खोजूँ मान्छेपना कहाँ ?
सजाइन्छन् जहाँ जुत्ता र्याकमा काइदासित
अलपत्र थुपारिन्छन् भुइँमा तर पुस्तक
ठानिन्छन् तुच्छ, बेकम्मा मूल्यवान् सिर्जनाहरू
पुजिन्छन् देवतातुल्य गहनागुरियाहरू
जहाँ कुकुरको मान, मान्छेको अपमान छ
पराई त पराई, झन् आफन्ती बेइमान छ
छ ‘राम’ मुखमा किन्तु मनभित्र ‘हराम’ छ
स्वाँग पूजनको भव्य, स्वार्थ नै पुण्यधाम छ
मान्छे पशुहरूभन्दा–दैत्यभन्दा झर्यो तल
मान्छेबाटै छ मान्छेका नेत्रमा आँसुको भल
मौलायो सभ्यता कस्तो बस्यो संस्कार–पद्धति !
लिई संस्कृतिको स्थान झाङ्गिएको छ विकृति
जो त हो सृष्टिको श्रेष्ठ प्राणी, हुन्छ उही खल ?
आश्चर्य ! किन मान्छेको चेतना यति दुर्बल ?
अन्यायी–अविवेकीको बोलबाला जहाँतहाँ
म मान्छे, आज मान्छेको खोजूँ मान्छेपना कहाँ ?
काठमाडौं