काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय कृपासुर शेर्पाले नेपाल विविध भाषा, संस्कृति एवं सम्पदाले सम्पन्न राष्ट्र रहेको बताउँदै यसको संरक्षण एवं सम्बद्र्धनमा नेपाल सरकार योजनाबद्ध ढङ्गले प्रतिबद्ध भएर लागेको उल्लेख गरे । बुधबार राजधानीमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित ‘अमूर्त सांस्कृतिक सम्पदा’ विषयक एक अन्तरविमर्श कार्यक्रम बोल्दै मन्त्री शेर्पाले उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रममा अति सीमान्तकृत दनुवार र दुरा जातिका अमूर्त सांस्कृतिक सम्पदाहरूबारे दुई कार्यपत्र प्रस्तुत गरिएका थिए ।

लेखक तथा संस्कृति अन्वेषक श्रीराम श्रेष्ठले ‘अति सीमान्तकृत दनुवार जातिका अमूर्त सांस्कृतिक सम्पदा’ र यमबहादुर दुराले ‘दुरा जातिका विद्यमान अमूर्त सांस्कृतिक सम्पदाहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि क्रमशः संस्कृतिविद् डा. भक्त राई र संगीतकार तथा संस्कृतिविद् बुलु मुकारुङले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य श्रवण मुकारुङ, गीतकार श्याम तमोटले पनि अमूर्त सांस्कृतिक सम्पदा विषयमा आआफ्ना विचार राखेका थिए । परिषद्का अध्यक्ष एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले आफ्नो संस्था नेपाली वाङ्मयको श्रीवृद्धिका साथै भाषा र संस्कृतिको उन्नयनका लागि निरन्तर रुपमा क्रियाशील रहेको बताए । कार्यक्रममा संगीतकार शान्तिराम राई, लेखक तथा पत्रकार डम्बरकुमार गिरी, साहित्यकार बाबा बस्नेत, गीतकार शुभ मुकारुङलगायतको उपस्थिति रहेको थियो ।