सुरुमा वेदप्रसादले सुझाव राखे, संविधानसभाको चुनाउपछि सरहरूको अन्हार पनि देख्न पाएका थिएनम् । हजुरहरू गाउँ आउनु भो, हाम्रा लागि यही नै लाख भो । हजुरहरू तेत्रा १२ सौ जनाले ८ बर्ख लगार लेखेको मस्यौरो देख्न पायम्, हाम्रो जनम सार्थक भो । यति पनि देख्न नपाई मरिएला भन्ने घिडघिडो अब बाँकी रहेन । यो संविधान कस्तो हुँदो हो भन्थिम्, कागतकै हुँदोरछ भन्ने था पायम् । हाम्रा भुराहर्ले पढ्ने किताब जस्तै हुँदोर’छ । अझ येसमा त फोटाहरू पनि हुँदा रैनछन् । यस्तो नाथे एउटा किताब बनाउन पनि त्यत्रा मान्छेलाई यत्रा बर्ख किन लागेछ भनेर हामी महाआस्चर्जेमा पर्यौँ । हाम्लाई आस्चर्जेमा पर्ने मौका दिनुभो, यसमा पनि हामी गाउँलेको तरफबाट सरहरूलाई धन्नेवाद नै छ । यहाँभन्दा बढी के भनम्, बाँकी कुरा गोबद्र्धनेले भन्छ । ऊ अलि पढेलेखेको छ । पाँच बर्ख लगार पाँच किलास पास गरेको मान्छे हो । धन्नेवाद ।

गोबद्र्धन– सबैलाई नमस्कार । अघि बेदपर्साद काकाले मस्यौरो भन्नुभो, यो मस्यौरो होइन, मस्यौटो हो । हजुरहरूले यत्रा दुख, हन्डर र गाली खाएर बनाउनु भाको मस्यौटोमा हामीले खोट लाउनु त पापै लाग्ला । तर, केही बोल्नपर्च भनेर सरले भन्नुभाको हुँदा के भनम् त भन्देखिन् संविधानको गाता अलि बाक्लो बलियो हुनुपर्ने हो, रैनछ । अरब खरब दाम खर्च गरेर बनाको भन्छन्, यस्तो पातलो । अस्ति कुन कुन पार्टीले मस्यौटो च्याते भन्ने खबर सुन्याथिम्, यस्तो इस्कुले भुराले पढ्नी जस्तो कागतको बनाएसी च्यात्दैनन् त ! अलि बलियो पिलास्टी सिलास्टीको बनाभा हुन्थ्यो । त्यै पनि सबैलाई पुग्ने गरी ल्याउनुभनछ । एउटा मस्यौटो त सबै जनतालाई एक एकओडा पुग्ने गरी ल्याउनुभन, विकास के ल्याउनुहोला ! बाँकी कुरा त भित्र नपढी के भनम् र ? धन्नेवाद !

म चैने यो गाउँको भूतपूर्व अदच्छे । कुरा के भन्देखिन्, गाउँमा कुलो छैन, पानी छैन । एक घैँटो पानी ल्याउन एक दिन बिताउनुपर्छ । त्यसको बेवस्था हुनपरो । कमानेलाई सरखारले कहिले समाउँछ, त्यो कुरा संविधानमा लेख्नु परो । यो गाउँका चेली बेचिसकेर पल्लो गाउँ पस्या छ भन्छन् । गाउँमा एउटा पुलिस चौकी ल्याउँछु भनेर सरले भोट माग्न आउँदा भन्नुभाको अहिलेसम्म आएन । त्यो पनि यो मस्यौटोमा लेखेर सही गर्नु परो । हीँ अहिले, हाम्रा अगाडि मानन्ये सरले ल्याप्चे लाउनु परो । अरू त के भनम् ! गाउँमा केटाहरू बरालिन थालेका छन्, सबैलाई उतै सहरतिर लगेर जागिरमा लगाइदिनु परो । अनिकालको कुरा कति गर्नु ! यो मस्यौटो सँगसँगै १०–२० बोरा रासन पनि ल्याउनुभएको भए साह्रै असल हुन्थ्यो । हाम्रो यता भुइँचालो पनि आएन । गाम्लेहरू थक्क थक्क गर्छन् । भुइँचालो आएको ठाममा त कति हो कति अन्नपात, खानापिना, तिर्पाल आयो रे भन्ने सुनिम् । सबैले नयाँ घर पनि पाए रे ! हाम्रो त कर्मै उस्तो, भुइँचालो पनि आएन, राहत पनि आएन । मिल्छ भने यता पनि एकपल्ट भुइँचालो ल्याइदिनू भन्ने सुझाव दिन्छम् । अर्को कुरा.... हजुर सर ? ए समय सक्क्यो ? हस् त, अरू कुरा अर्को मस्यौटो लिएर आम्दा भनम्ला । धन्नेवाद !
काठमाडौं