आँखा ढाक्ने औजार विशेषको अनौठो नाम हो चस्मा । तिलगंगाको होस् वा त्रिपुरेश्वरको होस्, कुनै आँखा अस्पतालको वरिष्ठ आँखा डाक्टरले लेखिदिएको सिफारिस अनुसार आँखा ढाक्न चस्मा लगाउने गरिन्छ । समयले मानिसलाई नयाँ नयाँ खोल हाल्न प्रेरित उत्प्रेरित गरिरहेको छ । खोल नै त हो, जेमा पनि हाल्न सकिन्छ । सभ्यताले शरीरमा कपडारुपी खोल हाल्न सिकायो, खुट्टा छोप्न जुत्तारुपी खोल हाल्न सिकायो, टाउको ढाक्न टोपीरुपी खोल हाल्न सिकायो । कुरो सभ्यताको मात्र हैन वाध्यताको पनि छ । वातावरणीय वाध्यताले मानिसलाई नाक र मुखमा पनि खोल हाल्न सिकाएको छ । यो सभ्यता र वाध्यताले आँखालाई मात्र कहाँ बाँकी राखेको छ र ? त्यसैले वर्तमानको हरेक मान्छे ‘आँखा छोपी नरौ’ भन्न चाहन्छ अर्थात आँखा छोपेर भाका फेर्न खोज्दछ । वर्तमानको आँखा छोप्ने खोल नै वहुप्रचलित चस्मा हो । जुन चस्मा म लगाई रहेको छु, तपाई लगाई रहनु भएको छ, हामी सवैले आ–आफ्ना आँखा छोपी रहेका छौँ र गर्व गरिरहेका छौँ ।

आँखा विवेक हो, सद्बुद्धि हो, मानिस मात्रको वर्चस्व हो । साँच्चै भन्ने हो भने प्राणीहरू¬को सर्वस्व हो । आँखा विनाको संसार कालो अँध्यारो शिवाय केही देखिन्न । आँखा दान गरिएको छ भने मृत्यु पर्यन्त यसले अर्को मानिसको उज्यालो संसार चिहाई रहेको हुन्छ । आँखाले देख्छ र ठीक वेठीक छुट्याउँछ । आँखाले हेर्छ र नैतिकता अनैतिकता पर्गेल्छ । दुनियाभरीको सौन्दर्यपान आँखाले गर्दछ । म यो राष्ट्र र राष्ट्रिय राजनीतिलाई नाङ्गो आँखाले सुन्दर रुपमा हेर्न चाहन्छु तर सभ्यता र वाध्यताले मेरो आँखामा चस्मा चढाई दिएको छ । टलकदार चस्माको रङ्गसँगै उल्टा–सुल्टा देख्नु मेरो नियति बनेको छ । खोल हालिएको आँखाले म भूगोललाई भद्रगोल देख्दैछु, नक्खुलाई बक्खु देख्दैछु, सेतोलाई कालो मात्र होइन राष्ट्रवादको झण्डालाई पनि हिङ नभएको टालो देखिरहेकोे छु । तपाईं भन्नु होला यो त आँखाको रोग हो र त्यही रोगको खेल हो । तर म भन्छु यो त रङ्गिन चस्मासँग आँखाको हेलमेल हो, आफैले आफैंमाथि गरेको धोखा र झेल हो, यो त खोलको खेल हो ।

मुलुकको राष्ट्रिय बजारमा अहिले रङ्गी–विरङ्गी चस्माको ‘चकाचौँध’ छ । मान्छे चस्मा किनिरहेछ र मान्छे चस्मा बेचिरहेछ । चस्माको बजार चकाचक छ, खचाखच छ । चस्मासम्मको किनवेचलाई त स्वाभाविकै मान्नु पर्ला तर व्यापारीहरू चस्माको नाम र निहुँमा मानव आँखाको व्यापार चलाई रहेका छन् । व्यापारको पनि आफ्रनै राजनीति हुन्छ, हुँदोरहेछ । नेपाली रगत भएको नाकमाथि मेड इन इण्डियाको चस्मा चडाएपछि भारतीय हितमात्र देख्ने दृश्यशक्ति अटोमेटिक प्रत्यारोेपण हुन्छ । उपचार पद्धतिमा आएको यो एकदमै नवीन प्रविधि हो । बिलकुल यही प्रविधिले युक्त चस्मा खुल्लमखुल्ला किनिई रहेको छ र बेचिई रहेको छ । चस्मा मार्फत नेपाली आँखाहरूको विक्रीबट्टा गज्जबसँग चलिरहेको छ ।

व्यापार चलाउन विज्ञापनको योगदानले धेरै ठूलो भूमिका निर्वाह गर्छ । यही भूमिकालाई बुझेर व्यापारीहरूले बाटो चौबाटोमा सानमिगेल र सावुनका बडेबडे साइनवोर्ड र तुलहरू टाँग्ने मात्र होइन सरकारी समाचार माध्यमहरूमा प्रायोजित समाचारहरूको प्रशारण पनि निर्वाध रुपमा गरी रहेका छन् । विज्ञापनद्वारा आज्ञापित अनुरोधले कानै टट्टाएपछि कसको के लाग्छ र ? विवश र वाध्य भएर किनवेचमा सहभागी हुन बजारमा जो कोही ओर्लनै पर्यो । चस्माका व्यापारीहरू पो किन पछि पर्थे र ! त्यही विज्ञापन हेर्यो अनि चस्मा किन्यो र सारसौँदै आँखामा खोल हाल्यो । बस् कालोलाई सेतो हेर्यो, सेतोलाई कालो हेर्यो, सत्य र सच्चाइलाई फट्यार्इं देख्यो, लुच्याईंलाई शास्वत सत्य बुझ्यो । अर्थतन्त्र निजीकरण त गरिँदै थियो थियो, अब आँखाको समेत व्यापारीकरण भैरहेको छ । यो पवित्र कार्यमा चस्माले ओगटेको योगदानको पाइ–पाइ हिसाव गर्यो भने उनान्सय दशलमलव नौ प्रतिशत पुग्दछ ।

मुलुकमा मूलतः अहिले तीन मोडेलका चस्माहरू प्रचलित रहेका छन् । मोडेल नं. एक अर्थात मेड इन् पेरु, मोडेल नं. दुई अर्थात मेड इन् इण्डिया र मोडेल नं. तीन अर्थात मेड इन् अमेरिका । थरिथरिका चस्मा अर्थात तीन थरिका मोडेल । नेपालको निम्ति वहुप्रचलित र वहुप्रचारित चस्मा दुई नंबरिया मोडेलको हो । यसलाई खतरनाक मोडेल भनिदिए पनि हुन्छ । सर्वाधिक पावरफूल यस मोडेलको चस्माले विशिष्ट र वरिष्ठ नेपालीका आँखाको रेटिना भनौँ या दृश्यशक्तिमा अभूतपूर्व परिवर्तन ल्याई दिन्छ । मेड इन इण्डियावाला यो चस्माले आँखा छोपेपछि भद्रपुर पनि भारतै देखिन्छ, मेची नदी पनि वागडुग्रा पारि नै भेटिन्छ, केचना र महेशपुर नक्सलवाडीले ठाडै छेकिन्छ र जंगबहादुरको अजङ्ग पिलर त हेर्दाहेर्दै कन्काईको किनारमै ठडिन्छ । अनि चन्द्रगढीका सिडियोसाप त कुन्नि कुन स्टेटका मजिस्टेट भैसकेका । यस्तो जादुमय परिवर्तन ओराल्न सक्ने खुपी छ मोडेल नं. दुईको चस्मामा ।

बाँकी दुई मोडेलका चस्माहरू मध्ये एक नम्वरिया चस्माले आँखा ढाकेपछि जताततै युद्ध मात्रै देखिन्छ र झोलामा जिलेटिन बोकेर जङ्गलतिर कुदुँ कुदुँ लाग्छ । नेता राजधानीको सुविधा सम्पन्न कुनै कोठामा भूमिगत बसेर अखवारलाई आर्टिकल लेखिरहे पनि यस किसिमको चस्मा चढाएपछि बाँकी सवै घोरप्रतिकृयावादी र पतित शिवाय केही देखिन्न । यसैगरी तीन नंवरिया मोडेलको चस्माले ‘यताउता जतातता मेरा नजरमा राम प्यारा छन्’ भने जस्तै विल क्लिन्टनको मन्द मुस्कुराहट मात्रै देखाउ“छ ।अगाडि हेर्यो उस्तै, पछाडि हेर्यो उस्तै, जता हेर्यो क्लिन्टन जस्ताको तस्तै । मुलुकको राष्ट्रिय राजनीतिमा यी दुई मोडेलले अहिले खासै प्रभाव वा असर पार्न सकेको देखिँदैन, जति असर दुई नंबरियाले पारी रहेको छ । ओहो ! दुई नंबरिया मोडेलको मारमुङ्ग्री खपिसक्नु छ र ! बनोटको फिनिसिङ यति सुन्दर छ कि गृहिणीदेखि मन्त्राणीसम्म, गैरसरकारी अखवारदेखि सरकारी पत्रकारसम्म, प्रतिपक्षी दलका पार्षददेखि सत्ताधारी दलका सांसदसम्म एक से एक सवैलाई मोहित बनाउँछ यसले । चस्मा किन्नु के छ, सवका सव भारत भक्तिको थोत्रो राग अलाप्न थालिहाल्छन् । चस्मा जो इण्डियन माल न पर्यो कमाल गरी हाल्छ । दालमोठ भुजियाका ‘प्याकेट’ नेपाल निकासी गरेर साह्रै मिहनतको कसरतले महाकाली ‘प्याकेज’ पैठारी भएको थियो, चस्मा उतार्ने केही बज्रस्वा“ठहरूले त देखिहाले सक्कली कुरा । तर प्रजातन्त्रका केही दिग्गजहरू नाक कुच्चिए पनि वा कान बुच्चिए पनि आँखाबाट इण्डिया मेड चस्मा उतार्ने दुष्प्रयास गर्दैनन् । आँखाको दृश्यशक्तिमा पारेको चस्माको अदृश्य प्रभाव कति बलियो हुँदो रहेछ भन्ने कुरा उपरोक्त प्रसङ्गले प्रमाणित गर्दछ ।

आँखा भनेको मन पनि हो, हृदय मनकै पर्यायवाची मानिन्छ । आँखामा चस्मा चढाएपछि मन पनि छोपिन्छ । जब देशभक्त र राष्ट्रवादी मन छोपिन्छ तव देशद्रोही र राष्ट्रघाती तन मात्रै बाँकी बस्छ, जो नाङ्गैै देखिन्छ । चस्माको अर्थात् खोलको जात र धर्म नै राम्रो र असल कुरा छोप्नु हो । सक्कली सत्यलाई लुकाउनु र असत्य भ्रम तथा बेइमानीलाई प्रस्तुत गर्नु हो । धेरैजसोले आफूलाई भलाद्मी देखाउन पनि चस्मा लगाउने गर्दछन् । यसको अर्थ दुर्जन र कुलङ्गार व्यक्तित्व छोप्न समेत चस्माको उपयोग गर्ने गरिएको छ । अनि मोतियाविन्दु भएको आँखा छोप्न होइन प्रवृत्तिमा जलविन्दु भएका आँखा छोप्न पनि चस्मा लगाउने गरिएको यथार्थलाई भुल्नु हुँदै हुन्न ।

महाकाली सन्धि सदनमा छट्पटाई रहेका बेला इण्डिया मेड चस्माको विज्ञापन सवैभन्दा बढी बखानियो । विज्ञापनिक प्रभावमा लुटपुटिँदै हाटहुटमै मैले पनि एउटा चस्मा खरिद गरेँ र घरमा आएर सन्धिका दफा उपदफा एवं परिच्छेदहरूको पर्यवेक्षण गर्ने विचार गरेँ । कस्तो अचम्म पानी, विजुली र सीमा नदी सम्वन्धमा नेपाल ठगिएका सम्पूर्ण बुँदाहरू चस्मा लगाएर हेर्नासाथ नठगिएका बुँदामा बदलिएको, नेपालको फाइदै फाइदामा फेरिएको पो देखिन्छ ए ! हत्त न पत्त कानै चुँडिने गरी चस्मा उतारेँ, झण्डै रेटिना खतम भएको । वाफ रे वाफ ! पावरफुल ग्लासले दुई दिनसम्म आँखै तिरमिरायो । यसरी खोल हालेर गोल गर्ने षडयन्त्रमा सगोलका दाजुभाइहरू टोल–टोलदेखि खगोलसम्म दिमागलाई नै गोल बनाएर लागि परेका छन् । त्यसकारण आँखा जोगाउन मात्र होइन राष्ट्रको स्वाभिमान र स्वतन्त्रता बचाउन पनि यो तीन नंबरिया मोडेलको खोललाई याने कि चस्मालाई सार्वजनिक र सामुहिक वहिस्कार गर्नुको विकल्पै देखिन्न । हाम्रा आँखामा खोल हाल्न खोज्ने देशी भैयाहरूको कान खोल्ने गरी नारा लगाऔँ । नाराको फुर्को भने यस्तो छ–
‘सक्कली आँखा खोल्नै पर्छ, नक्कली खोल फाल्नै पर्छ ।’

२६ भदौ ०५३
‘गोलार्ध’ द्वैमासिक अङ्क– १