नयाँ अफिसमा हाजिर भएकै दिन जयरामले अँगालो हालेर मलाई स्वागत गर्‍यो । पदले सवारी चालक भए पनि ऊ यो कार्यालयको शक्तिशाली युनियनको एकाइ अध्यक्ष भएकाले उसको साथ नलिई काम गर्न गाह्रो छ भनेर मैले सुनिसकेको थिएँ ।

उसले भन्यो, “जाऊँ भाइ चिया खान, म यो ठाउँको परिचय गराउँछु । नयाँ आउने सबैलाई ट्रेनिङ दिने काम मेरै हो । भाइ भनेर, नरिसाउनु होला, उमेरमा भाइ नै हुनुहुन्छ ।” चियाको पहिलो सुरुप लगाएर उसले भन्यो, “ल हेर, कति थोरै चिया छ । दुई घुट्कामा खलास भइहाल्यो । ए बाबु, मान्छे चिनिनस् ? नयाँ सर आउनुभएको छ । डोसासोसा, दूधवरी के के छ ले । हामी नगरपालिकाकै कर्मचारीलाई यिनीहरू ठग्छन्, अरूलाई के गर्छन् ! पैसा लिन्छ पूराका पूरा, चिया दिन्छ आधी । त्यही भएर देश नबनेको हो, कुरा बुझ्नुभो ?”

जयरामले खैनी मोलिसकेर मतिर तेस्र्यायो । मैले खान्नँ भनेँ । उसले स्पष्टीकरण दियो, “मैले त गर्भैदेखि खान थालेको । आमा नै खैनी खानुहुन्थ्यो । यसले एकदम खराब गर्छ, थाहा छ । छाड्नै सक्दिनँ । आज सुर्ती छाड्ने कसम खान्छु, भोलि सुर्ती खान्छु । आज कसम, भोलि सुर्ती । कसम पनि खाने, सुर्ती पनि खाने । पूरै नेताजस्तो भइसकेँ । नेताहरू देख्नुभएन ? काठमाडौँमा कसम खान्छन्, दिल्लीमा गएर फोहर खान्छन् । त्यही भएर देश नबनेको हो, कुरा बुझ्नुभो ?”

“ल हेर्नूस्, भुस्याहा कुकुरको बिगबिगी । एउटा कुकुर्नीको पछाडि १० वटा कुकुर लागेका छन् । सरकार चेन्ज हुने बेलामा कसरी दर्जनौँ नेता एउटा कुर्सीका पछाडि र्‍याल चुहाएर लाग्छन्, ठ्याक्कै सेम छ । यिनीहरूलाई लाज पनि छैन । चोकको बीचमै यस्तो उस्तो काम गर्छन् । नेता पनि उस्तै हो, जे पनि गर्छन् । यही भएर देश नबनेको हो, कुरा बुझ्दै हुनुहुन्छ ?”

“अफिसको कुरै नगरौँ । सरकारले ६–६ महिनामा हाकिम चेन्ज गरिराख्छ । आउँछन्, कमाउँछन्, जान्छन् । हामी सधैँ जस्ताको तस्तै । म १२ वर्षदेखि यही कार्यालयमा छु । जम्मा एउटा घर बनाएँ, एउटा बाइक किनेँ, छोराछोरी एउटालाई डाक्टर पढाउँदै छु, अर्को इन्जिनियर भयो । बस्, त्यति गर्न सकेँ । काठमाडौँमा किनेको जग्गामा अहिलेसम्म घर बनाउन सक्या छैन । हाकिमहरू आज रोडपति, भोलि करोडपति । त्यही भएर देश नबनेको, कुरा बुझ्नुभयो ?”

“अरू त ठीक छ, अलि निष्पक्ष भएर काम गर्नुहोला । यहाँका मान्छे अन्याय भनेको सहँदै सहँदैनन् । आफूले भनेको जस्तो भएन भने हाकिम साकिम केही भन्दैनन् । परार साल एक जनालाई त पिटेरै पठाइदिए । कसैलाई पनि नभन्नुहोला, त्यो हाकिमलाई पहिलो मुक्का त मैले नै ठोकेको हुँ । तपार्इं त एकदम इमानदार हुनुहुन्छ जस्तो छ । हामीले भनेको गर्नुभयो भने कसैले तपार्इंको रौँ पनि हल्लाउन सक्दैन । नत्र त यो ठाउँमा जे पनि हुन्छ । त्यही भएर यो देश नबनेको हो, कुरा बुझ्नुभयो ?”

मैले देश नबन्नुको कारण अलिअलि बुझेँ, चिया खाजाको पैसा बुझाएँ र एउटा बबुरो बालकझैँ जयरामका पछि पछि लागेँ ।
नेपाल ०७२ साउन