सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सप्रिएको घर

Nepal Telecom ad

एकादेशमा एउटा घर थियो । खतिपति कतै केही थिएन । घर सप्रिएको थियो । घर घर नै थियो र नै पुरानो थियो । घर पुरानो थियो र नै घर थियो । घर हुनु सप्रिनु अनि पुरानो हुनुमा मानौँ त्रिकोणात्मक अविछिन्न तादात्म्य थियो । घर घर नै थियो । त्यसका अङ्गहरू थिए । छाना, छिँडी, झ्याल, ढोका, र्भयाङ, कोठा, पिँढी, पर्खाल आदि थिए र ती सबै पुरानै प्रकारका थिए । घर घर नै थियो । त्यसका अङ्गबाहेकका प्रत्यङ्गहरू पनि थिए । आटपाट, चुलाचम्का, खट्प्वाल, दाँती, टावर, सुरुङ, सिकुवा, मटान, मझेरी आदि आदि ।

घर घर नै थियो र नै मजबुत थियो । त्यसलाई अड्याउने, टिकाउने गारो, भित्तो, जग, थाम, निदाल, दलिन, टँुडाल, मुठल, जल्लु, मुसी अनि चुकुलहरू थिए । केही समय अघिसम्म ती सबै मजबुतै थिए तर भित्रभित्रै धमिरा लागिसकेकोले केही दिन यता आएर बिस्तारै कमजोर बन्दै गएका देखिन्थे । तैपनि घर घर नै थियो । त्यसैले त्यहाँ मान्छे बस्थे ।

मान्छे मान्छे जस्तै थिए र नै मान्छे थिए । मान्छे त्यहाँ खान्थे, बस्थे । स्नान सुची गर्थे । उड्थे, निदाउँथे, घुर्थे, बौलाउँथे, भाँडिन्थे । कसैलाई अनिद्रा रोग थियो । रातभरि हिँडेर अन्त जान्थे बिहान फर्किएर त्यहीँ आउँथे । कसैलाई अतिनिद्रा रोग थियो । घुर्न निदाउनबाहेक अरू केही जान्दैनथे । कोही अनौठा थिए । त्यसैले उनीहरू दाँत बजाउँथे । चप्पल चलाउँथे । मुक्का खेलाउँथे । केही समयको लागि सम्झौता गर्थे । मिल्थे । फेरि चुच्चा जुधाएर ठुटै बन्थे । हात मल्थे । एकै भएको देखाउन अनुहार साटासाट गर्थे । कतिलाई बेलाबेलामा काम ज्वरो चढ्थ्यो । बर्बराइ रहन्थे । कतिलाई छारे रोगले पक्रन्थ्यो । दाह्रा किटेर फिँज काड्थे । अनि फेरि तत्कालै सद्देझैँ अँगालो मिलाउँथे । आहारिस नाउँको काँचो वायु आङमा चढेपछि फेरि तत्कालै भङ्गालो बनेर फाट्थे ।

त्यो घर घर थियो र नै पुरानो थियो । पुरपार पारेर भ्वाङ, भड्खारा जति पुरिएका थिए । छोपछाप पारेर खोल्सा, डण्डुर छोपिएका थिए । लिपपोत गरेर धाँजा, चिरा लिपिएका थिए । टालटुल पारेर छिद्र प्वालजति टालिएका थिए । घर थियो र नै घरमूली थिए । घरभन्दा घरमूली अझ पुराना र पुरातात्विक भइसकेका थिए । त्यसैले अनौठा थिए । मर्मत सम्हार गरेर ठडिएको शरीर । लिपपोत गरेर टल्किएको वर्ण । लहराबेहेराले कसकास पारेर अँठ्याएका हातपाउ याने हाँगाबिङ्गा । आस्थालिनको भरमा साँइ सुई बजिरहेका नाक, कान, घाँटी । जताततै तान्द्राङतुन्द्रुङ बोतल झुण्डाएर चलेका धमनी । पेरुङ्गो झुण्ड्याएर अडिएको सास । जहानको आस्था विश्वासले छोडिसक्दा पनि अझै पाइनदार बन्न खोजिरहेका । ज्ञान र बर्कतले डाँडो काटेर छोरा नातिको लागि घाँडो बनिसक्ता पनि घर परिवारमाथि हाली मुहाली जमाउन नछाडेका । अनि खाइलाग्दो उत्तराधिकारी जन्माउन नसकेर चिन्ताले चाउरिएका । पुर्खाले घिउ खाएको आहान सुनाएर आफ्नो आँैलो जहान परिवारलाई सुँघाउने उनको पुरानै बानी । याने कन्तुरभित्र लुकाइ राखेको पुरानो हिङ सकिँदा पनि हिङ बाँधेको टालोकै पौरखको डिङ हाक्ने उदेक लाग्दो काहानी । दिन उमेरले डाँडो काटिसक्ता पनि सधैँ सारसउधै रहेर परिवारमाथि हैकम जमाइराख्ने उनको दाउले केही नचलेपछि एक दिन बनिबनाउ खाडलको डिलमा उभिनु पर्ने अवस्था आइपुगेछ ।

यसपाला भयो पनि त्यस्तै । प्राकृतिक विपत्ति भन्ने या समयले खडा गरेको आपत्ति । अन्दाजै नगरी चैते हुरी आयो र पुरानो घर बेस्सरी हल्लायो । असारे चट्याङले त्यही घरको पुर्पुरो सेकेर थर्कायो । धुरी सिकुवा खलबल्यायो । साउने बाढीले चिराचिरा पारेर छउभित्ता चिरिदियो र आटपाट, अाँगन, पर्खाल जथाभावी चर्कायो । थोत्रो भए पनि बस्तै आएको घर एकाएक बसी न सक्नु बन्यो । अरू छरछिमेकीका नयाँ(नयाँ ठडिँदै जाँदा त्यही घर चाहिँ साँच्चिकै जर्जर बन्न पुग्यो ।

घरमूली आफ्नै सत्कर्मको फजितीले आजित बनेजस्ता देखिन्थे । सबै काम, दाम, नाम एकलौटी भ्याउने बानी थियो । कहिलेकाहीँ मनोरञ्जन गर्न यसो कौडा हान्थे । कहिले थर्की थापेर पासा पसार्थे । कहिले ब्रिज, मेरिजमा रम्थे । कहिले भने विक्रम र बेतालको कथा पढेर रमाउँथे । कहिले इन्द्रजालमा हराउँथे । कहिले भने अकवर वीरबलको सवाइमा आफैँलाई डुलाउँथे । बूढा बूढै थिए । उनका गोडा हिँड्नभन्दा परेड खेल्न रुचाउँथे । शरीर चल्नभन्दा झुत्ति खेल्न अघि सथ्र्यो । बसेको आसन जर्जर बनिसकेको थियो । शिरको टोपीमा प्वाल थिए । नशानाडी फाटेर भ्वाङपाल थिए । तैपनी बूढा शासक बन्न रुचाउँथे । सेवक भनिन मन पराउथे । सभ्य सुसंस्कृत गनिन खोज्थे । एकदिन के सुर चढेछ कुन्नि( बूढाले सबै जहान जम्मा पारेर भनिदिए– “आजैदेखि म यो घरबार त्यागी दिन्छु ।”

कुरा सुनेर छोरा नाति संयुक्तरूपले छक्क परे । हो होइनको द्विविधायुक्त घुर्मैलो भाव सत्य बनेर उनका शब्दशब्द उनीहरूका कानमा अवतरित भइरहेका थिए । एकैछिनको लागि उनीहरूले पनि ती कुरा पत्याइदिए र गच्छेअनुसारको सोचाइमा समाहित बन्न पुगे । ‘देशभक्त’ नाउँको जेठो छोरो सोच्तै थियो( घर थोत्रो छ त्यसैले पुरातात्विक महत्वको छ, अक्सर थोत्रो वस्तु नै पुरातात्विक महत्वको रहिआएको छ । यसखाले सम्पदाका खरिदकर्ताहरूको कमी छैन, हुँदैन पनि यो संसारमा । अनेकौँ सङ्ग्रालयहरू छन् । अनेकौँ पारखी कलाप्रेमी र पाइनदार खरिदकर्ताहरू जतिबेर भन्यो ठीक हालतमा पाइन सक्छन् । यसलाई विश्व बजारमा लिलाम गरेर अमेरिकामा घर किनौ । मार्केट इकोनोमीको युग छ । उपयोग गरिहालौँ । यहाँको अवस्था पनि ठीक छैन ।

माइलो ‘धर्मभक्त’ सोच्तै थियो– घर ऐतिहासिक देवालयको रूपमा रूपान्तरित बन्नसक्छ । उसै त देउतैदेउताको देश नेपाल । असङ्ख्य मन्दिर, असङ्ख्य मठ, अनगिन्ती स्तूप, अनगिन्ती चर्च र मदरसाहरूले भरिएको । यो घरले त्यसमा एउटा अर्को चरण थपिन सक्छ । यसमा शिव मन्दिर, साइशाला, ओम शान्ति मन्दिर, श्यामा धाम, गुम्बा, जामे मस्जिद या कुनै नयाँ चर्च स्थापना हुनसक्छ । भिक्षु, साधुसन्त, मुल्ला, पादरी बोलाएर विनापनपक्ष भागबण्डा गरी दिउँ ।

साइलो ‘कलाधर’ले घरका इँट्टा, ढुङ्गा, थाम, निदाल, टुँडाल, मुठलमा आदिम सभ्यताको प्रारुप देख्यो । यसलाई क्यानभासमा भर्ने हो भने विश्वप्रसिद्ध कलाकृतिहरूलाई माथ गर्ने रहेछ । यसका प्रत्येक इँट्टादेखि थाम निदाल हुँदै डाँडा भाटासम्मको विनिर्माण गर्ने अठोट र्गयो । विनिर्माणभित्र धेरै क्रिया र अन्तरक्रियाहरू पर्ने हँुदा चिर्ने, ताछ्ने, गिँडने, टुक्र्याउने, कुडक्याउने आदि कारोबारका धेरै व्यापारहरू हुन सक्छन् । धेरै क्रिया प्रक्रियाहरूको खेल तमासामा डाइनोसरको हुल दौडाएर, सिकारी र झाँक्री नचाएर नयाँ वृत्तचित्र तयार गर्ने मनमनै अठोट र्गयो । अनि त्यसै घरको प्राङ्गणमा अत्याधुनिक स्टुडियोको निर्माण गरेर भत्किँदै गरेको दृश्य कैद गर्दै टाइटिनिक, जुरासिक पार्कजस्ता फिल्मलाई पछाडि पार्ने चलचित्र बनाउने अठोट गर्यो र विश्व प्रसिद्ध पुलित्जर पुरस्कार हात पार्ने सपना देख्न थाल्यो ।
गोरखापत्र

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल