सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सङ्गत गुनको फल

Nepal Telecom ad

सङ्गत भन्ने कुरा पनि बढो अजीव नै हुँदो रहेछ । निर्जीव होस् वा सजीव जुनसुकैलाई पनि सङ्गतले निकै ठूलो असर गर्दोरहेछ । कुरा के भने मेरो घरका सामानहरू चाहे त्यो जेसुकै जुनसुकै होस् जतिखेर पनि हल्ला गरी रहन्छन् । हल्ला गरी रहन्छन् भन्दा तपाईंहरूलाई आश्चर्य लाग्ला तर कुरा साँचो हो । सुन्नुस् न मेरो टेलिभिजन बत्ती नभएको बेला पनि खत्राकखुत्रुक खत्राकखुत्रुक गरिरहन्छ । त्यस्तै बत्ती नै नभएको बेला पनि भान्सामा फ्रिज कट्याक कुटुक गरिरहन्छ । खाना खानेबेलामा डाइनिङ टेबलमा मेच तानेर बस्न पाएको छैन मेच कराउँछ, उसलाई नै किचेर मार्नै लागे झैं गरी । बेलुकी ओछ्यानमा यसो पल्टिन खोज्यो क¥याक र कुरुक गरेर खाट कराउँछ मानौं उसले ठूलै बोझ थाम्नु परेको होस् । हुन त बोझ त किन नहोस् यो करिव पचहत्तर किलोको ज्यान जो बोक्नु पर्छ । तर पनि सबै चिजविज यसरी कराएको सुन्दा अचम्म अनि कहिलेकाहीँ त झर्को पनि लाग्छ ।
पहिला पहिला मेरी आमाले मलाई गाली गर्दा भन्ने गर्नुहुन्थ्यो– यो गधा सङ्गतले भुसुक्कै बिग्रियो सङ्गत ठिक भए पो गतिलो हुन्थ्यो, सङ्गत नै ठिक छैन के गतिलो हुन्थ्यो भनेर । मलाई अचम्म लाग्थ्यो होइन यो सङ्गतले के बिगार्छ हँ ? काम बिगार्ने त म पो हो त फेरि सङ्गतलाई केको दोष । तर कुरो ठिकै रहेछ– म हिजोआज पो बुझ्दै छु खाँटी कुरो त । एक दिन घरमा मेरो एक जना मित्र आएको थियो । हामी गफ गर्दा टेलिभिजनको आवाजले डिस्टर्ब गर्छ भनेर टेलिभिजन बन्द गरेर गफ गर्न लागेका थियौं एकछिन पछि अनायासै टेलिभिजनमा खत्र्याक्क आवाज आयो । साथी दङ्ग पर्दै सोध्यो होइन हौ, तेरो टिभी त त्यसै कराउँछ नि क्या हो । मैले भने सायद किचनमा फ्रिज पनि कराउँदै होला । तेरी भाउजू पसलबाट आइपुग्ने बेला भयो होला क्यार । मैले त्यसो भनेको सुनेर साथी तीन छक्क प¥यो । केही वेरमा भयो पनि त्यस्तै, मेरी धर्मपत्नी मेन गेटको खापा खोलेर भित्र कराउँदै पसेको आवाज आयो । तब मेरो साथी झनै दङ्ग परयो । श्रीमती कराउँदै किचनतिर पसिन् । मैले भने सुनिस् तेरो भाउजूको गन्थन । मेरा घरका सबै जसो चिजविजहरू उनैबाट प्रशिक्षित छन् । यतिसम्म कि किचनमा उनले गनगन गरिनन् भने चुलो पनि राम्रोसँग बल्दैन ।
बिहान सबेरै उठेर नित्यकर्ममा लागेको बेला के के चिजले के के काम सम्पन्न गर्नु पर्ने हो, त्यो ती चिजलाई थाहा भैहाल्छ । चुलोमा चिया बसालेर मन्दाग्नी जलाई पूजा गर्न पसेको बेला पूजा कोठाबाट बज्ने घन्टीको आवाजसँगै चिया पाक्दै गर्छ र पूजा सकेर तल ओर्लंदा चिया ठिक्क उम्लने बेला हुन्छ । त्यस बेला म भने ओछ्यानमै सुतिरहेको हुन्छु । मलाई मेरा वरिपरिका सामानहरूले कचकच गरिरहेकै हुन्छन्, होइन उठ्न हौ कत्रोबेर सुतेको भनेर कराइरहेझैं । यसो बाहिरफेर कतै श्रीमतीलाई लिएर जानु पर्दा मोटरसाईकलमा पछाडि बसेर मेरी श्रीमती मोटरसाइकलको स्पीड कन्ट्रोल गर्न कराइरहने हुनाले आजकाल त म एक्लै हुँदा पनि मोटरसाइकलले श्रीमती सम्झाई रहन्छ । अलिक स्पीड कुदायो कि त कट्याकट्याक र कुटुक्टुक गरी कराउँछ मोटरसाईकल । यसरी कराएको सुनेपछि ए स्पीड बढी भएछ क्यार भनेर अलिक कम गर्ने गर्छु । हिजो आज त म आफै पनि पो…। हरे सङ्गत गुनाको फल ।
गोल्कोपाखा, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा
राष्ट्रका गहना

राष्ट्रका गहना

अशोककुमार शिवा