सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाल बन्द जिन्दाबाद !

Nepal Telecom ad

यतिखेर हामी नेपाली बन्दमा पूरै अभ्यस्त भइसकेका छौँ । बन्द हाम्रो जीवनको अभिन्न संस्कृति नै बनिसकेको छ । कारण–अकारण सधैं बन्द, सबै बन्द । कसैले सनक चढेरै भए पनि बन्दको हावा चलाइदियो भने हामी ठाउँकुठाउँ रोकिएर बन्द हुन बाध्य । आपूmभन्दा ठूलो झोला बोकेर स्कुल हिँडेका चिचिला कहिले बसमै, कहिले स्कुलमै र कहिले बाटामै बन्द ! काममा हिँडेका कामदारहरू कहाँ पुग्दा बन्द हुने हुन् पत्तो छैन । अरूको त के कुरा बिरामी बोकेको एम्बुलेन्ससमेत कहाँ पुग्दा बन्दको सिकार हुने हो र बिरामीको सास बन्द हुने हो भन्ने कुरा पनि टुङ्गो छैन ! बुद्ध जन्माउने मात्र होइन बृहत् शान्ति सम्झौतामा समेत हस्ताक्षर गरिसकेका हामी नेपालीले शान्ति नै बन्द गर्यौँ । यतिखेर ती कहाँ बसेर धुरुधुरु रुँदै छन् कसैलाई पत्तो छैन ।

बन्द, सधैं बन्द, सबै बन्द, बन्दका विरुद्ध बन्द, विरुद्धका विरुद्ध बन्द । कहिले हिमाल बन्द, कहिले पहाड बन्द, कहिले तराई बन्द, कहिले उपत्यका बन्द । कहिले शिक्षा बन्द, कहिले भिक्षा बन्द, कहिले गुडान बन्द, कहिले उडान बन्द । कहिले बिट बन्द, कहिले सिट बन्द । यति मात्र कहाँ हो र ? कहिले ताला बन्द, कहिले हाला बन्द । कहिले नाकाबन्द, कहिले चाकाबन्द । कहिले मालिक बन्द, कहिले नोकर बन्द, कहिले पति बन्द, कहिले पत्नी बन्द । कहिले प्रायोजित बन्द, कहिले स्वतः बन्द ! जताततै, जतासुकै बन्दैबन्द ! बन्दका करामतले गर्दा कहिलेकाहीं कथंकदाचित बन्द भन्ने नसुन्दा पनि कताकता केके हराएजस्तो लाग्न थालिसक्यो हामी नेपालीलाई !

तानाशाही प्रतिक्रियावादीहरूका विरुद्ध बन्द गर्न पल्केका हामी अब आपूmबाहेक अरू सबैलाई त्यस्तै देख्न थालिसक्यौँ । यही क्रम अरू केही समय चलेमा नयाँ नेपाल बन्ने पक्का छ ! बन्दसँगै हुने तोडफोड र आगजनीले पुराना संरचना खतम भए’सि सबै स्वतः नयाँ भएनन् त ? काम, दाम र मामरहित नयाँ नेपालका हामी सार्वभौम नामधारी वीरबहादुर नेपालीले सधैंजसो नेपाल बन्द गरे पनि कमसेकम नेपाली बन्दचाहिँ नगर्न पाए हुन्थ्यो तर खै … ? अरूका कामदाम बन्द गरे पनि बन्दबारे पाँचतारेमा गरिने जामहामचाहिँ सधैं खुला राखौँ । बलौटे घाटको हामले पहेंलिए राष्ट्रिय ढुकुटीमा विदेश सयर गर्ने काम बन्द हुने कुरै भएन ! देश बन्द गरे पनि यस्ता पाटीचाहिँ सधैं खुलै राखौँ ।

वर्गीय हितका पक्षधरजति सबैले एउटा ताला गोजीमै बोकेर हिँडौँ । कुनै विद्यार्थीलाई पढ्न मन लागेन र डेटिङतिर जानुप¥यो भने अनि कुनै हेल्मेट शिक्षकलाई अर्को ठाउँमा जान हतार भयो भने वा स्थायी हुन मन लाग्यो भने बन्दको ढ्वाङ फुकिहालौँ । कुनै कर्मचारीलाई आफ्नो दले सभामा जानुपर्ने भए पनि गोजीकै ताला उपयोग गरौँ । आफ्नो यस्तो महान् मानवअधिकारको सदुपयोग गर्न कोही पनि पछि नपरौँ । यसका लागि बन्दकै सहारा लिऊँ… ।

यतिखेर कहिले, कहाँ र किन बन्द भन्ने कसैलाई पत्तै हुँदैन । बिहानको पहिलो घन्टी नै बन्दको हुनथाल्यो तर त्यो किन र केका लागि भन्नेचाहिँ थाहै हुँदैन । सार्वभौम जनताले थाहा नपाउनु त ठिकै हो तर स्वयं बन्द आयोजकहरूलाई नै थाहा हुन छोडिसक्यो र पो फसाद ! कहीँ पुग्दा बन्द देखेर कसले र किन बन्द गरेको भनी सोधपुछ गर्दा मात्र त्यो बन्द त आफ्नै पार्टीले, आफैंले गरेको भन्ने थाहा हुन्छ । बन्दको हावा सहर सडकमा मात्र होइन गाउँघरसम्मै व्याप्त भइसक्यो । हुँदाहुँदा यसले सदनलाई पनि अछुत राख्न छोड्यो ! अब अरूको त के कुरा लोग्नेस्वास्नीको ठाकठुकमा समेत बन्दको आयोजना हुन थालिसक्यो ! दुधेबालकका माग पूरा गर्न एकछिन ढिलो भएमा तिनीहरू पनि बन्दको धम्की दिन थालिसके !

नेपालीको लगभग पर्याय नै बनिसकेको बन्दलाई जीवित राख्न पाउनु पनि मानवअधिकार नै हो ! अरूको के मतलब आफ्नो दुनु ढल्किन नदिनु नै त हो मानवाधिकार ! अब बन्दलाई पनि मानवाधिकारकै रूपमा लिई अन्तरिम संविधानमा एउटा धारा थपेर संवैधानिक मान्यता प्रदान गर्नेतर्पm मतोजतो गर्ने हो कि ? सधैंजसो बन्दैबन्द हुने भए पनि बन्द नहुने दिनजतिको एउटा छुट्टै क्यालेन्डर निकाल्न पाए हामी सार्वभौम मनुवालाई केही राहत मिल्थ्यो कि ?

अहिले नाकाबन्द बढी चल्तीको बन्द हो । नाकाबन्द गरेपछि धेरैतिर स्वतः मुख बन्द भइहाल्छ । नाक र मुख दुवै बन्द भएपछि सास बन्द हुन खासै बेर लाग्दैन । अब नाकमुख बन्द गरी लामै समय खान नपाएर घिडघिडो मात्र रहन दिनुभन्दा सासै बन्द गरी नेपाली जनतालाई मुक्ति दिऊँ । बन्दका कारण कसैैलाई आफ्नो गन्तव्यमा पुग्न नदिई बीचैमा अधकल्चो पार्नुभन्दा बरु हावै बन्द गरी खुत्रुक्कै पारिदियो, खेलै खत्तम ! अरू खाले बन्दजस्तो यस बन्दका लागि दिन, हप्ता, महिनाका कार्यक्रम पनि चाहिँदैन, मिनेटभरमै खेल तमाम भइहाल्छ । अब बाँकी रहेको यही एउटा पुण्यकार्य गरी सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई सदाका लागि मुक्ति दिनेतर्फ तुरुन्तै सोचौँ ।

विश्वको मानचित्रमा नेपाल नाम गरेको एउटा सङ्घीय गणतन्त्रात्मक टारेटाकुरे भन्न थालिएका मुलुकको चार किल्लाभित्र चल्ने हावा बन्द गर्नेतर्पm तुरुन्तै सोचौँ । एकातिर आठै वा बढी जमेर तारे मिटिङमा बन्दलाई सदाका लागि बन्द गर्ने निर्णय गरौँ अनि अर्कातिर पालैपालो गरी होडबाजीका साथ आफ्ना अनुचरहरूमार्पmत सबथोक बन्द गराई सबका सबको भूगोल बिगारौँ । आफैंले बनाएका विचरा प्रतिक्रियाविहीन निर्जीवको भूगोल बिगार्नुभन्दा बरु अहिलेसम्म येनकेनप्रकारेण बन्द झेल्दै जीवित रहेका हामी कथाकथित मूर्ख मनुख्यकै भूगोल बिगारी पुण्य कमाऔँ । यस्तो बन्दका विरुद्ध कतैबाट कसैले कुरो उठाएमा वा विरोध गरेमा प्रतिगामी फलानोवादी, चिलानोवादीको घुसपेठ भनौँ । त्यस्तालाई ठोकठाक पारी सिन्की बनाऔँ । बस् आफू सधैं चोखाको चोखै, मिस्टर क्लिन… । भागबन्डाको कोटामा पर्न लालायितजति सबले यसलाई प्रभुवाक्य भनी सिरोधार्य गरौँ ! पछि भागबन्डामा नपरिए यसको घोरविरोध गर्ने मौलिक अधिकार जीवित छँदैछ ।

खुलेआम घुस खान नपाए वा मागेजति घुस नदिएबापत न्याय र न्यायालय पनि बन्द–प्रतिबन्द हुँदाछन् । सत्तासीन र सत्तातुरहरूले नै नगर्ने भन्दै भित्रभित्रै बन्दको आयोजन गरेपछि अरू बाँकी नै के रह्यो र ? बन्दबाटै स्थापितले बन्दलाई विस्थापित गर्ने भन्ने कार्यक्रम ल्याएरै होला बन्दबारे यत्रो राष्ट्रिय चासो बढेको र नेपाल सधैं बन्दमय बन्नपुगेको ! हुँदैजाँदा अरू जेजे भए पनि कुनै दिन नेपाल र नेपाली भन्ने–भनाउने कुराचाहिँ भरसक बन्द नभइदिए हुन्थ्यो ।

अहिले जय नेपाल र लालसलाम छोडेर जयसलाम र लालनेपाल भन्दै हामहाम सबै एक भएर पालैपालो बन्द गरे पनि अति भए’सि खति हुने हुँदा कुनै दिन हामीजस्ता बन्द पीडित नेपाली जनताले स्वतःस्फूर्त रूपमा बन्दकारीहरूको दोहोलो काढ्ने दिन नआओस् भन्ने कामना गरौँ । तत्काललाई चाहिँ बन्दको विरोध गरेर प्रतिगामीमा नाम दर्नुभन्दा अग्रगामी भएरै चाकडी बजाउनु उत्तम भएकाले सब एक भएर भनौँ— बन्दको चपेटामा परेका भुक्तभोगीहरू मरे मरून्, बन्दकारीहरूको जय होस् ! नेपाल बन्द– जिन्दाबाद !
रचना (४७/९३, २०६४ वैशाख–जेठ) बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad