सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म स्वयम् एउटा ‘इरेजर’

Nepal Telecom ad

जीवनको गतिलाई अगाडि बढाउन पछि फर्केर पनि हेर्नु पर्दो रहेछ । हिजो जो बितेर गयो त्यसलाई जबरजस्त वर्तमानमा तानेर हेर्नु, खोतल्नु र ओल्टाइपल्टाइ गर्नु आफैमा आत्म–समीक्षा पनि हो । तर औशतमा मेरो मनोवृत्ति त्यस्तो छैन । म न पछि फर्केर हिजोलाई हेर्छु, न भोलिका निम्ति बढी चिन्तित छु । आँखा अगाडिको आज मेरो वर्तमान हो, यही वर्तमानलाई सर्वस्व ठानेर रमे–रमाएको छु । अगाडि जे आइपर्छ त्यसैमा निर्लिप्त भएर भनौँ निख्रिएर लाग्नुमै म हुनुको सार्थकता हो भन्ने ठान्दो रहेछु । थाहा छैन यो मेरो गुण हो, अवगुण हो वा दुर्गुण के हो ।

हिजो बिहानीको कक्षामा स्नातक तहका छात्रछात्रासमक्ष शंकर लामिछानेको ‘गोधुली संसार’ निबन्धमा केन्द्रित भएर ‘लेक्चर’ दिनु पर्ने थियो । धेरैचोटि पढिसकेको शंकरको त्यस निबन्धमा म फेरि एक पटक घोत्लिएँ । यस किसिमको घोत्ल्याइँका कारणले होला, एउटै पाठ्यांशमा पनि हरेक वर्ष मेरो ‘लेक्चर’ केही न केही फरक र नवीन हुने गर्छ । ‘गोधुली संसार’ निबन्धमा उल्लेख भएका कतिपय सन्दर्भलाई मैले मेरै अनुभूतिसँग एकाकार गरेर ‘लेक्चर’ दिन थालेँ । निबन्धमा वर्णित सर्कसको वामपुड्के र भीम पहलमानको ठट्टा संवादलाई मैले मेरै अनुभूतिसँग घोलिदिएँ र भनिदिएँ– म स्वयम् पनि त्यस सर्कसको वामपुड्के हुँ, मेरा वरिपरि धेरै भीम पहलमानहरू छन् र आफ्ना त्रुटिहरू मेटाउन उनीहरू मलाई रातदिन अनवरत रगडिरहेका छन् । रगडाइका क्रममा म दिनानु दिन खिइँदै गइरहेको छु । पहलमानहरू खुसी छन् मलाई रगड्न पाएकामा । म बेखुसी छैन रगडिन पाएकामा… ।

पैँतालिस मिनेटको कक्षा बितेको न मैले चाल पाएँ, न छात्रछात्राले ख्याल गरे । अर्को पिरियडका निम्ति लेक्चर दिन आउनु भएकी म्याडमले कक्षाकोठाको ढोका धकेलेपछि समय सकिएको सङ्केत पाएर मैले मेरो लेक्चरको बिट मारेँ– भविष्यको स्वप्नद्रष्टा मेरा प्रिय छात्रछात्रा हो ! कमसेकम तिमीहरू चाहिँ आफ्नो जीवनलाई अरू अरू पहलमानहरूको त्रुटि मेटाउने ‘इरेजर’ मात्र नबनाऊ… । यति भनी सकेपछि मैले मार्कर खल्तीमा हालेँ र झोला बोकेर कक्षाकोठाबाट बाहिरिएँ । झोला गह्रुङ्गो छ किनकि त्यसभित्र एउटा पुरानो मोडेलको ल्यापटप छ, त्यसको चार्जर सेट छ, एउटा डिजिटल रेकर्डर पनि छ र रेकर्डरलाई चलाउने दुई जोर रिचार्जेबल बेट्री पनि छन् । अनि बेट्री चार्ज गर्ने यन्त्र पनि प्राय मेरो झोलामै हुन्छ । बस्, यही गह्रुङ्गो झोला बोकेर म घरबाट बिहान सबेरै कलेज निस्कन्छु, कलेजबाटै अर्को अखडा, अनि अर्को र फेरि पनि अर्को अखडा पुग्न म दौडिरहन्छु । मेरो दैनिकी यही हो र जुनसुकै अखडा पुगे पनि मेरो पुनित कार्य चाहिँ भिन्न भिन्न पहलमानहरूको कुशल ‘इरेजर’ बन्नु ।

