धनी प्राज्ञ र वर्दिधारी,
भिरेर प्राध्पापकको उपाधि ।
कनीकनी गेस पढाउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
जस्को छ सत्ता त्यसकै छ भत्ता,
चम्चे भरौटे उसका प्रयोक्ता ।
तथापि आहारिस गर्दछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
उही कुलो खेत बिउ सबै उही,
उसै गरी रोपिदिए कतै कहीं ।
उम्रन्न बीजादिक गर्भमा किन,
थाहा तँलाई छ कि छैन हे मन ?
पत्नी घरै छे छ विदेशमा पति,
पठाउँछ प्राप्त कमाइ जे जति ।
तथापि सोझै लज धाउँने किन,
थाहा तँलाई छ कि छैन हे मन ?
पत्नी सुशीला र मनोरमा अनि,
पतिव्रता झन् नवयौवना पनि ।
छँदा छँदै पर्तिर भ्याउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
बोकाहरू मात्र सयौं हजारन,
छानेर नारे पनि धान झारन ।
सकिन्न गोरुद्वय चाहियो किन,
थाहा तँलाई छ कि छैन हे मन ?
नेपाल फुट्तै छ कि जोडिंदै छ,
जातीयता झन् किन बौरिदै छ ।
नेपाल भाँड्ने सब हुन् ठुला जन,
थाहा तँलाई छ कि छैन हे मन ?
यहाँ दुले चोर्हरु राज गर्छन्,
यो देशलाई पनि भाग गर्छन् ।
त्यो मोदिले खर्ब दियो यहाँ किन ?
थाहा तँलाई छ कि छैन हे मन ?
गरीब माग्ने कति छन् बिहारमा,
घरैबिनाका अति छन् बिहारमा ।
तथापि एक् खर्ब दिनू यहाँ किन ?
थाहा तँलाई छ कि छैन हे मन ?
मातापिता बृद्ध तथा अशक्त छन्,
सुपुत्र बृद्धाश्रममा सशक्त छन् ।
छोरा भएमा अब फुर्कने किन,
थाहा तँलाई छ कि छैन हे मन ?
तँ जन्मिदा अम्मृत दूध धारा,
बगाउँदै जीवनको सहारा ।
बन्ने यि गोवंश छिनाउनू किन ?
थाहा तँलाई छ कि छैन हे मन ?
जोडी कुनै ढुक्कुरको अति प्रिय,
एकात्ममा रम्छ सधैं सधैं तर,
पत्नी बितेकै क्षण ल्याउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
बं बं गरी बंबुटिमा रमेर,
लुगा पँहेला सबले भिरेर ।
ठिटाठिटी बोल्बम धाउँछन् किन,
थाहा तँलाई छ कि छैन हे मन ?
सुरूङ्गा, झापा