मोक्ष मार्ग
“अब उहाँलाई अस्पताल राखिरहनुको कुनै अर्थ छैन । उहाँका अन्तिम इच्छा केही छन् भने त्यो पूरा गरिदिए हुन्छ । पूजाआजा, दान, बैतर्णीजस्ता साँस्कारिक कर्म गरिदिए हुन्छ ।” स्वास्थ जाँचपछि डाक्टरले छोराहरूसँग भने ।
“मलाई त्यो अस्पताल भन्ने नरककुण्डमा मर्न नदिनू । मर्नु पहिले जसरी भए पनि गङ्गा गराउनु ।” बुढाले धेरै पहिलेदेखि यसै भनिरहेका थिए ।
छोराहरुले बाबुको अन्तिम इच्छा सम्झे र बुढालाई देवघाट लैजाने तयारी गर्न थाले ।
“कहाँ लैजान थाल्यौ मलाई ?” गाडी चढाउने बेला बुढाले छोराहरूसँग सोधे ।
“देवघाट बा देवघाट । अब गङ्गा गर्न जाने” कान्छो छोराले कानैमा मुख लगेर भन्यो ।
बुढाले इशारा गरेर दुबै छोरालाई नजिकै बोलाए ।
“बाबु हो ! मान्छेको इच्छा समयले निर्धारण गर्दो रहेछ । मैले बाँचुञ्जेल तिमीहरुलाई धेरै दुःख दिएँ । भएको जायजेथा राजनीतिमा लागेर सिध्याएँ । तिमीहरूको लागि कुनै राम्रो बन्दोबस्त मिलाउन सकिन ।”
“मैले धेरै सोचेँ । धेरै बिचार गरेँ । र, मैले मेरो अन्तिम इच्छा पनि बदलेँ । मर्नु त आखिर छँदैछ । त्यसैले बाबु हो ! अब मलाई देवघाट हैन, मधेश आन्दोलन भएको ठाउँमा लैजाओ । मेरो मृत्युको पारितोषिकमा आउने आधा करोड रकमबाट तिमीहरूको पनि राम्रैसँग गुजारा चल्नेछ । यसो भयो भने मेरो आत्माले पनि मुक्ति पाउने छ । मेरा लागि यो भन्दा ठूलो मोक्षको बाटो अर्को हुनै सक्दैन ।” बुढाले साउतीको स्वरमा भने ।