‘सबै कुरा छाडी पुच्छरमा हात’ भनेझैं अब अवसर आएको छ डमरू बजाउने । डमरू शिवजीको प्रिय बाजा हो । शिवजीको परिकल्पित तस्विरमा त्रिशुलसँगै यसलाई जडान गरिनुको अर्थ हो शिवजी यसलाई औधी मन पराउँथे । हिन्दुहरूका आराध्यदेव शिवप्रति मेरो कुनै वैरभाव छैन । मनभरी धार्मिक पाखण्ड कोचेर उनको स्तुति पनि मैले गर्ने गरेको छैन । डमरू तिनै शिवको प्रिय बाजा हो । डमरु र त्रिशुललाई शिवकै पर्यायका रूपमा लिने गरिएको छ ।

मेरा एकजना मित्रले शिवलाई नेपाली भूधरातलमा जन्मिएका शिव आदि मानव हुन्, उनले स्थापित गरेको शिव सभ्यता नेपाली धरातलबाट विकसित भएर विश्वव्यापी बनेको तार्किक विश्लेषण गर्दै एउटा ग्रन्थ तयार गरेका छन् । त्यो ग्रन्थ छिटै प्रकाशित हुँदैछ । उनको ठम्याइ छ शिव हामी नेपालीका आदि पुर्खा हुन् । मित्रको यो ठम्याइप्रति मेरो विमति वा सहमति केही छैन । तर नेपाली सभ्यताको यो पछिल्लो चरणमा भने नेपाल भूमिमै शिवका परम अनुयायीका रूपमा तिन थान महापुरूषहरूको जन्म भएको छ । उनीहरू अहिले शिवभन्दा धेरै गुना बढी शक्तिशाली देखिएका छन् । अहिलेको नेपाललाई उनीहरू तिलश्मी ढङ्गले आफ्नो काबु र कब्जामा राख्ने कोशिस गर्दै छन् । शिवप्रति अनास्था भाव बोकेको म जस्तो लठुवा पनि यी त्रिकालदर्शी महापुरूषहरूको मायवी शक्तिप्रति वशीभूत हुन पुगेको छु । डिमी डिमी डमरु बजाउँदै उनीहरूकै ओरिपरि प्रदक्षिणा गरिरहने मनुसवा हुन थालेको छ मलाई पनि ।

हैन, आदिपुरुष शिवभन्दा पनि शक्तिशाली ती तिन महापुरूष को होलान् भन्ने खसखस लागिसक्यो तपाइँलाई ? धैर्य गर्नुस् यहाँ उनीहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्दै, उनीहरूकै करकमलमा केही शब्द पुष्प अर्पण गर्न चेष्टा गर्दै छु म । शिव शक्तिका अजश्र तिन आयाम छन्– शिवगीता, डमरू र त्रिशुल । नेपाललाई आदिपुरूष शिवको आदिथलो मान्ने हो भने उनको आध्यचेतना लिएर वर्तमान आधुनिक नेपालमा अत्याधुनिक शिव जन्मनु अनिवार्य थियो । खै किन हो कुन्नि सगुलै शिवजीले दोस्रो जन्म त लिनु भएको छैन । तर शिव शक्तिको तिन आयामका रूपमा तिन थान महापुरूषको दर्शन अब दुर्लभ रहेन । उनीहरूलाई नै शिवजीको प्रतिरूप मानी डिमी डिमी डमरु बजाउँदै स्तुति र आराधना गर्ने पुनित अवसर हामी शिवभक्तहरूलाई प्राप्त भएको छ । यो कम खुसी र गौरवको कुरा हो त ?

शिव शक्तिका अजस्र तिन आयाम मध्ये एउटा हो शिवगीता । यसलाई प्राचीनतम् ग्रन्थ शिव संहिता वा शिव पुराण जे भनेर बुझे पनि हुन्छ । प्रमुख कुरो हो यसको पारायण अनुष्ठान । शिवगीतामा व्यक्त आध्यात्मिक दर्शनको सरल व्याख्या र विश्लेषणमा पारङ्गत महापुरूष हुनुहुन्छ महापण्डित श्री कमल थापा । उहाँको अनुष्ठान सिद्धिले उहाँलाई शिव–अंशको पर्यायका रूपमा स्थापित गरिदिएको छ । २०४६ सालमा आएको भीषण बाढी पहिरोले उहाँकोे राजनीतिक पीतवस्त्र बगाएदेखिनै यो अनुष्ठानमा दत्तचित्त भएर उहाँ लाग्दै आउनु भएको छ । झण्डै दिव्य अठार वर्षको यो अनुष्ठानले उहाँलाई शिवशक्तिको प्रमुख एक अंशका रूपमा विकसित गरिदिएको हो । अहिले हिन्दुत्वको रक्षार्थका नाममा उहाँ यही शक्ति उपाशना, पारायण र निर्विकल्प अनुष्ठानको नायकत्व निर्वाह गर्न कृत सङ्कल्पित हुनुहुन्छ । यस्ता महापुरूषप्रति म डिमी डिमी डमरू बजाएर कोटी कोटी प्रणाम गर्दछु ।

