म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले कक्षाबाट तानेर चौरमा ल्याउनु भयो । सबका सब यस्तो रमाइलो गरी रहेका छन्, तिमी भने कक्षाकोठामै ? लु भएन । विद्यालय जन्मोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुद कार्यक्रम चलिरहेको थियो । एउटा खेलमा सहभागी बनाउन उहाँले मलाई तानेर ल्याउनु भयो । फराकिलो चौरमा ठूलो घेरा बनाएर मेरै दौँतरीहरू उभिएका थिए । घेराको एक छेउमा कृष्ण सरले मलाई पनि उभ्याउनु भयो । अर्को छेउमा निकै पर एउटा कालो कालो घैँटो घोप्ट्याइएको थियो । खेल रहेछ घैँटो फुटाउने ।

मेरै कक्षाको एकजना साथी बाबुराम श्रेष्ठको आँखा कालो कपडाले टनक्कै छोपियो र उभिएकै ठाउँमा चारपाँच फन्का घुमाएर उसको हातमा एउटा गजबको लाठो दिइयो । अनि भनियो– ल अघि देखिएको घैँटो फुटाउन रमाना होऊ । लाठो बोकेर बाबुराम हिँड्न त हिँड्यो तर घैँटो दखिनतिर छ ऊ लाग्यो उत्तरतिर । घेरामा उभिएका हामी सबै हाँस्न थाल्यौँ । निकैबेर यता उता गरेर हार स्वीकार गरी साथी बाबुरामले लाठो भुइँमा राख्यो ।

बाबुराम पछि घनश्याम, तिलक र प्रल्हादहरू पालै पालो घैँटो फुटाउन तम्सिए तर कसैले सकेनन् । पालो मेरो आयो । मेरा पनि आँखामा त्यसै गरी पट्टी बाँधियो र फनफनी घुमाएर लाठो हातमा थमाइयो । म लाठो बोकेर चटाचट अघि बढेँ, संयोगबस मैले ठिक दिशा अनुमान गरेछु । केहीबेर हिँडेपछि यतैकतै घँैटो छ होला भन्ने अनुमानले लाठो बजारेँ, घैँटो फुटेको आवाज भने आएन । तर करिब तीन हातको दुरी नजिक पुगेर लाठो बजारेको रहेछु मैले । त्यसपछि क्रमैसँग अरू आठ दसजनाले भाग लिए । कसैले पनि घैँटो फुटाउन सकेनन् । कति त घैँटो रहेको दिशातिर नै पुगेनन् । अन्ततः मैलै जीवनमै पहिलो र अन्तिम पटक भाग लिएको खेलमा घैँटो नफुटालीकनै म विजयी घोषित गरिएँ । पुरस्कारमा दाँत माझ्ने पाउडरको बट्टा पाएको सम्झना छ ।

राजधानीमा यसै हप्ता एउटा मुस्तण्ड घैँटो फुटेको समाचारले पत्रपत्रिका रङ्गिएपछि मैले बाल्यकालमा आफैले खेलेको घैँटो फुटाउने खेल सम्झना गर्न पुगेको हुँ, अन्यथा अर्को अर्थ नलाएकै वेश । राजधानीमा उहिले उहिले ढाका जातको कपडा बनाउने गरिन्थ्यो रे । कपासको धागो तगेर बनाइएको एकरङ्गी सेतो कपडा (खाँडी हो कि ?) लाई घरेलु पारामै पकाई तयार गरिएको रङ्गमा रङ्गाएर बुटा बनाइन्थ्यो रे । पकाएको रङ्ग हाल्ने माटाको घैँटो हुन्थ्यो रे त्यसलाई भनिन्थ्यो छिपाको घैँटो । प्रयोग प्रचलन गर्दा जतनसँग चलाउनु पर्ने माटाको घैँटो तलबितल पर्दा फुट्थ्यो होला । त्यसरी छिपाको घैँटो फुट्यो भने सम्बन्धित मानिसले असम्बन्धित र हुँदै नभएको उटपटाङ कुरो गथ्र्यो रे । एक कान दोकान मैदान हुँदै त्यो अफवाहका रूपमा पूरै तिन शहर भरी फैलिन्थ्यो । अफवाहको अचाक्लीपन बढ्दै गएपछि बल्ल मानिसले भेउ पाउँथ्यो र भन्थ्यो– छिपाको घैँटो फुटेछ ! यस्ता पुराना कुराबारे राम्रो जानकारी राख्ने शताब्दी पुरूष सत्यमोहन जोशी वा प्रा.दिनेशराज पन्तज्यू के भन्नुहुन्छ कुन्नि ! यो उहाँहरूकै जिम्मा भो । म चाहिँ यहाँ अलिकति अत्याधुनिक घैँटाका बारेमा थोरैतिन प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