कलेजबाट अरू अखडा पुग्न म सार्वजनिक याताथात चढ्छु । तर यता आएर कार्यालय समयमा हुने ट्राफिक जामको चपेटालाई चिर्न मैले छोटो बाटोे पैदलै नाप्ने गरेको छु । यसले मलाई भाडा र समय दुवैमा किफायत गरेको छ । गाडी चढेर गए कम्तीमा पनि सवा घण्टा लाग्छ, पैदल जाँदा म पच्चिस मिनेटमै गन्तव्य छिचोल्छु । यो हिँडाइमा पीडाको एउटा पाटो छ– त्यो भनेको मेरो गह्रुङ्गो झोला । मेरो दाहिने काँध बर्खाभरी हलो तानेको गोरुको भन्दा कम भएको छैन । यो झोला मलाई इरेजर बनाउने औजार । हलो तान्ने गोरुको गन्तव्य खेत र बारीको गरो र सुर्को मात्रै होला । तर मलाई ‘इरेजर’ बनाउने गन्तव्यको भूमिको फैलावट धेरै ठूलो छ । इन्टरनेटको सुविधाका कारण भूमण्डल भरिकै ‘भीम पहलमान’ हरूले मलाई ‘इरेजर’ बनाउने अवसर पाएका छन् । मेरो जीवन मात्र एक ‘इरेजर’ ! बिसौँ वर्षदेखि म मात्र इरेजर बनेर रगडिई रहेको छु ।

‘इरेजर’ अर्थात अरूले गरेका त्रुटिहरूलाई सच्याएर चुस्त दुरुस्त बनाइ दिनु । चाहे ती अनजानमा गरिएका हुन् वा जानाजान गरिएका हुन् । मेरो वरिपरि धेरै पहलमानहरू छन् । कति त अनजानमै त्रुटि गर्छन् । नजानेर त्रुटि गर्नु क्षम्य नै होला । कति पहलमानहरू जानाजान त्रुटि गर्छन् । मानौँ तिनीहरू गल्ती र त्रुटिका पनि पहलमान हुन् । उनीहरूका त्रुटिमाथि अनाहकमा म रगडिनु मेरो नियति बन्न पुगेको छ ।

डार्बिन र देवकोटाहरूले त्रुटि गरेका थिए कि थिएनन् ? बुद्ध र गान्धीका त्रुटिहरूमाथि इरेजर लाउनु प¥यो कि परेन ? माक्र्स र माओ, गोर्की र गोर्वाचोभहरूलाई इरेजर चाहियो कि चाहिएन होला ? हाम्रा पूर्वीय दार्शनिक वेदव्यासहरूले आफ्ना त्रुटि सच्याउन कस्तो इरेजरको उपयोग गरेका थिए होलान् ? यस खाले जिज्ञासा कहिलेकाहीँ मुस्लो बनेर मेरो अन्तरमा पस्ने गरेको छ । म त खालि वर्तमानका स्वनामधन्य वेदव्यास, देवकोटा र दाँतेहरूको सान्निध्यमा छु । उनीहरू एक से एक भीम पहलमान हुन् । यी भीम पहलमानहरू आआफ्ना नयाँ पुराना प्रेमिकाहरूलाई ‘लभलेटर’ अर्थात प्रेमपत्र लेख्ने गर्छन् । उनीहरूका यी प्रेमपत्रमा भाषाको ढाड खुस्काइएको हुन्छ, शब्दहरूको आन्द्रा बटारिएको हुन्छ, योग र वियोगले गिदी खाइरहेको हुन्छ । आआफ्नो मनखुसी प्रयोग गरिएका प्रायोजित वर्णविन्यास सच्याउन म ‘इरेजर’ बनेको छु । हरेक पहलमानहरू मलाई आफ्ना त्रुटिहरूमाथि आफूखुसी रगडिरहेका छन् । म मेटिरहेको छु, त्रुटि मेट्ने क्रममा म आफैँ पनि मेटिई रहेको छु । मेट्दा मेट्दै इरेजर निख्रिन्छ । म निख्रँदै गइरहेको छु । शंकर लामिछाने आजसम्म जीवित हुन्थे र वर्तमानको चेतनामा समाहित हुन्थे भने पहलमान र इरेजरका बारेमा अर्को एउटा निबन्ध लेख्थे होला । इरेजरको अर्को दार्शनिक पक्ष उद्घाटन गर्थे होला । मेट्दामेटदै आफ्नो अस्तित्व समाप्त गरी शून्यमा ओर्लिएको यो अनुभूतिको अभिव्यक्तिलाई अर्को एउटा सुगन्ध दिन्थे होला ।

म निचेष्ट इरेजर, मात्र इरेजर, अरूका त्रुटि सच्याउनमै सधैं कुदाकुद, सधैं अस्तव्यस्त, न खाने समय छ, न आराम गर्ने । आफू खिइँदै गएको अनुभूति समेत गर्न नसक्ने, खालि अरूकै निम्ति आजीवन समर्पित रबरको डल्लो ! धन्य धन्य छन् ती पहलमानहरू जसले मलाई गह्रुङ्गो झोला बोक्न लगाएर जीवनको पर्याय ‘इरेजर‘ बनाई रहेछन् । निर्जीव एउटा इरेजर, मात्र एउटा इरेजर । भविष्यको स्वप्नद्रष्टा मेरा प्रिय छात्रछात्रा हो ! कमसेकम तिमीहरू चाहिँ आफ्नो जीवनलाई अरू अरू पहलमानहरूको त्रुटि मेटाउने ‘इरेजर’ मात्र नबनाऊ… ।
कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad