अब फेरि तपाई
डढेलोले खाएको जङ्गल जस्तो
कि पहिरोले भत्काएको बगर जस्तो
यो सुनसान र अनकन्टार गाउँमा फर्किनुहुन्छ,
र हाम्रो अँध्यारो झुपडीको आँगनमा उभिनुहुन्छ !
हामीलाई थाहा छ— त्यसपछि तपाईं
दुवै हात जोडेर ‘नमस्कार’ भन्नुहुन्छ,
हाम्रै भाषाको लय टिपेर
कि ‘सेबारो’ भन्नुहुन्छ, कि ‘ल्हास्सो’ भन्नुहुन्छ... !
हामी गिट्टी कुट्ताकुट्तै, भारी बोक्ताबोक्तै
गोबर सोहोर्दासोहोर्दै, हलो जोत्दाजोत्दै
मेलो छोडेर तपाईंको वरिपरि
निरीह कमिला जस्तै जम्मा हुन्छौं
र पसिनै नपुछी शिर झुकाएर उभिन्छौं !
भोकले रोइरहेका हाम्रा लालाबालाहरू
भत्किएको स्कुलको पर्खालबाट चिहाएर
लुकीलुकी हेर्छन् तपाईंलाई !
अनि तपाईं भन्नुहुन्छ—
चामलको डिपो खोलिदिन्छु तिमीहरूलाई !
तिम्री छोरीको नाङ्गो लास छोप्ने कपडा किनिदिन्छु !
कपी, कलम र सिटामोल किनिदिन्छु तिम्रा नानीहरूलाई !
अँधेरी खोलामा तुइन हालिदिन्छु !
तिम्रो बाबुको हत्यारा पत्ता लगाइदिन्छु !
अरबबाट बाकसमा हालेर
गाउँसम्म ल्याइदिन्छु तिम्रो छोराको शव !
र तिम्रो देश तिमीहरूलाई नै फिर्ता दिन्छु !
हामीलाई थाहा छ— त्यसपछि तपाईं के गर्नुहुन्छ ?
त्यसपछि तपाईं—
हामीले कुटेका गिट्टीहरू सुमसुम्याउनुहुन्छ,
हाम्रा हात र कुर्कुच्चाहरू हेर्दै मुस्कुराउनुहुन्छ !
कि ‘फ्याफुल्ला’ भन्नुहुन्छ, कि ‘जोजोलोप्पा’ भन्नुहुन्छ !
अनि कोटको खल्तीमा बिस्तारै हात हाल्नुहुन्छ
र आफ्नो चुनावचिन्ह निकाल्नुहुन्छ !
तर यस पटक हामीलाई शङ्का लागेको छ—
कतै तपाईंले नै त होइन हाम्रो छोरालाई बेपत्ता पारेको ?
रुखमा बाँधेर हाम्रो दाजुलाई
कुटीकुटी मारेको तपाईंले नै त होइन ?
घाँस काट्न गएकी हाम्री बहिनीको
मुखमा रुमाल कोचेको तपाईंले नै त होइन ?
किन किन यस पटक हामीलाई
तपाईंको बोलीमा शङ्का लागेको छ....!
यस पटक तपाईं आउँदा
धूलोमा पोखिएका रगतका टाटाहरू नकुल्ची आउनू !
यो धूलो हाम्रो भगवान् हो !
युगौंदेखि यो धूलो
हाम्रो रगत, पसिना र आँसुले भिजेको छ !
हामी भुइँमान्छेहरू— यही धूलो खाएर बाँचेका छौं !
तपाईं आउँदा धूलोको इतिहास बचाएर आउनू !
थाहा छैन— यस पटक हामी
सपना देख्न सक्छौं कि सक्दैनौं ?
सभामा आउन सक्छौं कि सक्दैनौं ?
जुलुसमा जान सक्छौं कि सक्दैनौं ?
पशुझैं मर्न सक्छौं कि सक्दैनौं ?
तर एउटा इतिहास सम्झाउनु छ तपाईंलाई—
धेरै वर्ष पहिले यही धूलोमा
तपाईंले आफ्नो कोटको टाँक हराउनुभएको थियो,
यस पटक हामी तपाईंलाई
त्यही टाँक फिर्ता दिन चाहन्छौं ।

काठमाडौं