थाकेको ज्यान र मरियल मन लिएर घरतर्फ घिसारिंदै गर्दा स्कुले दौंतरी चिन्तामणि ‘थकेला’ सँग भेट भयो ।
“मेरो किताब पढ्यौ ?” थकेला फुर्तिला देखिए ।
“तिमीले पनि किताब लेख्न भ्यायौ ?” म विस्मित भएँ ।
“पत्रपत्रिका पनि पढ्दैनौ कि क्या हो ? त्यत्रो चर्चा भइराख्या छ, बेस्टसेलर भयो नि मेरो पुस्तक ।”
साथीको अँध्यारो मुख नियालें । उनी थप हौसिए, “छापेरै भ्याइएन, बजार पुर्यायो कि चरिझ्याप भैरा’छ !”

मित्रको उन्नति र आफ्नो दैनन्दिनीको तुलनात्मक चित्रले भाउन्न पार्ला जस्तो हुँदा मैले बिदाइको हात मिलाउन पनि बिर्सेछु । अलिपर छेकारो काट्दै उनले भने, “दुई चार प्रति त तिम्ले पनि किन्दिनै पर्यो नि यार !”

खल्ती झ्mारझोर पार्दा कुल एक थान किताब बराबरको पैसो निस्क्यो । यो गतिको पाठक भएको मुलुकमा अचेल साहित्यको बजार गर्माएको छ भन्छन् । अर्थात्, शारदेका साधकमाथि माता लक्ष्मीको कृपादृष्टि पर्ने आफैंमा अवैज्ञानिक विधि लागू भएको छ । आँतमा इन्धन नपरी दिमाग नघुम्ने, दिमागी हलचल विना कलम नसर्ने विज्ञान हिजोआज विदामा बसेको छ भने बजारको यो तातो तावामा मैले मात्र किन हथौडा नमार्ने ?

नभन्दै, साथी ‘थकेला’ बाट समेत प्रेरणा लिएर लेखनीलाई के धिकिरधिकिर पारेको थिएँ, बजारमा दशरबीस हजार प्रति पुस्तक टापटिपै तुरिएको खबर सुन्नुपर्यो । कतिसम्म भने, मैले सिनेमा निर्माणको सम्भावनालाई समेत ध्यानमा राखेर लेखेको पहिलो उपन्यास ‘घुम्तीभन्दा अलि तल्तिर भेट भयो’ का प्रकाशकले पहिलोबाजीमै पाँचौं संस्करणसम्म छाप्न भ्याइदिन्छन् कि भन्ने झस्कना समेत भयो ।

“पाठकहरूलाई यो किताब नपढ्दा जिन्दगीको जँघार तरिंदैन भन्ने लागेको मालुम हुन्छ”, प्रकाशकले जानकारी गराए । बस्, माहोल यस्तो छ भने रोडपति लेखकलाई करोडपतिमा दरिन कति बेर लाग्ला ? लेखेको अक्षर खेर नजाने कुरा, कुरै मात्र होइन रहेछ । साहित्य कमसल भए त्यसले नवलेखकलाई लेख्ने आत्मविश्वास दिँदोरहेछ । त्यो सोचले मलाई एउटा शानदार प्रकाशन गृहको प्राङ्गणमा टेकायो । अफिसको चकाचौंधले नेपाली पुस्तक बजारको तेजीमाथि शङ्का नगर्न दिइरहेको सङ्केत बुझ्दै सम्पादकको खोजी गर्दा मार्र्केिटङ विभागका ‘एक्जिक्युटिभ’ हरूले प्रकाशक महोदयको च्याम्बरतिर सोझ्याइदिए । त्यहाँ लेखकहरू धनुष्टङ्कार मुद्रामा हात मोलिरहेका थिए । तीमध्येका एकले हेडसरको हप्की थेग्न सकेनछन्, लल्याकलुलुक प्राविका भुरा माफिक मुर्गासनै गर्न खोजे । “छोक्रे बोक्रेहरू बेस्टसेलर बनिरहेको बेला मेरो किताबले त बम्पर सेल नै गर्ला” म आफैं झाँक्री बन्न अग्रसर भएँ ।

“के खासियत छ ?” नोट गनिरहेका प्रकाशक महोदयले मुन्डी नउठाई सोधे । “गुदीले टम्म छ !”
“त के भो ? गुदीले थोडी किताब बिक्छ !” उनले नोटका गड्डी थान्को लगाउँदै ए–फोर साइजको एउटा पाण्डुलिपि देखाउँदै भने, “यो अबको बेस्टसेलर हो ।”

पल्टाएर सरसर्ती हेर्दा त्यसमा माल–गुदी नभएको थाहा भइहाल्यो । नियन्त्रित खित्काका साथ मैले भनेँ, “खुर्कीखार्की दुइटा कथाको के किताब बन्छ ?”

“बचेरा छौ, यस्तो टिरिक जान्दैनौ !” उनी कुटिल देखिए । अघि नोट थन्क्याएको टेबुलको घर्राबाट एउटी रूपसीको तस्वीर अङ्कित आवरण निकालेर देखाउँदै सोधे, “कथालाई यसको साँचोमा ढाल्न सक्छौ ?”

“अधवस्त्राले साहित्यलाई निर्वस्त्र नपार्ला र महोदय ?” घुइरे नजरले तस्वीर नियाल्दै सोधेँ ।

उनले सफलताको गुर सिकाए, “बजारको माग अनुसार कथालाई मगन्ते बनाउनु, कथम् कथाले मागेनछ भने पनि ढीठ भई त्यस्तै गाता चिप्काउनु, नारी पात्रको मुखलाई छिल्लिन लगाउनु, सिनेमाको आइटम डान्स झैं द्विअर्थी र उत्तेजक संवाद घुसाउनु !”

लिटमाण्डुको ‘कास्टिङ्ग काउच’ सम्झँदै सम्झौता गरेर मैले सोधेँ, “लेखकस्व चाहिं के–कस्तो होला नि हजुर ?”
प्रकाशक बोले, “पूँजीको नाफा, साहसीलाई सलामी, विज्ञापन खर्च, मार्र्केिटङ्ग कस्ट र ‘पेड’ समीक्षकको ज्याला सहित समग्र ठेलुवा मेकानिज्मलाई सिदा पुर्याउँदा उब्रेछ भने लेखकले अवश्य दक्षिणा पाउँछ !”
“निश्चितै हातलागी हुने केही छ कि ?”
“बेस्टसेलर राइटरको पगरी !”
हिमाल