सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय उमेर खलास !

Nepal Telecom ad

श्रीमान् जागिरदाताज्यू,
कोटीकोटी प्रणाम !

–शारीरिकरूपमा सञ्चो छु । मानसिक हालत विचित्र छ । विगतलाई काखमा सुताएको छु । आफ्नै सिद्धान्तलाई तराजुमा जोख्दै छु ।
नथाल्नु थालिहालेँ । भन्नु धेरै छ । भाँतीभाँतीका अध्यायहरू उल्टाउनुछ । कतै ठीक छ, कतै बेठीक छ । कतै परिस्थितिको दास भइयो, कतै आफ्नै बद्मासीले सखाप भइयो । जे भइयो, भइयो । सबै कहिरन एक साथै लेख्दै छु । विगत र वर्तमानलाई भविष्यका लागि एक ठाउँमा भेला पार्दै छु । के गर्नु शान्तिको काखमा जन्मे पनि हल्लाको साम्राज्यमा हुर्कें । अशान्त मन लिएर यताउती फर्कें । मरिहत्ते गरें । न सोर्स थियो, न फोर्स नै थियो । आफ्नो बर्गतले केही नहुने बुझेर पनि बुझ पचाएको थिएँ । कारण म घुस नदिई जागिर खाने महाअभियानमा सरिक थिएँ । एक्लो वृहस्पति सधैं झुट्टो हुँदै आएको जानेर पनि अडानमा बस्नु मेरो देखावटी स्वाङ्ग थियो । कारण मसँग न बुद्धि थियो न धन नै । भए त के गर्थें, गर्थें । त्यो भन्न पनि सक्दिनँ । कतैबाट उपाय नचले पछि दोष अरूमाथि खन्याउनु अस्वभाविक होइन ।
–सर्वत्र साम्राज्य छ–अँध्यारोको । घाम खोजिरहेछु । तथानाम समेत सुनिरहेछु । भयाबह समयले मलाई नै हुत्याई रहेछ । अन्यौलताको दिशातिर पुर्याई रहेछ । जागिरदाताज्यू ! हजुरको दृष्टि ममाथि कहिल्यै परेन । परेको भए म किन यस्तो हुन्थेँ ! यत्तिखेर म जीवनतिर पनि छैन, मृत्युतिर पनि छैन । म यत्तिखेर कर्कश आवाज सुन्ने र मनमा गुनेर राख्ने व्यक्तिका हैसियतमा छु । मलाई भोक लाग्न छाडेको छ । मलाई लाज लाग्न छाडेको छ । त्रासले गाँज्न छाडेको छ । हेर्नुस्– मैले आङ् ढाक्ने महङ्गा कपडा लगाउनु परेको छैन । श्रृङ्गारका साधनले त उहिल्यै मबाट विदा लिई सकेका छन् । म कसैको पत्यारिलो व्यक्ति बन्नुपरेको छैन । मैले बेहुलो हुनुपरेको छैन । मैले सरकारी जागिर लिनुपरेको छैन । निजी संस्थामा लोलोपोतोका साथ जागिर खानुपरेको पनि छैन । किनभने सबै किसिमले म बूढो भइसकेको छु । सरकारका लागि जागिर प्रवेशको उमेर खाइसकेको छु । निजी संस्थाका लागि इनरजेटिक समय व्यतित गरिसकेको छु । धर्मपत्नीका लागि ‘एउटी श्रीमतीलाई पाल्न नसक्ने नामर्दले किन पति बन्नु परेको होला’ भन्ने भइसकेको छु । छोरीका लागि ‘नाना र चाचा नल्याइदिने बाबा’ ठानिएको छु । पैसा नपाउने रिटायर जीवन भोगिरहेछु । मनमा अनेकन् तानाबुनालाई स्थान दिइरहेको छु ।
–विगत सम्झे वर्तमान भत्कन्छ । वर्तमान सम्झे, सम्झन लायकको नै छैन । नसम्झदा पनि अपूर्णता छ । अझ आफैंलाई विर्सनु मात्र छ । सबै कुरा सम्झन सक्ने खोपडी नै पाएको छैन । देखिने खोपडीमा गिदी मात्र छ । त्यो पनि लिदीमा परिणत भा’को छ ।
तन जे होस् । मन तरुणो छ । एक्लो थिएँ । स्वास्नी थपेँ । म मेरै बरबुताले बाँच्छु, त्यो त्यसकै बरबुताले बाँच्छे भन्थेँ । भन्दाभन्दै संसारको रीतमा चल्दा गरिमा नामकी पुत्री थपिई । झमेलाको संसारमा फँसेँ । बोर्डिङ्ग स्कूलमा तन, मन र बचन लगाएर सेवा गरेर बीस बर्ष व्यतित गर्दा छोरीलाई विहेदान गर्ने धन जम्मा गरेँ । मनमा खुशी ल्याउने जमर्को गर्दै थिएँ । श्रीमतीको मन सगरमाथा चढ्न थाल्यो । एक सन्तान के सन्तान ! कम्तिमा दुई भए मात्र सन्तान छन् भन्न हुन्छ भन्ने धुन सवार भयो । मैले थाहै नपाईकन बच्चो चार महिने भएछ । म फसादमा परेँ । सङ्कटको भुमरीमा नराम्ररी फसेँ । श्रीमतीको मती ऊजस्तै छ । मेरो मती मजस्तै छ । म संसारसँग जुधेर थाकेको मान्छे । ऊ परी जुध्नै नचाहने मान्छे । जुधेर पनि सफलता आर्जन गर्न नसकेको मर्द कहलाउन असक्षम मान्छे भनेर मेरो शारीरिक/मानसिक निरीहताप्रति खिल्ली उडाउन सिपालु भई !
–साथ खोजेँ । भनेजस्तो पाइनँ । नभनेजस्तो चाहिनँ । आफैंलाई उतारेँ । उतार्दा उतार्दै कतिलाई पछारेँ, पछारेँ । भनी साध्य छैन । गनी साध्य छैन ।
जागिर खाने रहर गरेकै हो । इमान्दार प्रयत्न भएकै हो । सानो जागिर खान आफ्नै अहङ्कारले दिएन । ठूलो पदको जागिर खान काँचो बुद्धिले भ्याएन । कहिलेकाही परिस्थितिले साथ पनि दिएन । निजी स्कूलको जागिरमा डुबेको थिएँ । धेरै दिन बिदामा बसे सधैं बस्नुपथ्र्याे । परीक्षा दिन काठमाडौं पुग्न एक हप्ता अघि कार्यस्थल त्याग्नुपथ्र्यो । पटकपटकको बन्दभित्र देश नै बन्द हुन्थ्यो । म सवार गाडी बन्दलाई छिचोलेर अघि बढ्ने कुरै हुन्नथ्यो । कैयौं पटक म परीक्षा सकिएको भोलिपल्ट राजधानी पुगेको छु । पदपूर्तिका लागि दरखास्त पनि यदाकदा खुल्थ्यो । खुलेको पनि ज्ञात हुन गाह्रो हुन्थ्यो । ज्ञात भए पनि फर्म भर्न बिदा नै लिनुपथ्र्यो । स्कूल मालिकको कर्कश आवाज सुन्नुपथ्र्यो । जवाफ फर्काए आफैं फर्कनु पर्ने भय हुन्थ्यो । मुखमा माड लगाउने जागिर पनि चट भए बाबुबराजेले जोडिदिएको थोरै खेतबारीमा दश नङ्ग्रा खियाउनुको विकल्प रहन्नथ्यो । कुरा यस्तै भयो । कुरा त्यस्तै भयो । अहिले आएर उमेर खलास भयो । जीवन गोमन सर्प भयो । जीवनतिर फर्के हातपाउ चलाएर खाने सामथ्र्य छैन । पहिले सेवा गरेको संस्थातिर फर्कूँ भने शक्ति हराएको व्यक्ति ठहरिएको छु । म न यताको छु न उताको भएको छु ।
–जगत् कारणहरू बीच घुमिरहेछ । अकारण यहाँ केही भइरहेको छैन । प्रमाण जताततै छ । देखाउने र समाउने भने छँदै छैन ।
जागिरदाता महाशय ! मैले जागिर खान नपाउनुको एक कारण निजी संस्थामा कार्यरत् रहनु हो । अर्को कारण बन्दको भूमरीमा पटकपटक जाकिनु हो । अर्को कारण भन्ने नै हो भने समयमा पदपूर्ति नखुल्नु हो । त्यस पछि पनि कारण खोज्ने हो भने मेरै सुझबुझको कमी हुनु हो । अझै भन्ने नै हो भने मैले माथिल्लो तहको प्रमाणपत्र बटुली अहङ्कारलाई मलजल पुर्याउनु हो । सानो तहको प्रमाणपत्र भएको भए सानै तहको जागिर खान खोज्थेँ । राजधानी पुग्नु पर्दैनथ्यो । मेरो सुझबुझ भित्रको विषयवस्तु हुन्थ्यो । जागिर नै नखाए पनि जीवन अभिसाप हुन्नथ्यो । बाबुबराजेको जेथो समाल्ने जाँगर मरेर जाँदैन्थ्यो । सहरबासी स्वास्नी जोडिँदैनथ्यो । जोइटिङ्ग्रे श्रीमान् बन्नु पर्दैन्थ्यो । महत्वाकांक्षी विचार जन्मदैन्थ्यो । पढेको मान्छेले हलो जोत्यो भनेर गाउँलेका मुखबाट सुन्नु पर्दैनथ्यो । जागिर खा, खा भनेर बाउआमाको कचकच सुन्नुपर्दैनथ्यो ।
–दोषीले नै दोष देख्छ । दोषको रङ चिन्छ । दोषबाट मुक्ति खोज्छ । दोषलाई परम शत्रु ठान्छ । निर्दोष दोषलाई दोस्त देख्छ । भाग्दैन । दोषलाई सौभाग्यमा बदल्छ ।
जागिरदाता महाशय ! दोषै दोष छ वरपर । क–कसले कति–कति दोष लिने हो, त्यो मैले गुन्न सकेको छैन । पटक्कै भन्न सकेको छैन । मनमा गुम्सेर रहेको तीतो सत्यलाई सार्वजनिक गरेर मैले कत्रो पुरुषार्थ देखाएँ, त्यो आफैंले निक्र्योल गर्न सकेको छैन । मलाई त लाग्छ महाशय ! जागिर खान नसकेकाहरूलाई आत्महत्या प्रिय बनाउने काम तपाईं नै गर्नुहुन्छ । उमेर खलासहरूसँग पेट नै नभएको, इज्जतै नरहेको ठान्नुहुन्छ । तिनीहरूलाई बेकारी मान्छे मान्नुहुन्छ । राष्ट्रको अदक्ष र सक्षम नागरिक भन्नुहुन्छ । उमेर जानु कसैको रहर त हैन । उमेर रहेकाहरूले जतिसुकै कमसल काम गरे पनि भएकै छ । अझ भ्रष्टचारको बिरुवा जति हुर्काए पनि भएकै छ । पाँच करोड घोटला गरेर पाँच लाख हर्जना तिर्दा पनि पुगेकै छ । भ्रष्टचारीको अभियोग पुष्टि भएमा एक–सवा वर्ष भी.आई.पी. सुविधामा जेलको स्वाद फेरे भइगएको छ । अझ धन र बल भएका महापुरुषहरूलाई जागिर टीका लगाएर दिएं भएकै छ । विधान पूरा ग¥यो, आफ्ना आगेपाछेलाई जागिर दिलायो । देखिएको यस्तै छ । यही त्रासले त जागिरका लागि इमान्दार प्रयास हुन छाडेको छ । ‘चोरी–चकारी नगरी, चतुर्याइँ हुन्न, दङ्गा–फसाद नगरे इज्जतै रहन्न’ भन्ने चलनले एकक्षत्र राज जमाएको छ । जय उमेर खलास !

तपेश्वरी–१, गल्फडिया, उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
छलछाम छात्ते छ पार्टी

छलछाम छात्ते छ पार्टी

नन्दलाल आचार्य
लास

लास

नन्दलाल आचार्य
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी