(गाईजात्रा २०७२)

आज गाईजात्राको दिन । बहुसंस्कृतिले भरिपूर्ण नेपालको एउटा सांस्कृतिक पर्व गाईजात्रा मनाइँदैछ । यो पर्व मनाउने आफ्नै सांस्कृतिक विधिविधानहरू छन् । गाईजात्राको एउटा महत्वपूर्ण पक्ष हास्यव्यङ्ग्यपूर्ण मनोरञ्जन पनि हो । बेथिति र विसङ्गतिमाथि हाँसो मजाक गर्ने विशेष दिनका रूपमा यसलाई लिने गरिएको परम्परा पनि छ । आजकै दिन विभिन्न पत्रपत्रिकामा उटपटाङ खाले सामग्री प्रकाशित गरी मनोरञ्जन गर्ने गरिन्थ्यो । पञ्चायतको अन्तसँगै गाईजात्रे पत्रपत्रिका निस्कने क्रम न्यून भएको छ । गाईजात्राको अवसरमा हास्य कलाकर्मीहरूद्वारा भने हास्यव्यङ्ग्य प्रस्तुतिका सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् ।

काममा तालमेल मिलेन र नहुनु पर्ने बेथितिपूर्ण कुरा भएको देखियो भने ‘गाईजात्रै भयो नि !’ भन्ने लोकोक्ति हामीकहाँ निकै पहिलेदेखि प्रचलित भएर आएको छ । त्यसो त हाम्रो देशमा थिति मिलाएर काम हुने गरेको कहिले पो छ र ! राणा कालको कुरा गरौँ वा पञ्चायती कालको । छयालिस सालपछिको प्रजातन्त्रको कुरा गरौँ वा बैसठी त्रिसठीको आन्दोलन पछि प्राप्त लोकतन्त्रको कुरा गरौँ– कहिल्यै थिति मिलिरहेको छैन । बेथिति नै बेथितिका बिच हामी दिन दिन र छिन छिनको गाईजात्रा हेर्न अभिशप्त छौँ ।

अहिले सर्वाधिक महत्वको गाईजात्रा हाम्रो राजनीतिक पर्यावरणमा देखिइरहेको छ । झण्डै आठ वर्षको कठिन प्रयत्नपछि बल्ल हामीले संविधान पाउने जबरजस्त सकारात्मक स्थिति निर्माण हुनासाथ देशका विभिन्न भागमा अप्रिय घटनाहरू भइरहेका छन् । सत्ताको बागडोर नेपाली कांग्रेसको हातमा छ । आफूलाई लोकतन्त्र र प्रजातन्त्रको मसिहा बताउने र नेपालकै सबभन्दा पुरानो राजनीतिक दल दाबी गर्ने नेपाली कांग्रेसकै पोल्टाका केही महानुभावहरू मुलुकलाई अर्को विकराल द्वन्द्वको दलदलतिर धकेल्ने धन्दातिर सरिक भइरहेको विडम्बनापूर्ण गाईजात्राकै अर्को रूप देखा परेको छ ।

नेपाली कांग्रेसकै एकजना सम्मानित सांसद अमरेश तराई मूलका कांग्रेस नेता हुन् । उनी केही दिन अघि तराईका भूखण्डहरूतिर दौडाहा गर्दै चरम साम्प्रदायिक विचार वाकेर सोझा सिधा नागरिकलाई भड्काउने कार्यमा सरिक भए । उनले खुँडा फर्सा आदि हातहतियार बोेकेर पहाडेहरूका विरुद्ध सडकमा आउन आव्हान गरे । प्रदेशमात्र होइन छुट्टै देश बनाउने घोषणा गरे । यो देशको राज्य, यहाँको सरकार र समस्त प्रशासनिक निकाय टुलुटुलु रमिता मात्र हेरेर बसिरह्यो । त्यसको केही दिनपछि नै टिकापुरमा शर्मनाक र अत्यन्तै दुखदायी घटना भयो । ड्युटीमा रहेका प्रहरी सेवाका जिम्मेवार व्यक्ति र खेलिरहेका दुई वर्षीय नाबालक समेतको नृशंसतापूर्वक हत्या भयो । उनी छाति फर्काएर राजधानीमा ठमठम हिँडिरहे पनि उनको त्यो हर्कतबारे स्पष्टीकरण सोधिएको पत्र बुझाउन दलका कारिन्दाले फेला पार्दैनन् । जात्रैजात्राको देशमा यो कस्तो गाईजात्रा हो ?

अकुत भ्रष्टाचारको कालो कारनामामा अख्तियारले डामेर न्यायालयको फैसला बमोजिम केही वर्ष जेलको हावा खाएका खुमबहादुरहरू अहिले हिन्दु धर्मका धर्मपुरूष बनेका छन् । पञ्चायती कालका खुङ्खार मन्त्री कमल थापा गाई छाप लिएर लोकतान्त्रिक चुनाव लडेपछि उनी आफूलाई लोकतन्त्रको खाँँटी मसिहा सम्झन्छन् र बाँकी सबैलाई लोकतन्त्रको दीक्षा दिन तम्सन्छन् । त्यति मात्र होइन उनी अहिले आफूलाई ईश्वरले हिन्दुत्वको रक्षाका लागि पठाइएका आधिकारिक दूत हुन् । राजतन्त्रलाई कुनै स्पेस नदिएको संविधान उनका निम्ति संविधान हुने कुरै भएन । अनि त्यस्तो संविधान आउन नदिन अनेकन बखेडा गर्नेतर्फ ज्यान दिएर लागेका छन् । त्यसैले त आमरण अनसनमा पाँच सय युवा टुँडिखेलमा ओराल्ने गाई पार्टीको निर्णय भएको उद्घोष उनका मुखारबिन्दबाट सुन्ने अवसर मिल्यो ! यस्तो गाईजात्रा दिनदिनै देख्न पाइने मुलुक हो यो ।

अर्का छन् नेपाल सरकारका तलबी इन्जिनियर । सरकारी कोषबाट मासिक तलब र यथोचित भत्ता बुझ्ने गरेका ती इन्जिनियर अहिले सरकार विरोधी आन्दोलनको एक नम्बरी नेता बनेका छन् । सरकारी अड्डाको उनी बस्ने गरेको कुर्सीमा उनलाई अहिले भेटिन्न । उनको नेमप्लेट र खालि कुर्सीको तस्विर मेडिया र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनी छन् थरुहट आन्दोलनको मोर्चामा । उनैको नेतृत्वमा जारी रहेको आन्दोलनले हप्तौँदेखि पश्चिम तराई ठप्प छ । आगो बाली रहेको छ । सार्वजनिक यातायातका साधन र सरकारी कार्यालयहरूमा धुवाँ पुत्ताइरहेको देखिन्छ । मानौँ के ती इन्जिनियर ध्रुवे हात्ति हुन्, जसलाई समात्ने आँटसम्म कसैले गर्दैन ? उनका सामु यो निरीह राज्यमा बबुरा सामान्य प्रशासन मन्त्री पण्डितले पो के गर्न सक्लान र खै ? जब आन्दोलन किनारा लाग्छ यी इन्जिनियर आफ्नो सरकारी अड्डामा अदबसाथ उपस्थित हुनेछन् र बाहुली निसाना प्रदान गरी तलब भत्ताको मोटो रकम राशी थपक्क बुझ्ने छन् महिनैपिच्छे । बस् गाईजात्राको यो अर्को परिदृष्य लोमहर्षक छैन त ?

गाईजात्राको देशमा भइरहेका केही प्रतिनिधिमूलक गाईजात्राका परिदृष्यबारे उल्लेख गरियो । परम्परागत गाईजात्रा हाम्रो संस्कृति हो, यसको जगेर्ना हुनु पर्दछ । तर सधैं भइरहने बेथितिको गाईजात्रा चाहिँ अन्त नगरी यो देश कहिल्यै उँभो लाग्ने छैन, समृद्धिको ढोका खुल्नेवाला छैन ।
‘छलफल’ साप्ताहिक ०७२ भदौ १३ गते आइतबार