खुट्टा तान्न सिपालु मानिस मिठो बोलेर झुक्याउँछ
छिर्के हान्छ, पछार्छ रूप बदली आएर सम्झाउँछ ।
अर्ती सुन्न तयार हुन्न तर ऊ फुल्ने प्रशंसा गरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

बोली कृत्रिम, छद्मभेष छ सधैँ, संस्कार छन् नक्कली
आफ्नो भाकल पूर्ण गर्दछ दिई प्राणीहरूको बलि ।
आफू चोखिन खोज्छ दोष अरूका थाप्लामहाँ थोपरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

मान्छे द्रव्यपिशाच हो धन मिले निस्कन्छ बाङ्गो बनी
पैसा खातिर बेच्न तत्पर हुने छोरी, बुहारी पनि ।
’तिम्रो जीवन मार्गमा कुसुम छन्’ भन्नेछ काँडा छरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

चर्को भाषण, कामदार घरमा छन् मात्र नाबालिग
गर्ने भन्दछ अन्त्य बालश्रमको कुर्लेर त्यै मालिक ।
आफ्ना मात्र दिई उदाहरण झन् भन्नेछ यस्तो गरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

पाएमा पद जे नगर्नु छ त्यही गर्दा बिकेको छ यो
पैसा, भक्ति र शक्ति, मानमनितोमा नै टिकेको छ यो ।
’चम्चा’ या ’हुनुमान्’ बनेर कतिले भण्डार आफ्नो भरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

मौरीले प्रतिवाद गर्छ रिपु क्वै आए भने घारमा
जोगाई गुँड बस्दछन् सब चरा श्रद्धा छ त्यो झारमा ।
मान्छे सालिक तुल्य मौन छ यहाँ बोल्दैन सीमा सरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

गोलोमा खतरा भए सब मिली लड्छन् अरिङ्गाल झन्
साना छन् तर माकुरा पनि सधैँ आवास जोगाउँछन् ।
आफ्नो हो घर झैँ, भुकी कुकुरले कर्तव्य पूरा गरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।

मान्छे बैगुन पुञ्ज हो गुण गरे सम्झिन्न एकै छिन
उठ्ने एक जना समर्थक भई, लाखौँ चुनौती दिन ।
छोरी बेचिन बाध्य छन्, कति जना कालै नआई मरे
छेपारो सरि रङ्ग फेर्छ सजिलै मान्छे विवेकी अरे ।