महापुरूषप्रति प्रणाम खातिर मैले किन डमरू नै बजाउन जरुरी ठानेँ भने यो शिवशक्तिको दोस्रो रूप हो । यही दोस्रो रूपका पनि पर्याय महापुरूष हुनुहुन्छ भ्रष्ट प्रतिष्ठित खुमबहादुरज्यू । क्षमा गर्नुहोला, उहाँको नामका अगाडिको भ्रष्ट विशेषण मैले जोडेको हैन । उहाँ गृहमन्त्री भएका बेला राज्यकोषको अकुत हिनामिनामा मुद्धा परेपछि न्यायालयले प्रचलित विधान, ऐन कानुन अनुसार भ्रष्टाचार प्रमाणित भएको ठहर गरी जरिवाना र जेल सजायको फैसला गरेको थियो । त्यही फैसलाले उहाँको नामका अगाडि भ्रष्ट विशेषण थपि दिएको हो । सजाय स्वरूप निकै वर्ष कारागारको बासपछि उहाँमा दिव्य चेतना प्रादुर्भाव भई शिवशक्तिमा लीन हुनुभएको ज्ञात हुन आउँछ । अहिले उहाँको वरद् हस्त हिन्दुत्वका रक्षार्थ समर्पित छ । यस्ता महापुरूषप्रति डिमी डमरू बजाएर कोटीकोटी प्रणाम गर्नु म आफ्नो शौभाग्य सम्झन्छु ।

शिव शक्तिको तेस्रो प्रमुख अंश त्रिशुल हो । त्रिशुलको शक्ति उपाशनामा सारा जीवन व्यतित गर्ने त्रिशुल बाबालाई समेत उछिनेर गणतान्त्रिक नेपाली भूमिमा केही वर्षअघि मात्र पदार्पण गर्नु भएका अर्का महापुरूष हुनुहुन्छ स्वनामधन्य श्रीश्रीश्री कमलनयनाचार्य । छोटै अवधिमा काँग्रेस कम्युनिष्ट पृष्ठभूमिका सबै राजनेता समेतलाई आफ्नो पाउमा लम्पसार पार्नसक्ने विलक्षण प्रतिभा र अनुष्ठान देखेर म त हतप्रभ नै भएको छु । भर्खरै भएको एउटा धार्मिक अनुष्ठानमा उहाँको वचनामृत सुन्न पाइयो– “धर्म युद्ध आरम्भ भएको छ, अब हिन्दुविरोधीहरूलाई काटीकाटी मार्नु पर्छ ।” यही वचनामृतबाट पनि उहाँभित्र रहेको अथाह ज्ञानगङ्गा थाहा पाउन सकिन्छ ।

त्रिशुल शिवको हतियार हो शिवको अंश हो, त्यही त्रिशुल स्वरूप शिवशक्ति महापुरूष कमलनयनाचार्यमा रूपान्तरित भएको छ । यस्ता महापुरूषप्रति म डिमी डिमी डमरू बजाई कोटी कोटी प्रणाम गर्दछु । अब यो देशको भाग्य र भविष्य शिवशक्ति स्वरूप, हिन्दु धर्मका प्रकाण्ड व्याख्याता यिनै तिन महापुरूषका काँधमा पुगेको छ । नेपाली सभ्यताको यो पछिल्लो चरणमा उनीहरू नै अहिले शिवभन्दा धेरै गुना बढी शक्तिशाली देखिएका छन् । अहिलेको नेपाललाई उनीहरू तिलश्मी ढङ्गले आफ्नो काबु र कब्जामा राख्ने कोशिस गर्दै छन् । उनीहरूकै पूजा प्रार्थनामा सबका सबले बजाऊ डिमी डिमी डमरू.... ।
कलङकी, काठमाडौं