युगअनुसार घैँटाहरूको स्वरूप, औचित्य, प्रयोग प्रचलन र यिनीहरूको निर्माण प्रक्रियामा पनि ठूलो परिवर्तन आएको छ । आधुनिक र वैज्ञानिक भाँडावर्तनको जमानामा कुमालेले बनाएका माटाका घैँटाहरूको अस्तित्व नै अब कहाँ रहन्छ र भन्या ! त्यसैले कुमालेको परम्परागत पेसा नै सङ्कटमा परिसकेको छ । आधुनिक र बहुउपयोगी घैँटा निर्माणका लागि कारखानाहरू खुलेका छन् । उत्पादन र खपतबिच बेजोडको तालमेल छ । लोकतान्त्रिक नेपालको नव निर्माणमा घैँटाहरू अनिवार्य औजार साबित भएका छन् । हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक र प्रशासनिक जीवन अब क्रमशः घैँटामा आश्रित हुँदै गएको छ । घैँटो बिना आजको मान्छे ठूल्ठूलो सफलता हात पार्न सक्दै नसक्ने भइसक्यो । चुनावमा मत आर्जनदेखि ठुल्ठूला ठेक्का प्राप्ति सम्ममा घैँटाहरूको प्रयोग अत्यन्त प्रभावकारी हुँदै आएको छ । घैँटो छ त सबथोक छ, घैँटो छैन त केही पनि छैन ।

मधुमालतीको प्राचीन कथामा मधुकरसँग एउटा तिलस्मी लठ्ठी थियो– बज्रठिङ्गा । मधुकर दूरदेशकी अर्थात् अर्कै लोककी एउटी राजकुमारी मालतीसँग गहिरो प्रेममा फसेका थिए । प्रेममै फसेपछि बेलाबेला भेट गर्न त मन लागिहाल्थ्यो, आजभोलिको डेटिङ जस्तै । मधुकर आफूलाई मालतीसँग भेट गर्न मन लागेको कुरा बज्रठिङ्गालाई बताउँथ्यो । उसले पनि अर्कै लोककको दरवारको पनि खोपीमा रहेकी मालतीलाई निमेषभरमै मधुकरसमक्ष हाजिर गराई दिन्थ्यो । उनीहरू अघाउँजी रङ्गरउस गर्थे । यस्तो अद्भूत शक्ति र क्षमता थियो बज्रठिङ्गामा । प्राचीन कथाको बज्रठिङ्गा भन्दा पाँच गुना बढी शक्ति र क्षमता प्रदर्शन गरिरहेका छन् वर्तमान नेपालका अत्याधुनिक घैँटाहरूले । आजका मधुकरहरूको कुत्सित मनोकाङ्क्षा पूर्ति गरिदिने प्रमुख औजार नै यिनै घैँटाहरू हुन् । आधुनिक मधुकरहरूलाई लौकिक सुख, सुविधा र धन दौलतको आवश्यक जोहो गरिदिने पुनित कर्ममा एक से एक घैँटाहरू तैनाथ छन् । बस् उनीहरूले चिताउनु मात्रै पर्छ बिताइ दिने काम घैँटाहरूकै हो ।

अलग अलग कारखानामा उत्पादित घैँटाहरूबिच घोषित अघोषित प्रतिष्पर्धा हुनु अस्वाभाविक हैन । त्यही प्रतिष्पर्धाले कसैकसैलाई सर्वशक्तिमान बनाउँछ । ती सर्वशक्तिमान घैँटाहरूका आआफ्ना ख्वामित मधुकरहरूको स्वार्थ हर्दम टक्कराई रहेकै हुन्छ । अनि प्रतिष्पर्धाका क्रममा कहिलेकाँही घैँटाहरू एक आपसमै ठोकिने पनि गर्छन् । कति टुट्छन्, कति फुट्छन्, चोइटिन्छन् र कति त चूर्ण पनि हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि घैँटामालिकहरू आआफ्ना घैँटाको संरक्षणमा रक्षाकवच बनेर उभिने गरेका छन् । यो पनि अन्यथा लिइरहनु पर्ने कुरै होइन । आफ्नो मालप्रति जो कसैलाई मोह हुन्छ नै ।

घैँटोमय राजधानीको मध्य मुटुमा एक बिहान अचानक एउटा घैँटो फुट्यो । यो मैले माथि उल्लेख गरेको घैँटो फुटाइ खेलको ध्वाँसे घैँटो होइन, न त कपडा रङ्गाउने रङ हालिएको छिपाको घैँटो नै हो । लोकतान्त्रिक नेपालको राजधानीलाई अस्ती गएको भुँचालोले हल्लाए झैं हल्लाइरहेको अत्याधुनिक र सर्वशक्तिमान घैँटो अचम्मसँग प्याट्टै फुटेछ । यस्तो दुष्कर्म कसले गरेछ हँ ? विचरा मधुकरहरू शोकमग्न बनेका छन् । आकुल ब्याकुल हुँदै बर्बराइ रहेछन्– ‘घैँटो फुटाउनेमाथि शख्त कारवाही होस् ।’ लोकतान्त्रिक संसदको बैठकमै घैँटोको पक्षमा जोडदार आवाज उठेको छ । फुट्दाफुटदै पनि घैँटोले प्रदर्शन गरेको यो अदुभूत पराक्रम हो । बस् अब घैँटो फुटाउने ‘दुष्कर्म’मा सरिक हुनेकै टाउको फुट्यो वा पद छुट्यो भने पनि किमार्थ आश्चर्य मान्नु पर्दैन । आगे, घैँटाधारी आधुनिक मधुकरहरूको जय होस् !!
कलङ्की, काठमाडौं
(छलफल साप्ताहिक ०७२ भदौ ६ गते आइतबार)